सन्तोष यसरी गुञ्जिए एकल गजल गायनमा

सन्तोष यसरी गुञ्जिए एकल गजल गायनमा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २०, २०८१

मलाई नसोधी छुने यही झरी हो
सधैँ साथ मेरो हुने यही झरी हो ।

गजलकार राधा कणेलका शब्दमा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको धून र आवाज सर्वनाम थिएटरमा गुञ्जिँदा खचाखच हल 'वाह!वाह!! र तालीमय बनेको थियो ।

आँखा जुधाउने पो बानी रहेछ तिम्रो
मान्छे भुलाउने पो बानी रहेछ तिम्रो ।

घनेन्द्र ओझाका यी शब्द गायक श्रेष्ठको मुखबाट झर्ने बित्तिकै बज्न थालेको ताली पाँचै शेर पूरा हुन्जेल बजिरहेकै थियो ।

उपस्थित श्रोताहरू मुग्ध मात्र थिएनन्, मस्त पनि थिए गजल सुनेर । कोही भन्दै थिए, 'साँच्चै गजलमै रमाउन पाइयो । यस्ता कार्यक्रम भइरहनुपर्छ ।

शनिबार गजलकारद्वय राधा कणेल र घनेन्द्र ओझाका शब्दमा सन्तोष श्रेष्ठले छवटा गजल गाए । आफ्नै सङ्गीत र स्वरमा गजलहरू प्रस्तुत गरेका सन्तोष अबको नेपाली गजल गायन तीव्र र व्यावसायिक हुनुपर्ने बताउँछन् । यही समय नेपाली गजल गायनलाई उठाउने र विस्तृत बनाउने उपयुक्त समय भएकाले सन्तोष र आफूले यो दशकलाई नेपाली गजल गायनको स्वर्ण दशक बनाउने घोषणा गरेको गजलकार ओझाले बताए।

कार्यक्रममा गजलकार ओझा र सङ्गीतकाररगायक श्रेष्ठको गजल एल्बम 'शुभेच्छा' माथि चर्चासमेत गरिएको थियो । सङ्गीतकार राजु सिंहले 'शुभेच्छाु शास्त्रीय बहरमा लेखिएका गजलहरूको एल्बम भएको भन्दै नपाली गजल गायनका चार पुस्ता ज्ञानु राणा, आनन्द कार्की, शिव परियार, निशा देशार, सन्तोष श्रेष्ठ र अस्मिता अधसकारीको स्वर समेटिएको बताए । नेपाली गजल गायनका क्षेत्रमा 'शुभेच्छाु ऐतिहासिक र उदाहरणीय एल्बम भएको उनको दाबी थियो ।

गजलविज्ञ डा. घनश्याम न्यौपाने 'परिश्रमी'ले ओझा र कणेलका सुन्दर गजलमा सङ्गीत र स्वरसहित प्रस्तुत गरेकामा श्रेष्ठको प्रशंसा गर्दै नेपाली गजल गायनलाई तीव्र बनाउन आग्रह गरे ।

साहित्य अभियन्ता बाबु त्रिपाठीले नपाली गजलमा विवाद नभएको र कसैले गराइदिएको विवादलाई गजल स्रष्टाहरूले बुझिसकेका भन्दै गजल स्रष्टाहरू अब गजलका पक्षमा मात्र रहेका प्रस्ट पारे ।

कार्यक्रमको अभिभावकत्व ग्रहण गरेका गजलकार डा. भोजराज घिमिरेले नेपाली गजल लेखन परिष्कारको बाटोमा हिँडिसकेको र अब गायनमा पनि परिष्कारसँगै तीव्रता र विस्तार जरुरी रहेको बताए । उनले चण्डीप्रसाद काफ्ले, लालकाजी श्रेष्ठ, सन्तोष श्रेष्ठ जस्ता जुझारु र प्रतिबद्ध सङ्गीतकार र गायक नेपाली गजलले पाउनु खुसीको कुरा भएको सुनाए ।

गजलकारद्वय कणेल र ओझाले १५ वर्षअघि विवाहकै दिन 'बाटो अझै छ बाँकी' संयुक्त गजल कृति प्रकाशनसहित जीवनको सहयात्रा सुरु गरेको १६औँ वर्षमा गायनमा पनि सहयात्रा सुरु भएको भन्दै यसका लागि सङ्गीकार र गायक श्रेष्ठ र अभिभावक डा.घिमिरेप्रति कृतज्ञता प्रकट गरे ।

गोल्डेन क्रिएसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको आयोजना र नेपाल गजल प्रतिष्ठान, यशश्वी प्रज्ञाप्रतिष्ठान, कलरक्राफ्टको सहकार्यमा भएको कार्यक्रमलाई आधुनिक नपाली गजल अभियान, अनाममण्डली, उत्सवलगायत देशभरका डेढ दर्जन साहित्यिक संस्थाको प्रत्यक्ष साथ थियो ।

कार्यक्रमका मिडिया पार्टनर साहित्यपोस्ट, लोकसंवादडटकम, खबरपातोडटकम, म्युजिकखबरडटकम  र मिलाप मासिक थिए ।