'मैले देखेको नेपाल' मा देखिएको नेपाल

पुस्तक  समीक्षा

'मैले देखेको नेपाल' मा देखिएको नेपाल

नन्दु उप्रेती  |  साहित्य  |  बैशाख ३१, २०८१

 मानिसहरूले आफ्ना जीवनमा अँगालेका पेशा, व्यवसायका दौरानमा अनगिन्ती अनुभवहरू सङ्गालेका हुन्छन्। ती अनुभवका अनेक रूपहरू हुन्छन्, अनेक रङ्गहरू हुन्छन् । ती अनेक बान्कीका हुन्छन्, ती अनेक स्रोत र समयका हुन्छन् । ती अनुभवहरूमा व्यक्तिले देखे भोगेको समाजको, उसको परिवेशको, उसको देशको, अझ फैलिएर धेरै टाढा टाढासम्मको यथार्थको विगत, वर्तमान र भविष्य समेटिएका हुन्छन् । 

अनुभवको भरिपूर्ण भण्डारको ढोका खोलेर तिनलाई विस्तारै बाहिर निकाल्न कसैले बोलीको सहारा लिन्छन् त कसैले कलमको । कतिका त समाज र सन्ततिका लागि अत्यन्तै अमूल्य लाग्ने अनुभवहरू त्यत्तिकै थन्किएर उनीहरूको जीवनसँगै बिलाएर, हराएर पनि जाने गर्छन्। यस्ता अनुभवहरू इमानदारिता पूर्वक प्रकट गर्न पनि व्यक्ति स्वयंमा इमान्दारिता जागरुकता र कर्तव्य बोधको आत्मिक चेतना पनि हुन आवश्यक हुन्छ। कतिपय अनुभवहरूलाई व्यक्त गर्न त त्यो व्यक्तिले आफूमा साहस र दृढतालाई पनि सम्हालेर राखेको हुनुपर्छ । 
'मैले देखेको नेपाल'  एउटा अनुभवहरूको फेहरिस्त बोकेर प्रकाशित कृति हो । यसले लेखक पूर्व सचिव डा। त्रिलोचन उप्रेतीको दृष्टिकोण, चेतना, क्षमता र साहसलाई पनि प्रतिबिम्बित गरेको छ। लेखकले तथ्यहरूको धरातलमा टेकेर, विश्लेषणको कसीमा घोटेर, यथार्थका ढोकाहरू खोलेर, विश्वास र साहसका पहाडहरू उचालेर, भविष्यको क्षितिजलाई उघारेर आफूले देखेको नेपाललाई 'मैले देखेको नेपाल' बनाएका छन् भन्दा अत्युक्ति नहोला । 

खासगरी यस पुस्तकमा विक्रम सम्वत २०३५ देखि २०८० सम्ममा यो देशमा भए, घटेका सामाजिक, राजनीतिक, कुटनीतिक अनेकन घटना, दुर्घटनाहरूका तथ्यहरू प्रस्तुत गर्दै त्यसमा लेखकले आफ्नो सटिक विश्लेषण पनि प्रकट गरेर पठनीय बनाइएका तीस परिच्छेदहरू  समेटिएका छन् । पञ्चायती शासनकालका पछिल्ला र बहुदलीय व्यवस्था एवं गणतन्त्रका विभिन्न दशहरूका सकारात्मक र नकारात्मक पक्षहरूलाई उजागर गरिएको यो पुस्तकमा यो देशका शासक प्रशासकहरू मुलुकलाई उज्यालो बाटोमा हिँडाउन कहाँ कहाँ चुक्न पुगे ती कुराहरू छर्लङ्ग अनुभव गर्न सकिन्छ । लेखकको आफ्नो राजनीतिक चेतना र प्रशासनिक एवं कुटनीतिक क्षमता लेखनबाटै प्रस्तुत गरिएको यस पुस्तकले लेखकको समयको वास्तविकता उद्घाटन गर्न सक्ने क्षमता पनि प्रस्तुत गरेको छ। उनले पुस्तकमा सामान्य आफ्ना अनुभव मात्र प्रस्तुत गरेका छैनन् सिङ्गै मुलुकका खुसी, पीडा, सजिला, सजिलाहरू बग्रेल्ती व्यक्त गरिदिएका छन्। 

संसारले देख्ने, अनुभव गर्ने गरेको यो देशको सुन्दरता भित्र यो देशका नागरिकहरूका निष्कपट र उज्याला आकांक्षालाई धमिलो बनाउन यही देशका अविवेकी अगुवा खेलाडीहरूसँगै मैदानमा छिरेर विदेशीहरु समेतले कसरी छल गरी गरी परिणाम आफ्नो पक्षमा पार्ने प्रयास गरे र कतिपय परिणामहरू आफ्नो पक्षमा पारे डा. उप्रेतीको कलमले बिना डर, बिना त्रास उल्लेख गरिदिएको छ। पुस्तकमा रगतले भिजेको यो देशको अनुहार, जातपात र भौगोलिक विभेदले दर्दनाक बनेको यो देशको अवस्थालाई तस्बिरजस्तै देख्न पाइन्छ । 

यहाँको न्याय पद्धति, सैनिक एवं सुरक्षा नीति, नागरिक र नागरिकताका सवाल, संविधान र कानुनका विभिन्न पक्षहरू आदि विविध विषयहरूलाई सकारात्मक एवं नकारात्मक दुवै कोणबाट साहस र गम्भीरतापूर्वक उल्लेख, व्याख्या र विश्लेषण गरिएको 'मैले देखेको नेपाल' पुस्तक यो देशका शासक,प्रशासक, कूटनीतिज्ञ, कानुनविद, अर्थ राजनीतिका अध्येता, धर्म संस्कृतिका व्याख्यातालगायत सामान्य पाठक समेतका लागि पठनीय दस्तावेज बनेर आएको छ। 

शासकहरू चम्किला र भरपर्दा अवसरबाट पटकपटक कसरी चुके तिनीहरूले मुलुक नै चम्कने उज्याला सम्भावनाका ढोकाहरू खोल्न किन सकेनन्, आफूमा जनता र राष्ट्र प्रतिको जबाफदेहिताको सगरमाथा किन उभ्याउन सकेनन् आदि कुराहरूलाई समय समयमा भए घटेका घटनाहरू उल्लेख गर्दै त्यसमा आफ्ना घतलाग्दा र दूर दृष्टि जन्य विचारहरू प्रकट गरेर लेखकले पुस्तकलाई यो समयको महत्त्वपूर्ण दस्तावेज बनाएका छन्। राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका कामकारबाही र घटनाहरूमा,  नीति निर्माण र तिनीहरूको कार्यान्वयनमा जिम्मेवार पक्षहरूको क्षमता र दुर दृष्टिको आवश्यकता कति हुन्छ भन्ने कुरा पुस्तक पढ्दा पाठकको मनमा छर्लङ्ग आउँछन् ।

 पञ्चायतको अन्त्यका लागि भएका विभिन्न आन्दोलन, जनमत संग्रह, बहुदलीय व्यवस्थाको पुनर्स्थापना, आवधिक निर्वाचन, मध्यावधि निर्वाचन, माओवादी सशस्त्र आन्दोलन, माओवादी आन्दोलनको शान्तिपूर्ण अवतरण, मधेश आन्दोलन, धार्मिक र सांस्कृतिक अतिक्रमण, छिमेकी देशहरूको नेपालप्रतिको दृष्टिकोण, शक्ति राष्ट्रहरूको योजना र परियोजनासहितको चलखेल, यहाँको न्याय पद्धति, सैनिक एवं सुरक्षा नीति, नागरिक र नागरिकताका सवाल, संविधान र कानुनका विभिन्न पक्षहरू आदि विविध विषयहरूलाई सकारात्मक एवं नकारात्मक दुवै कोणबाट साहस र गम्भीरतापूर्वक उल्लेख, व्याख्या र विश्लेषण गरिएको 'मैले देखेको नेपाल' पुस्तक यो देशका शासक,प्रशासक, कूटनीतिज्ञ, कानुनविद, अर्थ राजनीतिका अध्येता, धर्म संस्कृतिका व्याख्यातालगायत सामान्य पाठक समेतका लागि पठनीय दस्तावेज बनेर आएको छ। 

मुलुकका विभिन्न महत्वपूर्ण पक्षहरू समेटिएका र ती पक्षहरूलाई प्रभाव पार्ने किसिमका पुस्तकहरू थोरै लेखिन्छन् र प्रकाशित हुने गर्छन् । त्यस्तै थोरै लेखिने र प्रकाशित हुने महत्वपूर्ण पुस्तकका रूपमा 'मैले देखेको एउटा नेपाल (वि.सं. २०३५ ) २०८००स् हामी कहाँ चुक्यौँ' पाठक समक्ष आएको छ। यस्तो गहन पुस्तक लेखनका लागि डा। त्रिलोचन उप्रेती त उच्च सम्मानको भागीदार हुनु नै भएको छ साथसाथै यो पुस्तकको प्रकाशन गरेर 'वाटर एसिया' पनि धन्यवादको पात्र भएको छ । मकालु प्रकाशन गृह वितरक रहेको, पहिलो संस्करणका रूपमा मूल्य ७०१ रुपैयाँ लिएर २०८० मा प्रकाशित यस पुस्तकको व्यापक सफलताका लागि हार्दिक शुभकामना ।