पुरण क्षेत्रीका दुई गीत सार्वजनिक

पुरण क्षेत्रीका दुई गीत सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २४, २०८१

काठमाडौँ । गीतकार पुरण क्षेत्रीका दुईवटा गीतको श्रव्य(दृश्य सार्वजनिक भएको छ । आइतबार काठमाडौँमा उक्त गीत सार्वजनिक गरिएको हो ।

कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेका गीतमा रामकृष्ण ढकाल र कुस्मा महरा (प्रगति)को स्वर छ । ‘चोटहरू हिर्काउँछन्’ शीर्षकको गीतमा महराले स्वर दिएकी छन् भने ‘कहाँ छ स्वर्ग’मा महरा र ढकालले स्वर दिएका छन् ।

गीतकार क्षेत्रीले आफूले देखिरहेको देश, काल र समाजका समस्या र विसंगतिलाई महसुस गरेर गीत लेखेको बताए । देशमा केही छैन भनेर विदेशसम्म पुगे पनि आखिर स्वर्ग कतै नभेटिने तर आफैँभित्र खोजे खुसी र सुख भेटिने भाव गीतमा रहेको, केही दार्शनिक अभिव्यक्ति गीतमा रहेको साहित्यकार दिनेश अधिकारीले बताए । भावनाको प्रकटीकरण पनि साहित\य भएकाले क्षेत्रीका गीतमा भावना पक्ष पनि सबल रहेको अधिकारीको भनाइ थियो ।

संगीतकार श्रेष्ठले संगीत कर्म नै आफ्नो सबैथोक भएकाले फरक स्वादका र भिन्न शैलीका गीतमा पनि संगीत गर्न रुचि जागेको बताए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपनि निशा शर्मा, उपकुलपति शम्भु राई, साहित्यकारहरू ओम रिजाल र प्रज्वल अधिकारीले गीतकार, संगीतकार र गायक र गायिकालाई शुभकामना दिएका थिए । कार्यक्रम यशस्वी प्रज्ञाप्रतिष्ठानको आयोजनामा भएको थियो ।