एक वर्ष पछि हुने ‘हिमालयन ट्राभल मार्ट’ को चौथो संस्करणकाे घोषाणा

एक वर्ष पछि हुने ‘हिमालयन ट्राभल मार्ट’ को चौथो संस्करणकाे घोषाणा

लोकसंवाद संवाददाता  |  पर्यटन  |  जेठ २७, २०७६

  काठमाडाैँ । हिमालय क्षेत्रको विविध पर्यटन सम्भाव्यता उजागर गर्दै ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण २०७६ जेठ २६मा सम्पन्न भएको छ ।

मार्टको चौथो संस्करण आगामी वर्ष जेठ दोस्रो साता अर्थात् सन् २०२० जुन १२ देखि १५ सम्म आयोजना हुने आयोजक प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले  जानकारी दिएकाे छ ।

२०७६ जेठ २३ देखि २६ सम्म सोल्टी क्राउनप्लाजामा भएको मार्टमा ४३ देशका ७०० भन्दा बढीको सहभागिता रहेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घसंस्थाको सहयोग तथा सहकार्यमा पाटा नेपालले मार्टको आयोजना गरेको हो ।

उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्राकृतिक, भौगोलिक, सांस्कृतिक तथा जैविक विविधतासँगै विशिष्ट आतिथ्य सत्कारले बहुआयामिक पर्यटकीय अनुभव प्रदान गर्नसक्ने नेपाल अनुपम गन्तव्य रहेको बताउनुभएको थियो । उहाँले योग, आयुर्वेद, तीर्थयात्रा एवं अध्यात्मिक पर्यटनका लागि हिमालय क्षेत्र नै एक उत्कृष्ट गन्तव्य भएको र सो अनुभूतिका लागि नेपाल उद्गमस्थल भएको बताउनुभएको पाटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मार्टको तेस्रो संस्करण सफलताका साथ सम्पन्न भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभएकाे छ । उहाँले मार्टमा अध्यात्म पर्यटनको खोजी, बिटुबीमा क्रेता र बिक्रेताबीचको व्यापार विस्तार, अन्तरदेशीय पर्यटन बजारका ज्ञान तथा अनुभव आदान तथा नयाँ पर्यटकीय सम्भावना उजागर गर्न पनि मार्ट सफल भएको उल्लेख गर्नुभयो ।

सम्मेलनमा साहसिक पर्यटनको अवस्था, दिगो पर्यटन विकासका अवसर तथा चुनौतीलगायत नेपालमा अध्यात्म पर्यटनको सम्भावना र पर्यटकीय अवसरबारेमा विशेष प्राथमिकताका साथ छलफल गरिएको पाटा नेपालका सिइओ सुरेशसिंह बुडालले जानकारी दिनुभयो । मार्टको ‘साइड इभेन्ट’ का रुपमा आयोजना गरिएको अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा ‘मिडिया कन्फ्रेन्स’ मा ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया/ब्लर्गससहित १०० हाराहारी राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिको सहभागिता थियो ।

ट्राभल मिडिया तथा ब्लर्गर्सले गन्तव्यको पर्यटन प्रवद्र्धन एवम विकासमा खेल्ने भूमिका र अवसरका बारेमा छलफल गरिएको थियो । सोही कार्यक्रमबीच नेपाल भ्रमण वर्ष सन् २०२० सम्बन्धी विशेष अन्तर्राष्ट्रिय ‘मिडिया ब्रिफिङ’ गरिएको थियो ।

भ्रमण वर्ष अभियानका संयोजक सुरज वैद्यले अभियानअन्तर्गत गरिने विभिन्न कार्यक्रमको कार्ययोजनालगायत नेपालका पर्यटकीय गन्तव्य र सम्भावनाबारे प्रस्तुति दिनुभएको थियो । यस पटकको बिटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनी र छ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ बिक्रेता कम्पनी तथा संस्थाले सहभागिता जनाएको पाटा नेपालले जनाएको छ ।

मार्टका अवसरमा पाटा नेपाल च्याप्टरले तत्काली पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासका गर्नुभएको योगदानको कदर गर्दै पाटा विशेष अवार्डद्वारा सम्मान गरिएको थियो । त्यस्तै विश्वप्रसिद्ध बेलायती पर्वतारोही ‘डक स्कट’ लाई पर्वतारोहण र नेपाली पर्यटन क्षेत्रको प्रचार प्रसारमा पुर्‍याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको थियो । ती दुवै अवार्ड प्रधानमन्त्री ओलीले वितरण गर्नुभएको थियो ।