शब्दशिविरमा पाठकीय मिठास :‘स्वादे जिब्रो’ लाई मात्रै थाहा हुन्छ,‘अल्छे तिघ्रो’ लाई के थाहा ?

शब्दशिविरमा पाठकीय मिठास :‘स्वादे जिब्रो’ लाई मात्रै थाहा हुन्छ,‘अल्छे तिघ्रो’ लाई के थाहा ?

ज्ञानेन्द्र विवश  |  साहित्य  |  जेठ ०५, २०८१

विगत लामो समयदेखि शिक्षण पेशामा रमाइ रहनु भएका मुकुन्दराज शर्मा अहिले निबन्धकारका रूपमा चिनिनुहुन्छ ।

शर्माकृत नवीनतम ‘शब्दशिविर’ निबन्ध सङ्ग्रहमा शब्द र शैली, प्रस्तुति र प्रयोगको मौलिक पन महसुस हुन्छ । यही मौलिक संरचनाको सेरोफेरोमा निबन्धहरू बान्किला छन् । गहिरो चिन्तनले वशीभूत लेखनमा शब्द–विन्यासको सौन्दर्य छ । तिनले पाठकीय मनमा बेग्लै मिठासको स्वाद चखाउँछन् । 

वास्तवमा त्यो चखिलो स्वाद ‘स्वादेजिब्रो’ लाई मात्रै थाहा हुन्छ । ‘अल्छेतिघ्रो’ लाई के थाहा ? तिनलाई त केवल कमीकमजोरी देखाउने मात्रै ध्याउन्न हुन्छ । खास अनुभूतिको मापन कहाँ गर्न सक्छन् र ? यस प्रकारका सिर्जना कृतिमा समीक्षात्मक आँखा नेपर्दोरहेछ । परन्तु पाठकीय आकर्षण चाहिँ लोभ लाग्दै हुँदोरहेछ । झन् निबन्धकारका लागि त यो कृति प्रेरणा पनि पद प्रदर्शकसमेत । धन्य शर्मा सर ! यहाँलाई हार्दिक बधाई छ ।
निबन्धकारको प्रथम निबन्ध ‘शब्दशिविर’ को पहिलो भेटमा मायाका सप्रेम सद्भाव र शुभेच्छाहरू अनुगुञ्जित हुन्छन् । ती अनुगुञ्जनले मानवीय मनका स्वच्छ र निर्बन्ध भावहरूलाई अभिव्यक्त गर्छन् । ती अभिव्यक्तिमा भावनाका भेलहरू मनभित्रैबाट विष्फोट भएर प्रकट भएको प्रतीत हुन्छ । र, तिनले अन्ततः निबन्धको गरिमामय अस्तित्वलाई प्रगाढ रूपमा लिपिबद्ध गरेका छन् । 

वस्तुतः निबन्ध लेखनको रुखो पाखोबारीलाई मलजल गरी हलक्क हराभरा उन्नत खेती–प्रवृत्तिले सिञ्चित गर्न लेखक सफल छन् । निबन्धकारले ‘हुने विरुवाको चिल्लो पात’ जस्तै निबन्धको स्वादिष्ट बाली हुर्काउनुभएको छ ।  हुर्किएका ती बोट विरुवामा ला इकिराले खाने, नष्ट पार्ने चेष्टा गर्न सक्दैन । बरु त्यहाँ त अनुभूतिको सुन्दर र भव्य अभिलेख निर्माण भएको छ । तिनमा जीवन, समय र समाजका दस्तावेजहरू अभिलिखित भएका छन् । 

अतः ‘शब्दशिविर’ को पठन यात्रामा प्रत्येक पाठकले विगत बाल्य जीवनलाई ओल्टाइपल्टाइ हेर्न र सम्झिन सक्छ । आफैँतिर फर्किएर मनन–महसुस गर्न पाउँछन् । तथापि स्मृति–दंशका डसाइले मर्ने, मुर्छा पर्ने हुँदैन । ओखतिमूलोपछि तङ्ग्रिएको विरामी जस्तै पाठक मन उल्लासले उल्लसित हुन थाल्छ ।

‘शब्दशिविर’ को चाङ–चुलीमा चुलिएका शब्दहरूको शिखर–शिविर एकप्रकारले बौद्धिक अनुभूतिहरूको अभिलेख हो । यस अभिलेखमा जीवनका विविध क्षण, समय र सन्दर्भका सुललित निबन्धहरू प्रस्तुत छन् । म आफूले पढेका धेरै निबन्धहरूको शैलीगत उठान र विसौनीहरूका कतिपय जम्काभेटहरूमा यस किसिमका निबन्ध मुस्किलले आस्वादन गर्न पाएकोमा सन्तुष्ट छु ।

हिजोआज निबन्धलाई निम्सरो ठान्ने र निबन्धकारलाई हेयदृष्टिले हेरिने तथाकथित लेखक, समीक्षक, प्रकाशकहरू छन् । तर मुकुन्दराज शर्माको ‘शब्दशिविर’ ले गहिरो मर्म, महत्व र मन छुने अनुभूतिहरूको सिलसिलालाई सम्प्रेषित गरेको छ । जहाँ जीवनका आरोह–अवरोहहरूलाई नजिकैबाट महसुस गर्न सकिन्छ । विगत व्यतीत दिनहरूमा फर्केर हेर्न पाइन्छ । ती पुराना सन्दर्भहरूलाई एकपछि अर्को संस्मरणहरूको अविरल यात्रामा पढ्न सकिन्छ ।

