मुकेश मल्ल :  सिर्जना र लेखनमा निरन्तरता

मुकेश मल्ल :  सिर्जना र लेखनमा निरन्तरता

ज्ञानेन्द्र विवश  |  अन्तर्मन्थन  |  जेठ १९, २०८१

कला सिर्जना र कलालेखनमै तल्लीन हुनुहुन्छ कलाकार तथा कला समीक्षक मुकेश मल्ल । केही साताअघि उहाँको निवासमा पुग्दा पनि उहाँ लेखनमै चिन्तन–मननमा व्यस्त हुनुहुन्थ्यो । मल्लका लागि सिर्जना र लेखन नै जीवनको मुख्य ध्येय र धोको हुँदै आएको छ । हामी पाठक र दर्शकका लागि यो खुसीको कुरा हो ।

उमेरको उकालो यात्रामा पनि उहाँको सिर्जनात्मक सक्रियता ओरालो झरेको छैन । बरु झन् उकालोतिरै यात्रारत छ । उहाँ साप्ताहिक लेखनमा पनि उत्तिकै लागिरहनुहुन्छ । यसले कलाको अभिलेखनको काम गर्ने उहाँको अनुभव छ । पाउनु र गुमाउनुको कुराभन्दा पनि नेपाली कलाको अभिलेख एकदमै आवश्यक भएको उहाँ बताउनुहुन्छ । त्यसकै लागि आफूले कला समीक्षामा निरन्तरता दिइरहेको उहाँको दाबी छ ।

परन्तु नारायणबहादुर सिंहको पालादेखि आजसम्म कला समीक्षाले फड्को मार्न नसकेकोमा उहाँलाई अफसोस लाग्छ । यो रुखो र अरुचिको विधा त्यत्तिकै नभएको उहाँको ठहर छ । हिजोको तुलनामा कला गतिविधिमा निकै सक्रियता वृद्धि भएकोमा उहाँ सन्तोष प्रकट गर्नुहुन्छ । तर कला समीक्षाको अवस्था भने झन कमजोर हुँदै गएकोमा उहाँको गहिरो चिन्ता छ ।
कला समीक्षक मल्ल भन्नुहुन्छ– ‘कलाको विकास, संरक्षण, प्रवर्द्धन, प्रचार र भावी पुस्ताका लागि अभिलेख सुरक्षित राख्ने काम कला समीक्षा र कला समीक्षकको हो । तर यसमा उन्नतीभन्दा अवनति हुँदै जाँदा पनि कसैलाई चिन्ता नहुनु दुर्भाग्य नै हो । कला समीक्षा विना कलाको विकासको मापन हुन सक्दैन ।’

कलाकार मुकेश मल्ल आधुनिक शैलीका चित्रकार हुनुहुन्छ । उहाँ कलाकारका अतिरिक्त कला समीक्षक एवम् कला लेखक पनि हुनुहुन्छ । नेपाली कला क्षेत्रको संस्थागत विकासका लागि पनि उहाँ सक्रिय रहँदै आउनुभएको छ । 

मुकेश मल्लको जन्म वि.सं. २०१० सालमा धनकुटास्थित तल्लो कोप्चेमा भएको हो । हाल चावहिल, बुलबुले, पनेरु गल्लीमा उहाँको बसोबास रहेको छ । पहिलेको खुल्ला फाँट अहिले घना वस्ती विकासले छिमेकीबीच नै पनि चिनजानको पाटो बिरानो हुँदै गइरहेको छ । 

मल्लका अनुसार यसरी हेर्दा हरेक क्षेत्रमा आज ठुलो परिवर्तन आइसकेको छ । तर कला क्षेत्र जहाँको त्यहीँ रहनु भनेको कलाकारहरूको पनि यसमा कमजोरी छ । उहाँ भन्नुहुन्छ– ‘कलाकारहरूले नै कला समीक्षाको महत्व बुझिदिँदा कलाले जुन रूपमा फड्को मार्नुपर्ने थियो त्यसमा कमी भइरहेको छ ।’

उहाँको बुबा साहित्यकार खगेन्द्र प्रधानाङ्ग (मल्ल) र आमा नारायणीदेवी प्रधानाङ्ग हुनुहुन्छ । पुराना दिनका संस्मरण सुनाउँदै उहाँ भन्नुहुन्छ– 'सानै छँदा म र मेरा भाइ अशेष मल्ल (नाटककार) नाटक हेर्ने, जात्रामा भाग लिने गथ्र्यौं । त्यो बेला पाए जति चित्र र फाटोहरू जम्मा गरी टोलभरिका केटाकेटी भेला गरेर घरैमा कला प्रदर्शनी गरेको थिएँ ।'

