निर्माण नहुँदा रसुवाको सभा भवन अलपत्र अवस्थामा

निर्माण नहुँदा रसुवाको सभा भवन अलपत्र अवस्थामा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २६, २०७६

रसुवा । सभा/सम्मेलन हुँदै आएको जिल्लाकै गहनाको रूपमा रहेको धुञ्चेस्थित सभा भवन अहिले अलपत्र परेको छ । वि‍‍ सं २०७२ को भूकम्पले सामान्य क्षति बनाएको उक्त भवन मर्मत र संरक्षण नगरिँदा अहिले छानाको जस्ता तथा  काठपातसमेत हराउँदै गएको र भित्री भागमा पानी चुहिन थालेको स्थानीय बासिन्दाले बताएका छन् । उक्त भवनमा पालेको व्यवस्था नहुँदा छानामा बालबालिकाले ढुङ्गा हानेर भरिदिएका छन् ।

रसुवामा मोटर बाटो निर्माण हुनुपूर्व सभा/सम्मेलन गर्न र पाहुना राख्न विश्व बंैकको सहयोगमा रसुवा–नुवाकोट परियोजनाले सो सभा भवन निर्माण गरेको जानकारी दिँदै नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङले वि.सं २०३४/३५ मा ढुङ्गा र माटोले परम्परागत शैलीमा बनाइएका सबै सरकारी भवन प्रायः भत्किसकेकाले  सभा भवनलाई भने संरक्षण गरी एतिहाँसिक  सम्पदाको रूपमा राखिनुपर्ने  बताउनुभयो ।तत्कालीन समयमा पाटनका काष्ठकर्मीले अग्राखको काठमा कुँदेर बनाएका विभिन्न देवी/देवताका मुठलसमेत हराउन थालिसकेकाले यस्ता वस्तुको संरक्षण गर्नुपर्नेमा सरोकारवाला सङ्घसंस्थाले पनि जोड दिए  ।

जनकारहरूका अनुसार रु तीन लाख ३३ हजार ९९९को लागतमा निर्माण भएको सो सभा भवन संरक्षणका लागि गोसाइँकुण्ड गाउँपालिका–६ लाई जिम्मेवार बनाउन लागिएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताउनुभयो । भूकम्प जानुपूर्व सरकारी एवं गैर सरकारी तथा राजनीतिक दलका कार्यक्रमसमेत सोही भवनमा हुँदै आएकाले यो पुरानो संपदा संरक्षण गर्न सके भावी पुस्तालाई चिनोको रूपमा हस्तान्तरण गर्न सकिने उहाँको भनाइ थियो  ।  पूर्वतर्फ छ कोठे पाहुनाघर, पश्चिमतर्फ ३०० भन्दा बढी मानीस अट्ने सभा कक्ष रहेको सो भवनले करीब तीन रोपनी जमीन ओगटेको छ ।यस्तै भूकम्पपछि पुनःनिर्माणको नाउँमा सभा भवनको पश्चिमतर्फ अनुपयुक्त  ठाउँमा भवन तथा शहरी विकास एकाइले बनाएको ट्रष्टसमेत संरक्षण नहुँदा जीर्ण बन्दै गएको नागरिक समाजले जनाएको कुरा राससकाे समाचारमा उल्लेख छ ।