वर्णन र विवरण, व्याख्या र विवेचनामा निबन्धले फड्को मारेको छ । निबन्धको नयाँ गोरेटो खन्न मात्र होइन राजमार्गमा फुर्तिका साथ हिँड्न पनि उहाँका निबन्धले स्तुत्य लेखनकर्म गरेको छ भन्ने मलाई लाग्छ ।

निबन्धमा मान्छेको माया छ । माटोको माया भेटिन्छ । सामाजिक र ग्रामीण जीवनका सुन्दर र सरल पाटाहरूका वर्णन र विवरण भेटिन्छ । अनुभूतिका आलेखमा सौन्दर्य र संवेदनाका भावाञ्जलीले ‘शब्दशिविर’ उकालो यात्रा दिक्दारीको होइन बरु निकै उत्साहपूर्ण र ज्ञानवद्र्धक लाग्छ । निबन्ध पढिसकेपछि पाठक भोकाउँदैन । अघाउँजी  
निबन्धको ओज, अस्तित्व र अभिव्यक्तिलाई अझ माथि राख्न वरिष्ठ लेखक, समीक्षकहरूका मननीय मनसायले ‘शब्दशिविर’ को पठन यात्रालाई सार्थक पार्न सघाउँछ ।

निबन्ध पढिरहँदा त्यसमा बनावटी पनको आभास हुँदैन । यो भनेको निबन्धमा मौलिकता कायम रहनु हो । यसले निबन्धलाई ओरालोतिर झार्दैन शब्दको शिविर तिरै चढाउँछ । त्यहाँ कल्पनाका मनगढन्ते भावना होइन प्राकृतिक सौन्दर्यका यथार्थ अनुभूतिहरू भेटिन्छ । 

निबन्धमा शब्दहरूको आफ्नै प्रयोग र प्रस्तुति छ । झर्रो शब्द र भाव, ग्रामीण पहिचान, उही बोलीचालीका विम्बहरू दृष्टिगोचर हुन्छन् । यिनलाई निबन्ध पढ्नुको ध्येयलाई बौद्धिक खुराककै उपलब्धिका रूपमा लिन सकिन्छ । आफ्ना परम्परागत मूल्य र मान्यता, आस्था र विश्वासमा निबन्धकारको गहिरो प्रेम छ । संस्कृति, सभ्यता र संस्कारमा भित्रिरहेको विकृतिप्रति उहाँको चिन्ता छ । यो हुनु पनि स्वाभाविक हो । विकासका नाउँमा विनाश र परिवर्तनका ठाउँमा विनाशको उपस्थिति हुँदा प्रकारान्तरले मौलिकपन धरापमा पर्न जान्छ र क्रमशः आफ्नो पन सखाप हुन पुग्छ । यसप्रति लेखकीय अभिमत मननीय लाग्छ ।

निबन्धमा आफूले भोगेका समयको अभिलेखका  पाइला र पदचापहरूमा निबन्धकारले पाठकलाई पछ्याउन लगाउँछन् । जीवन–दर्शनका अनेक अभिव्यक्तिको प्रस्तुतिमा शब्दहरूको शिखर यात्रा थाकेर पढ्न छोड्दैनन् । लगातार अनुभूतिका अक्षरहरूसँग शिविर पुग्ने आरोहण अभियान कायमै रहिरहन्छ । पृथक र फरक शैली हरेक निबन्धहरूमा नयाँ पनका साथ झल्किन्छन् । लेखकीय स्वतन्त्र उडानका अथक यात्राले पाठकलाई साथसाथै हिँडाउँछ । 

निबन्धकार मुकुन्दराज शर्माले आफ्ना निबन्धहरूमा समकालीन सन्दर्भको उठान जसरी गर्नुभएको छ, विगत विरासतलाई पनि उत्तिकै महत्वका साथ स्थान दिनुभएको छ । वर्णन र विवरण, व्याख्या र विवेचनामा निबन्धले फड्को मारेको छ । निबन्धको नयाँ गोरेटो खन्न मात्र होइन राजमार्गमा फुर्तिका साथ हिँड्न पनि उहाँका निबन्धले स्तुत्य लेखनकर्म गरेको छ भन्ने मलाई लाग्छ । 

आत्मपरक शैलीमा लिखित ‘शब्दशिविर’ भित्रका निबन्धहरू जीवनवादी सोँच र शैलीले ओतपोत छन् । वैयक्तिक अनुभवहरूको आलोकमा निबन्धहरू विचार शील विषयका विम्ब–विधानमा अभिव्यक्त छन् । अधिकांश निबन्धहरूले निबन्धकारको आफ्नो व्यक्तिगत दृष्टिकोणलाई प्रकट गर्दै त्यसमार्फत सन्तुलित समाज, बोली व्यवहार र समग्र कार्यशैलीको सुसंस्कृति निर्माणमा जोड दिएका छन् । 

वस्तुतः यस किसिमको लेखनले साहित्यिक अभिरुचि र ज्ञानको सीमा विस्तार गर्छ । पाठकहरूलाई केही सोँच्न र बुझ्न प्रेरित पनि गर्छ भन्ने मलाई लाग्छ । यसरी मुकुन्दराज शर्माको नयाँ निबन्धकृति ‘शब्दशिविर’ ले जीवन्त जीवनको पक्षमा राम्रो विश्लेषण गरेको छ । विवेकी विचारको सम्प्रेषण गरेको छ । सुन्दर भावनाहरूको सुस्वादु अनुभूति चाख्न पाउँदा मेरो मनले पनि आह्लादित महसुस गर्न पायो ।

पुनः हार्दिक बधाई छ मुकुन्दराज शर्माज्यू यति मिठो, यति प्यारो सिर्जना गर्नु भएकोमा ।