धरहरा पुनर्निर्माणमा अवरोध

धरहरा पुनर्निर्माणमा अवरोध

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २६, २०७६

०७२ सालको भूकम्पले क्षत विक्षत भएको धरहरा कस्ले पुनर्निमाण गर्ने भन्ने विषयमा नै धेरै समय व्यतित भयो । लामो समयको विवाद पछि  जिआइइटिसी–रमन जेभीले निर्माणको ठेक्का पाएको थियो । ठेक्का पाएर पुनर्निमाणको काम प्रारम्भ भएपछि फेरि विवाद शुरु भएको छ । 

काठमाडौं । राष्ट्रिय धरोहर धरहराको निर्माणमा  धरहरा कम्पाउण्डभित्र सुन्धाराबाट इन्द्रचोक–खिचापोखरी हुलाकी बाटो पर्ने भएपछि विवाद आएको हो । धरहरा कम्पाउण्डभित्र सुन्धाराबाट इन्द्रचोक–खिचापोखरी जाने हुलाकी बाटो पर्छ ।

यो विषयलाई लिएर अहिले स्थानीयहरु आन्दोलित बनेका छन् । पुरानो हुलाकी बाटो मास्दा स्थानीयहरुलाई असहज हुने भन्दै त्यसको उचित विकल्प दिएरमात्रै काम अघि बढाउन उनीहरुले दबाब दिँदै आएका छन् । 

बाटोका विषयमा प्राधिकरण, निर्माण पक्ष र स्थानीयबीच सम्झौता समेत भएको थियो । 

तर स्थानीयले सुन्धारास्थित कर्मचारी संचय कोष भवन (काठमाडौं मल)को छेउबाट टुँडिखेल निक्लन मिल्ने गरी वैकल्पिक बाटोको माग गरेपछि विवाद बढेको हो । 

धरहरा पुनर्निर्माणमा अवरोध आएकोले काम गर्न असहज भएको छ । यस्तो अवरोध भइरहे समयमै निर्माण सम्पन्न गर्न कठिन हुनेछ, निर्माण पक्ष जिआइइटिसी–रमन जेभीका म्यानेन्जर श्यामचन्द्र श्रेष्ठले भने । 

स्थानीयले भने आफूहरुले निर्माण कार्यमा कुनै अवरोध नपुर्याएको तर  स्थानीयका कारण देखाएर काममा ढिलाई गर्न खोजेको सुन्धारास्थित वडा नम्बर २२ का अध्यक्ष चिनकाजी श्रेष्ठले आरोप लगाएका छन् । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समेत राष्ट्रिय पुनर्निमार्णमा अवरोध सिर्जना गर्ने गरि स्थानीयले अड्को थापेको जनाएको छ ।

धरहरा पुनर्निर्माण अवरोधले कसैलाई पनि फाइदा नपुग्ने प्राधिकरणका सहायक प्रवक्ता तथा सूचना अधिकारी मनोहर घिमिरेको प्रतिक्रिया छ ।