मल्लका अनुसार उहाँ ६ कक्षामा पढ्दा  (वि.सं. २०२२ साल), कवि तुलसी दिवसले उहाँले बनाएका चित्रहरू देखेर खुसी हुँदै ‘काठमाडौं गएर चित्रकला पढ’ भन्नुभयो । नाताले काका पर्ने दिवसले आफूलाई त्यही समयमा चित्रकलाबारे धेरै कुरा सिकाउनुभएको उहाँ आज पनि झल्झली सम्झनुहुन्छ । यसरी तिनताका उपयुक्त वातावरण बिना पनि चित्रकलाप्रति उहाँको प्रेम बाक्लिँदै गयो । 

एसएलसी सकेर माथिल्लो तहको अध्ययन गर्ने क्रममा मुकेश मल्ल विराटनगर पुग्नुभयो । त्यहाँ  चराचुरुङ्गीका चित्र बनाउने चित्रकार हेम पौडेलको चित्रकला प्रदर्शनी (वि.सं. २०२८) हेर्नुभयो । त्यसै ताका विराटनगरका अर्का कलाकार गोपाल कला प्रेमीसँग पनि भेट भयो । 

यसपछि धेरै वर्ष उहाँहरूले कला सिर्जनाका साथै कला सम्बन्धी थुप्रै कार्यक्रमहरू गर्नुभयो । यसबीच धु्रव डङ्गोल र नरेन्द्रबहादुर श्रेष्ठसँग भेट भयो । विराटनगरमा कलाकारहरूको समूह नै बन्यो । त्यतिबेला त्यहाँ कला गतिविधि केही थिएन । वि.सं. २०३० सालमा नेपाल ललितकला संस्था (नाफा) ले विराटनगरमा नाफाको शाखा खोल्यो । यसै संस्था अन्तर्गत गोपाल कला प्रेमी र आफूले धेरै काम गरेको उहाँ बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ– 'वि.सं. २०३३ सालतिर म धरान गएँ । त्यहाँ कर्ण मास्केसँग मिलेर ‘युवा कला केन्द्र’ खोलियो । यसबाट पनि धेरै कला गतिविधि गरियो । सम्भवतः उपत्यका बाहिर खोलिएको यो नै पहिलो कला संस्था थियो । युवा कला केन्द्रले कलासिर्जना, प्रदर्शन तथा कलापत्रिकाको प्रकाशन समेत गरेको थियो ।' 

कलाकार मुकेश मल्लले आफू काठमाडौंबाहिर रहँदा पनि कला जागरणका लागि उल्लेखनीय कार्य गरेको दाबी गर्नुहुन्छ । वि.सं. २०३४ सालमा धरानमा उहाँको पहिलो एकल कलाप्रदर्शनी भएको थियो । कलाकार मल्लका प्रारम्भिक चरणका चित्रहरू मूलतः प्रकृतिप्रधान रहेका छन् । व्रmमशः उहाँका चित्ररचनाहरू अमूर्त शैलीतर्फ ढल्किँदै गए । देखिने दृश्यलाई अनुभूतिमा अनुदित गरी तिनलाई रङ र विम्बमा पस्किन थाल्नुभयो । 

उहाँको भन्नुहुन्छ– 'रङका माध्यमद्वारा अनेक भावना व्यक्त गर्न सकिन्छ । एउटा रङसँग अर्को रङ मिसिँदा त्यसबाट उत्पन्न हुने प्रभावले सौन्दर्यको अनुभूति गराउँछ । तसर्थ म आफ्ना चित्र रचनामा रङलाई सर्वोपरि महत्व दिन्छु ।' 

कलाको खेतीले उहाँलाई पालेको त छैन, तथापि यसप्रति उहाँलाई कुनै गुनासो छैन । कलासिर्जना र कलालेखन नै उहाँको दिनचर्या जस्तै हुँदै आइरहेको छ । नेपाली कलाकार र तिनको सिर्जनाको अद्यापि मूल्याङ्कन नहुनुमा स्वयम् कलाकारहरूको दोष उहाँ देख्नुहुन्छ ।

मुकेश मल्लका अनुसार कलामा लागेर आत्मनिर्भर हुने स्थिति हामीकहाँ अझै पनि आइसकेको छैन । नेपाली कलाको चर्चा, चासो र चिन्ता कलाकारहरूमा नहुँदा आफू पनि कलाकार भएकोले कलासमीक्षामा लागिरहेको उहाँ बताउनुहुन्छ । आफूले २०३० सालदेखि अद्यापि कलालेखनमा निरन्तरता दिइरहेको उहाँको दाबी छ ।  

विश्व कलाबजारमा नेपाली कलाको स्थानका सन्दर्भमा उहाँ भन्नुहुन्छ– 'प्रथमतः  हाम्रै समाजमा कला र कलाकारहरू स्थापित हुन सकेका छैनन् । यस्तो अवस्थामा कसरी हाम्रो कला अन्तर्राष्ट्रिय भयो भनेर दाबी गर्न सकिन्छ ? दुई चारजना विदेशीले किन्दैमा नेपाली कला अन्तर्राष्ट्रिय हुन सक्दैन । कलाकारहरू पहिला आफ्नै देश र समाजमा स्थापित हुनुपर्छ भन्ने मेरो मान्यता रहिआएको छ ।' 

कलाकार तथा कलासमीक्षक मुकेश मल्ल कलालाई जनतासम्म पुर्‍याउने माध्यम कला समीक्षा हो भन्दै कला समीक्षाको ठुलो भूमिका रहने बताउनुहुन्छ । विना कलाको विकास नहुने तथा दर्शक र कलाकारबीच सेतुको काम कला समीक्षकले गर्ने उहाँ स्पष्ट पार्नुहुन्छ । निकै वर्ष कला समीक्षामा कलम चलाएर केही वर्षको विश्रामपछि पुनः उहाँ लेखनमा फर्कनुभएको छ । 

उहाँ नेपाली कलाजगत्मा उल्लेखनीय नयाँ काम वा चर्चा गर्न लायक त्यस्तो कला आन्दोलन नभएको बताउनुहुन्छ । कलाकार मुकेश नेपाली कला नेपालीकै घरमा सुरक्षित रहनुपर्ने कुरामा पनि उत्तिकै जोड दिनुहुन्छ । 

\

यस सम्बन्धमा उहाँ भन्नुहुन्छ– 'नेपाली कलाकारले बनाएका कलाकृति नेपालमै रहनुपर्छ । नेपाली कला नेपालीकै घरमा रहनुपर्छ । ती कलामा नेपालीपन र पहिचान झल्किनुपर्छ । कलामा आफ्नो किसिमको अलग्ग शैली हुनुपर्छ ।' 

उहाँको विचारमा कलालाई बुझ्नु भनेको धेरै कठिन कार्य हो । अमूर्त मात्र होइन, मूर्त चित्र पनि बुझ्न गाह्रो हुने उहाँ बताउनुहुन्छ । उहाँको ‘तुलिकाघात’, ‘चित्रकला निरूपण’, ‘उत्तर आधुनिक नेपाली कलाको सेरोफेरो, ‘नेपाली आधुनिक कलाको समकालीन सन्दर्भ’, ‘आधुनिक कलाः अर्थ र अभिप्राय’, ‘रामानन्द जोशीः आधुनिक कलामा नेपालीपनको प्रारम्भ बिन्दु’, ‘नेपाली समसामयिक मूर्तिकलाको ऐतिहासिक रूपरेखा’, ‘उत्तम नेपालीः नेपाली आधुनिक कलाको बलियो स्तम्भ’ आदि कला सम्बन्धी पुस्तकहरू प्रकाशित छन् । 

वि.सं. २०४६ सालमा उहाँको एकल प्रदर्शनी भएको थियो । कलाकार मल्ल ‘स्रष्टा सम्मान’, नेपाल कलाकार समाज (वि.सं. २०६५), ‘प्रवल जनसेवाश्री चौथो’, (वि.सं. २०६७), ‘राष्ट्रिय ललितकला लेखन पुरस्कार’, (वि.सं. २०६८) आदिबाट सम्मानित भइसक्नुभएको छ ।

कला लेखक, कलाकार मुकेश मल्लको कला अभिलेखनको कला कर्मले अझ सफलता हासिल गर्न सकोस् शुभकामना छ ।