बुबा कुबेरनाथको वार्षिक पुण्य तिथिमा ‘कवितामा बुबा’ कार्यक्रम

बुबा कुबेरनाथको वार्षिक पुण्य तिथिमा ‘कवितामा बुबा’ कार्यक्रम

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २४, २०८१

झापा ।  झापा जिल्लाको शिवसताक्षी–११, दुधेमा ‘कवितामा बुबा’ नामक एक फरक प्रकृतिको कार्यक्रम सम्पन्न भएको छ । कवि, समालोचक तथा प्राज्ञ प्रा.डा. देवी नेपाल र युवास्रष्टा ज्ञानु विद्रोहीका बुबा कुबेरनाथ नेपालको प्रथम वार्षिक पुण्य तिथिको अवसर पारेर नेपाल परिवारबाट यस कार्यक्रमको आयोजना गरिएको थियो भने सताक्षीधाम साहित्य सङ्गम यसको सहआयोजक रहेको थियो । 

‘बुबा प्रतिको सिर्जनात्मक श्रद्धासुमन कवितामा बुबा’ उद्घोषका साथ आयोजना भएको उक्त कार्यक्रमको सभाध्यक्षता आमा मनमाया नेपालले गर्नुभएको थियो । वरिष्ठ साहित्यकार, संस्कृतिकर्मी, सञ्चारकर्मी एवम् प्रखर वक्ता चन्द्र भण्डारीको प्रमुख आतिथ्य र शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपालका झापा, मोरङ, सुनसरी, इलाम र भारतको मिरिकसम्मका १५० जनाभन्दा बढी स्रष्टाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पारी आमन्त्रित स्रष्टाहरूलाई स्वागत गर्दै डा. नेपालले हरेक कविले लेख्न नछुटाउने विषय आमा र देश हुन् । जीवनमा बुबाको पनि उत्तिकै महत्त्व रहे पनि बुबाका विषयमा कम मात्र सिर्जना हुने गरेको यथार्थको स्मरण गर्दै बुबालाई सिर्जनात्मक माध्यमबाट स्मरण गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले आफूहरूले आफ्ना बुबाको प्रथम पुण्यतिथिमा श्राद्धकर्म, अखण्ड भागवत पुराण आदि संस्कारगत तथा धार्मिक कार्यक्रमहरू सम्पन्न गरिसकेपछि सम्पूर्ण बुबाहरूलाई कविताका माध्यमबाट स्मरण गरी सिर्जनात्मक अमरता प्रदान गर्नका लागि यो नयाँ प्रकारको श्राद्धविधिको थालनी गरिएको विचार व्यक्त गरी ‘बाबाको गौरव’ शीर्षकको कविता पनि वाचन गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्द्र भण्डारीले २००९ सालमा इलामको कर्फोकमा भएको साहित्य सम्मेलन र झन्डै छ दशकअगाडि झापाको शनिश्चरेमा भएको साहित्य गोष्ठीको ऐतिहासिक महत्त्वको स्मरण गर्दै नयाँ सोच, नयाँ चिन्तन र नयाँ प्रकृतिका कार्यहरूको थालनी गर्न पूर्वको माटो नै अग्रसर रहेको विचार व्यक्त गर्नुभयो । उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ डा. नेपाल प्राज्ञ परिषद्मा रहेको समयको प्राज्ञसमूहले गरेका ऐतिहासिक कामहरूको प्रशंसा गर्दै व्यक्ति सफल हुनका लागि नवीन सोच र सक्रियता दुवै आवश्यक हुने हुनाले यो कार्यक्रम त्यसैको प्रतिफल हो भन्ने धारणा राख्नुभयो । साथै उहाँले श्राद्धमा पिण्ड त हरेकले दिन्छन् तर यस प्रकारको पिण्डदानले पिता र सन्तान दुवैलाई अमर बनाइदिने हुनाले यस कार्यक्रमको महत्त्व आज होइन, आजको २५ वर्षपछि देखिने छ भन्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि नगर प्रमुख मेगाहाङ थोप्राले हरेक व्यक्तिका बुबाहरूका आआफ्नै विशेषता र महत्त्व हुने तर तिनलाई सिर्जनामा रूपान्तरण गर्न नसक्दा त्यसै बिर्सिएर जाने हुनाले यस प्रकारका कार्यक्रमले बुबाको महत्त्वका साथै सन्तानको दायित्वलाई समेत उद्घाटन गरेको विचार व्यक्त गर्नुभयो । 

