'मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैनः सञ्चारमाध्यममा विदेशी लगानी प्रतिबन्ध लगाउँछौँ '

'मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैनः सञ्चारमाध्यममा विदेशी लगानी प्रतिबन्ध लगाउँछौँ '

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २६, २०७६

बाँके । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले संसद्मा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विधेयकमा छलफल गर्न सकिने तर फिर्ता नहुने बताउनुभयो ।

मन्त्री  बाँस्कोटाले भन्नुभयो, 'विधेयक श्रमजीवी पत्रकारको हितमा छ, लेखेर खानेका पक्षमा छ । लेखेकै आधारमा कोही कारवाहीमा पर्दैन । गलत गर्नेलाई विधेयकले नियमन गर्ने हो, सही सूचना दिँदा कारवाही हुन्छ कि भनेर डराउनु पर्दैन ।'

विधेयक पढ्न पत्रकारहरुलाई सुझाव दिँदै मन्त्री बाँस्कोटाले सडकमा उफ्रेर र आन्दोलन गरेर समस्या समाधान नहुने बताउनुभयो । 'मिडिया विधेयकले नियन्त्रण गर्न आँट्यो भनेर झण्डा उठाउनु ठीक हो, यहाँ त नियमन गर्न पाइँदैन भनेर झण्डा उठाइँदैछ',  मन्त्री बाँस्कोटाले भन्नुभयो, 'मिडिया नियमन गर्न पाइँदैन भन्नु पत्रकारिता कानूनभन्दा माथि छ भन्न खोजिएको छ । विधेयकमाथि संसद् र सदनमा छलफल भइरहेको छ । यसमा आन्दोलन गर्नुपर्ने कुनै कारण नै छैन ।' 

 विधेयकमा भएका दण्ड जरिवानाका विषयमा छलफल गर्न सकिने उहाँको भनाइ थियो । विधेयक दर्ता गर्नासाथ फिर्ता लिनुपर्छ भन्दै जुलुस निकाल्ने प्रवृत्ति गलत भएको उहाँले औँल्याउनुभयो । 'सरकार अभिभावक हो, अभिभावकले सन्तानको घाँटी रेट्न सक्दैन । यो विधेयक गला रेट्न ल्याइएको होइन । सन्ततिको संरक्षणका लागि विधेयक ल्याएको हो', मन्त्री बाँस्कोटाले भन्नुभयो ।

पत्रकारिताको पद्धतिलाई सहीरुपमा सञ्चालन गर्नका लागि विधेयक ल्याएकाले यसमा विवाद र आन्दोलन गरेर समय खेर नफाल्न पत्रकारलाई मन्त्री बाँस्कोटाले आग्रह गर्नुभयो । उहाँले देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि केही गैरसरकारी संस्थाको रोजीरोटी गुमेपछि पत्रकारिता क्षेत्रमाथि खेल्ने फाइदा लिने प्रयास गरिरहेको बताउनुभयो । 'कसैको खेती सकिन थालेपछि अब पत्रकारिता खतरामा पर्‍यो भनेर खेती शुरु गरेका छन् । यसमा सरकार झुक्नेवाला छैन'.  उहाँले भन्नुभयो, 'सञ्चारगृह ‘फेक कि फ्याक्ट’ बन्ने रु विधेयकले अब स्पष्टरुपमा निर्धारण गर्नेछ । यसमा गलत गर्ने पाखा लाग्नेछन् । पत्रकारिताको गरिमा जोगाउनकै लागि हामीले यो विधेयक ल्याएका हौँ ।'

 मन्त्री बाँस्कोटाले समानुपातिक विज्ञापन वितरण गर्नका लागि विज्ञापन प्राधिकारण गठन गर्ने तयारी भइरहेको बताउनुभयो । 'विज्ञापन अधिकार हो भनेर विधेयकमा आएको छ । विज्ञापनमा सबैको पहुँच स्थापित गर्न खोजिँदैछ । यहाँ सरकार तानाशाही र मिडियामैत्री भएन भनेर प्रचारबाजी गरिएको छ । विज्ञापनमा एकाधिकार तोड्दैछौँ । अनि सरकार कसरी तानाशाही भयो र? ”, उहाँले भन्नुभयो ।

सञ्चारमाध्यममा विदेशी लगानी स्वीकार्य नहुने मन्त्री बाँस्कोटाको भनाइ थियो । 'पत्रकारिताले राष्ट्रिय एकतालाई मजबुत बनाउने हो,' उहाँले भन्नुभयो, ' यहाँका केही सञ्चारमाध्यममा विदेशी लगानी भित्रिरहेको छ । अनि हाम्रो राष्ट्रियता कति सुरक्षित र मजबुत छ भनेर हामीले पत्याउने रु विदेशीले लगानीअनुसारका सूचना खोजिरहेको हुन्छ, यसले हाम्रो राष्ट्रियतामाथि खतरा हुने भएकै कारण सञ्चारमाध्यममा विदेशी लगानी प्रतिबन्ध लगाउँछौँ ।'