शान, मानको गौरवमय सोभियत संघ : अक्षर र तस्बिरका धूमिल आकृति

शान, मानको गौरवमय सोभियत संघ : अक्षर र तस्बिरका धूमिल आकृति

ज्ञानेन्द्र विवश  |  साहित्य  |  जेठ २६, २०८१

अनुभव र अनुभूतिका अक्षरहरूमा छताछुल्ल सोभियत सम्झना ! साहित्य, कला, संस्कृति, जीवन, परिवेशका यावत कुराहरूलाई समेटिएको अभिलेख । यौटा पृथक किताब–कृति । यौटा अलग्ग विशेषताको सिर्जना । युगको साक्षी । समयको तस्बिर । इतिहास बनेको त्यो भव्य विरासत । विशाल सीमा रेखामा फैलिएको देश । तर आज अब किताबमा सम्झनाका ताजा तरेलीहरूमा सीमित ।

भोगाइका अलग्ग पाटाहरू । यात्राका मिठा यादहरू । परदेशका प्रेरणा र प्रभावहरू । जिन्दगीको उन्नति, प्रगति र ऊर्जाशील समयका दस्तावेजहरू । अनि तिनका सुमधुर परिघटनाका यादगार अभिव्यक्तिहरू ... !

पेशाले ईन्जिनियर अभिरुचिले लेखक एक स्पष्ट व्यक्ति मृदुभाषी रामविन्दु श्रेष्ठ । उहाँले लेख्नुभएको ‘मेरा सोभियत सम्झनाहरू’ मा सँगालिएका अभिलेख जीवनको एक महत्वपूर्ण समय–सन्दर्भमाथिको समीचिन व्याख्यान हो । यो व्याख्यानमा सोभियतका तत्कालीन चित्रणहरू मात्र छैनन् । नेपाली जीवनका पाटा र पात्रहरूको सम्झना–संस्मरणका झलकहरूसमेत समेटिएका छन् ।

कल्पनाभन्दा यथार्थ र आफैँले आफ्नै जीवनमा भोगेका यावत सन्दर्भहरूमाथि लेखकीय अनुभूति निकै मार्मिक लाग्छ । जहाँ शान्त, सुन्दर, पवित्र नेपाली माटो र मनको मृदु किरणहरूले पाठक मन स्पर्श गर्न खोज्छ । आजको वेथिति र बेहाल अवस्थाले हैरान पार्न थाल्छ । तुलनात्मक रूपले हेर्दा समयले जतिसुकै उन्नतिको उचाइ ग्रहण गरे तापनि वास्तविकतामा मानवीय संवेदना मर्दै गइरहेको तथ्य स्पष्ट हुन्छ ।

उता त्यो बेलाको शक्तिराष्ट्र रुस आज टुक्रिएर एकप्रकारले शक्तिहरु जस्तै छ । विगतको विशालकाय देश आज सानो, साँघुरो देशमा खण्डित भएर रहेको छ । विगतको तिनै विरासतका भव्य र वैभवशाली अवस्थालाई सरल, सुन्दर र सुमधुर सम्झनाका सुसेलीमा लिपिबद्ध गरिएको छ । 

शान, मानको गौरवमय इतिहास बोकेको सोभियत संघ अब अक्षर र तस्बिरका धूमिल आकृतिहरूमा मात्रै सीमित हुन पुगेको छ । यो विडम्बना हो । विस्मृत स्मृतिमाथि सम्झनाका बग्रेल्ती उकाली र ओरालीहरूमा वितेका क्षणहरूको छायाँ–छवि मुस्कानमय आभामा उपस्थित हुन्छन् । आजका पुस्ताका लागि यो पठन र यी अभिलेख अन्ततः इतिहासको कालखण्डलाई आँखामै उपस्थित गराउने माध्यम पनि बनेको छ ।

जन्मथलो बाग्लुङदेखि प्रारम्भ भएको पाइला–पाइतोका उहिल्यैका सम्झनाहरूलाई यति ताजा, यति जीवन्त अभिव्यक्त गरिएको छ कि जहाँ भेटिन्छ नेपाली ग्रामीण जनजीवन, प्रकृति र विकट भूगोलको चरित्र र चित्रका झलकहरू । संस्मरणको मिठो झङ्कारसहित नाम, ठाउँ, समय, परिस्थितिका झिनामसिना तरेलीहरू पनि शब्दमा सुस्वादु बनेर पाठकीय मिठासमा रस भर्न सफल छन् । 

बर्सेनि विकासोन्मुख राष्ट्रहरूका जेहन्दार विद्यार्थीहरूको छनौट गरी उच्च अध्ययनार्थ सोभियत संघले छात्रवृतिको सुविधा दिन्थ्यो । त्यो सुविधा पाएर कैयौँ नेपालीले आफ्नो भविष्य बनाएका छन् । तिनै बनाउने मध्ये रामविन्दुले जुन अवसर पाउनुभयो र त्यसलाई उहाँले राम्रै उपयोग गर्नुभयो । 

खासगरी सोझो, सरल र इमान्दार स्वभावका रामविन्दुको जीवन सङ्घर्षका अनेकौँ उतारचढावहरू माला उनिएसरी हरहर वासनाका सुगन्ध फैलाउँदै यसमा उनिएका छन् । निर्दोष नेपाली चेहराको सुन्दर चित्र यसमा झल्किन्छ । नेपालको कठिन भूगोल छिचोल्दै । सुख र सन्तुष्टिको खोजीमा त्यही कठिन भूगोल नाप्दै यात्रामा निस्किनुभएका रामविन्दु श्रेष्ठको अनवरत यात्राले पाएको सफलता कठिनतम् दुःखकै उपलब्धि हो । 

‘मेरा सोभियत सम्झनाहरू’ का हरेक अध्यायमा झरिला, भरिला, मसिना र ताजा सम्झनाका स्वादहरू चाख्न पाइन्छ । सोभियत संघको प्रगतिको उठानले निर्माण गरेको विकासको चरणलाई लेखकले निकै गहिरो किसिमले प्रक्ट गर्नुभएको छ । प्रगतिको चरमचुली र अवनतिको रसातलको तुलनात्मक विवेचना पनि गरिएको छ । 

बर्सेनि विकासोन्मुख राष्ट्रहरूका जेहन्दार विद्यार्थीहरूको छनौट गरी उच्च अध्ययनार्थ सोभियत संघले छात्रवृतिको सुविधा दिन्थ्यो । त्यो सुविधा पाएर कैयौँ नेपालीले आफ्नो भविष्य बनाएका छन् । तिनै बनाउने मध्ये रामविन्दुले जुन अवसर पाउनुभयो र त्यसलाई उहाँले राम्रै उपयोग गर्नुभयो । 

उहाँले जस्तो छात्रवृत्ति पाएर रुस पढ्न जानेहरूको तिनताक लर्को नै हुन्थ्यो । तर कमैले मात्र यस किसिमको लेखनमार्फत् आफ्ना अनुभूतिहरू आमपाठक समक्ष प्रस्तुत गरेका छन् । तिनै कममा पर्नुहुने रामविन्दु श्रेष्ठले प्रस्तुत पुस्तकबाट धेरै कुराको ‘थाहा’ दिने कोसिस गर्नुभएको छ । यसरी ‘थाहा दिने’ क्रममा यौटा पृथक शैलीको अभिलेख निर्माण हुन पुगेको छ ।

इन्जिनियरिङ अध्ययनका क्रममा सोभियत संघमा बिताएको ६ वर्ष (सन् १९८५–१९९१) को क्रममा भोगिएका अनुभवहरूको संस्मरण यस कृतिमा पढ्न पाइन्छ । सुखद र दुखद पक्षहरूको लिपिबद्ध विवरणमा रमाइला, चाखलाग्दा, जानकारीमूलक धेरै सन्दर्भहरू छन् । प्रत्येक परिच्छेदका अनुभूतिहरूले सोभियत संघका बारेमा धेरै जानकारी मिल्छ । 

बाग्लुङमा बाल्यकाल बिताएर काठमाडौँको अध्ययन र उच्च शिक्षामा परदेशमा भिजेका रामविन्दुको प्रस्तुत संस्मरण सँगालो वास्तवमा नेपाल र सोभियत संघको ऐना हो । सोभियत संघको तत्कालीन बिशेषताका रूपमा सामुहिक सहभागिता, सामाजिक आचार–विचार, मानवीय मन र मिजास तथा आधारभूत आवश्यकताको प्रत्याभूति थियो । विशाल सोभियत संघ टुक्रा–टुक्रामा विभाजित हुँदाको घाटा पक्षमाथि पनि लेखकीय अभिमत पढ्न पाइन्छ ।