उक्त कार्यक्रममा ९१ वर्षीय वयोवृद्ध कवि पं. नारायणप्रसाद भट्टराई र ८३ वर्षीय कवि कोमलप्रसाद पोखरेललाई ‘आदर्श बुबा सम्मान–२०८१’ बाट सम्मान गरिएको थियो भने कीर्तिशेष कुबेरनाथ नेपालकी नातिनी अनुज्ञा नेपालले पेन्सिल स्केच गरी बनाएको हजुरबुबाको तस्बिर पनि सार्वजनिक गरिएको थियो । नातिनीहरू अनुज्ञा, प्रविज्ञा र प्रनुज्ञाले हजुरबाद्वारा लिखित ‘पहाडको सम्झना’ कविता र बुबा विषयक आआफ्ना कविता वाचन गरेपछि सुरु भएको बुबा विषयक कविता वाचन खण्डमा भारतको मिरिकका कवि अजम प्रधानले स्थानीय लोकजीवनमा बुबाका लागि प्रयोग गरिने ‘बाउ’ शब्दलाई कलात्मक सौन्दर्य प्रदान गरिएको कविता वाचन गर्नुभएको थियो । यसरी नै उक्त कार्यक्रममा सम्मानित प्रतिभाद्वय पं. नारायणप्रसाद भट्टराई, कोमलप्रसाद पोखरेललगायत कविहरू हरिप्रसाद रिमाल, डा. खगेन्द्रप्रसाद दाहाल, भरत बर्बरिक, हरिप्रसाद न्यौपाने, टीका आत्रेय, विवश बलिभद्र कोइराला, किशोर कोइराला, नदी भट्टराई, दुर्गाप्रसाद सिग्देल, गङ्गाप्रसाद पौडेल, रङ्गलाल पौडेल, मेघनाथ बन्धु, शिव प्रणत, शिशिर भट्टराई, दिलीप घिमिरे, भिजन गुरागाईं, दुष्यन्त भट्टराई, तुलसीप्रसाद भट्टराई, मीना अधिकारी, टीका भट्टराई नेपाल, चित्रा पौड्याल, गीता सुवेदी नेपाल, तिला लेकाली, मोक्ष खतिवडा, लक्ष्मी अच्युत ढुङ्गाना, शारदा कार्की, दुर्गा काफ्ले, देवीभक्त श्रेष्ठ, राजेन्द्र सङ्ग्रौला, विष्णु न्यौपाने, हेमनाथ अधिकारी, देवीचरण भण्डारी, बिन्दु दहाल मूकदर्शक, रवीन्द्र सुवेदी, वीरेन्द्र थोक्लिहाङ, शम्भु सुस्केरालगायतका ४० जना कविहरूले बुबा विषयक कविताहरू वाचन गर्नुभएको थियो ।

प्रखर युवास्रष्टा एवम् सञ्चारकर्मी खगिन्द्रा खुसीले कवितात्मक शैलीमा सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सहआयोजक सताक्षीधाम साहित्य सङ्गमका अध्यक्ष कवि उमानाथ दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने बुबा कुबेरनाथकी माहिली छोरी गोमा अधिकारी र काहिँला ज्वाइँ राम दाहालले परिवारका तर्फबाट आआफ्ना मन्तव्य राख्नुभएको थियो । झन्डै साढे चार घण्टासम्म अनवरत रूपमा सञ्चालित उक्त कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू र सहभागी कविहरूलाई सम्झनाको प्रतीकस्वरूप आकर्षक डायरी र स्मृतिचिह्न प्रदान गरिएको थियो । अन्त्यमा आयोजकका तर्फबाट युवास्रष्टा ज्ञानु विद्रोहीले सबैलाई धन्यवाद ज्ञापन गरी सभाध्यक्ष आमा मनमायाको अनुमतिले कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो ।