एकदिवसीय विश्वकप क्रिकेट : इग्ल्याण्ड र न्युजिल्याण्ड विजयी

एकदिवसीय विश्वकप क्रिकेट : इग्ल्याण्ड र न्युजिल्याण्ड विजयी
बंगलादेशविरुद्ध शतक प्रहार गरेपछि इग्ल्याण्डका जेसोन रोय । तस्बिर : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ २६, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगितामा शनिबार भएका छुट्टाछुट्टै खेलमा आयोजक इग्ल्याण्ड र न्युजिल्याण्ड विजयी भएका छन् ।

पहिलो खेलमा इग्ल्याण्डले बंगलादेशलाई १०६ रनले हरायो । ३८७ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८.५ ओभरमा २८० रनमै अलआउट भएपछि इग्ल्याण्ड विशाल अन्तरले विजयी भएको हो । बंगलादेशका लागि अलराउण्डर सकिब अल हसनले १२१ रन जोडे पनि टिमलाई जित दिलाउन सकेनन् ।

बलिङतर्फ बेन स्ट्रोक्स र जोफ्रा आर्चरले समान ३ विकेट लिए । यस्तै, मार्क उडले २ तथा लाइम प्लुनकेट र आदिल रासिदले समान १ विकेट चट्काए ।

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको इग्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८६ रन जोडेको थियो । प्रारम्भिक ब्याट्सम्यान जेसोन रोयले १५३ रन जोडेपछि इग्ल्याण्डले बंगलादेशसामु विशाल स्कोर खडा गरेको थियो । इग्ल्याण्डका अन्य दुई ब्याट्सम्यानले पनि अर्धशतकीय पारी खेले । प्रारम्भिक ब्याट्सम्यान जोनी बेरस्ट्रोले ५१ रन बनाउँदा जोस बटलरले ६४ रनको योगदान दिए ।

बलिङतर्फ मेहिदी हसन मिराज तथा मोहम्मद साइफुद्दिनले समान २ विकेट लिए । यस्तै, मुस्तफिजुर रहमान तथा मसरफे मोर्तजाले पनि १-१ विकेट चट्काए ।

खेलको प्लेअर अफ दि म्याच जेशन रोय घोषित भए ।

यस्तै, दोस्रो खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको छ ।

अफगानिस्तानले दिएको १७३ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले ३२.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान केन विलियम्सले अभिजित रहँदै ७९ रन बनाएपछि न्युजिल्याण्डले अफगानिस्तानलाई सहजै पराजित गरेको हो । अफगानिस्तानका लागि तीन वटै विकेट अफताव आलमले लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको अफगानिस्तान ४१.१ ओभरमा १७२ रनमा अलआउट भएको थियो । टिमका लागि हसमतुल्लाह साहिदीले सर्वाधिक ५९ रन जोेडे । यस्तै, हजरतुल्लाह जताइले ३४ तथा नूर अली जड्राले ३१ रन जोडे । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ जेम्स निसमले ५, लोकी फरगुसनले ४ र कोलिन डि ग्रान्डोमले १ विकेट लिए ।

खेलको प्लेअर अफ दि म्याच जेम्स निसम घोषित भए ।