गाउने, नाच्ने, कविता लेख्ने र सुनाउने क्रममा अध्ययनका साथै अनुसन्धानको पाटोमा पनि उहाँले प्रगति गर्न थाल्नुहुन्छ । सानैदेखि पढाइ, लेखाइमा अब्बल रहँदै आउनुभएका रामविन्दुको सफलताले सोभियत संघको अध्ययनमा पनि उसरी नै फड्को मार्न थाल्छ । डायरी टिपोटका बुँदाहरूलाई फुर्सदमा सविस्तार व्याख्यान गरी लेखिएको प्रस्तुत संस्मरण उहाँको जीवन–दर्शनको एक दस्तावेज पनि हो । 

जीवन्त जीवन जिउन र बनाउनका लागि गरिएका मेहनत, परिश्रम, त्याग, समर्पण र सत्कर्मका कारण ‘रामविन्दु’ को नाम जस्तै मौलिक र काम पनि ‘रामविन्दु’ को उचाइ ओरोहणमा निर्धक्क विराजमान भएको विश्वास गर्न सकिन्छ ।

रुसी साहित्यका प्रसिद्ध लेखक, दार्शनिकहरूको विषयमा लिखित विवरण उल्लेख्य पक्ष हो । त्यस्तै सोभियत सामाजिक परिवेशलाई उन्नतिको उचाइमा विराजमान गराउन सफल चिन्तक तथा भाषिक अभियन्ताहरूले रुसी समाज र साहित्यमा गरेको योगदानको सम्झना पनि यस कृतिमा पढ्न पाइन्छ । विश्वप्रसिद्ध लियो टोल्सटोय, म्याक्सिम गोर्की, इभान इभानोविच उर्केविच, निकोलाई अस्त्रोभ्स्की आदि लेखक, दार्शनिक, साधकहरूको सन्दर्भले संस्मरणलाई चखिलो बनाएको छ । रुसी साहित्यमा मात्रै होइन विश्वप्रसिद्ध साहित्यकार तथा दार्शनिकका योगदानलाई उल्लेख्य रूपमा लेखकले सम्झनुभएको छ । जुन लेखनले पाठकलाई थप जानकारी उपलब्ध हुन्छ ।

दोश्रो विश्व युद्धताका सोभियत संघले गणराज्यहरूको सुरक्षा गर्दै आफ्नो बर्चस्व विश्व राजनीतिमा प्रखर रूपमा अगाडि बढाउनु, सम्पूर्ण देशबासीका लागि शिक्षा, रोजगारी, आवास र स्वास्थ्यको निःशुल्क प्रावधान, विश्वस्तरीय शिक्षाको आधार तयार पार्नु, अन्तरिक्ष कार्यक्रमको सफल कार्यान्वयन हुनु र विश्वमा प्रथम राष्ट्र बन्नुलाई सोभियत प्रणालीको राजनैतिक सफलता मान्न सकिने तथ्य र तर्क यस संस्मरणमा लेखकले दिनुभएको छ । जुन कुरा एकदमै सही हो । 

परन्तु सोभियत संघको संगठित र एकत्रित सबै राष्ट्रहरूलाई एकताबद्ध पारी राख्न नसक्नु  तथा समयमै स्वतन्त्रताको प्रत्याभूति दिन नसक्नु आदि कारणलाई राज्य विभाजनको आधार मान्न सकिने उहाँले उल्लेख गर्नुभएको छ । लगभग दुई दशकपछि सोभियत संघमा पुग्दा आफूले अध्ययनगरी विताएको देशको बेहाल अवस्थाले लेखक रामविन्दुको मन खिन्न हुन्छ । समय छँदै आफ्नो राष्ट्रिय गौरव, स्वाभिमान र सार्वभौम अस्तित्वलाई अक्षुण्ण राख्न सचेत हुनुपर्ने पाठ पनि यहाँ महसुस गर्न सकिन्छ । यसरी सूचना, सन्देश, सौन्दर्य र शब्दहरूको मिठासमा अभिव्यक्त भावनाहरूले इतिहासको व्यतीत कालखण्डलाई जीवन्त स्वरूप दिएको छ । 
ईन्जिनियर रामविन्दु श्रेष्ठलाई हार्दिक बधाई तथा शुभकामना ।