6० लाख लिटर रिजर्भ ट्याङ्की सहित सबैभन्दा ठूलो खानेपानी आयोजना पोखरामा

6० लाख लिटर रिजर्भ ट्याङ्की सहित सबैभन्दा ठूलो खानेपानी आयोजना पोखरामा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २७, २०७६

काठमाडौँ । निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको मेलम्ची खानेपानी आयोजना समस्या देखिए पनि सरकारले पर्यटकीय राजधानी कास्कीलाई केन्द्रमा राखेर बृहत् खानेपानी आयोजना अगाडि बढाउने भएको छ ।

खानेपानी मन्त्रालयले कास्कीमा अगाडि बढाउन लागेको सो परियोजनालाई मेलम्ची पछिको सबैभन्दा ठूलो आयोजनाको भएकाे दावी गरिएकाे छ । पोखरास्थित मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी सुधार आयोजनाको काम शुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

खानेपानीमन्त्री बीना मगरले उक्त आयोजनाको शिलान्यास यही जेठ २८ गते गर्नुहुने कार्यक्रम तय समेत भइसकेकाे छ । मन्त्रालयले उपत्यका बाहिर शुरु गर्न लागेको यो पहिलो ठूलो आयोजना हो भने मेलम्चीपछि मन्त्रालयको खानेपानीको क्षेत्रमा शुरु हुन लागेको यो दोस्रो ठूलो आयोजनाका रुपमा अथ्र्याएको छ ।

आयोजनाले पोखरा महानगरपालिका क्षेत्रभित्र दैनिक चार लाख ५० हजार उपभोक्ता प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । आगामी तीन वर्षभित्र आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरामा खानेपानी सुधार आयोजना शुरु गर्न जापान सरकारले नेपाललाई  चार अर्ब ८१ करोड अनुदान दिने सम्झौता यसअघि नै भएको छ । सोही सम्झौताअनुसार खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउन लागेको हो ।

जापानले दिएको कूल अनुदान रकममध्ये चार अर्ब २१ करोडमा भौतिक निर्माण कार्यका लागि जापानमै बोलपत्र गरिएको थियो । उक्त बोलपत्रमा हाजमा एन्दो कर्पोरेशन कम्पनीले अनुमानित लागत रकमभन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाजमा कम्पनीसँग संस्थानले गत २०७५ साल फागुन २४ गते सम्झौता गरेको थियो ।

हाजमा कम्पनीले  तीन अर्ब ९४ करोड २७ लाखमा उक्त कामको ठेक्का पाएको छ । खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग भएको संस्थानका महाप्रबन्धक डा.भूपेन्द्र प्रसादले जानकारी दिनुभयो ।

अनुदान रकम पानी शुद्धीकरणका लागि शुद्धीकरण प्लान्ट निर्माण र पाइपलाइन विस्तारमा खर्च हुनेछ । यस्तै खानेपानी आपूर्तिका लागि कूल १०० किलोमिटर पाइप बिछ्याइने आयोजनाको डेपुटी प्रोजेक्ट म्यानेजर निरन महर्जनले जानकारी दिनुभयो । त्यस्तै खानेपानी भण्डारण गर्न २० लाख लिटरको तीन वटा रिजर्भवायर पानी ट्याङ्की निर्माण गरिनेछ ।