एकदिवसीय विश्वकप क्रिकेट : भारतसँग अस्ट्रेलिया स्तब्ध

एकदिवसीय विश्वकप क्रिकेट : भारतसँग अस्ट्रेलिया स्तब्ध
शतक प्रहार गरेपछि भारतका शिखर धवन । तस्बिर : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ २७, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार राती सम्पन्न खेलमा भारतले अस्टे«लियालाई ३६ रनले पराजित गरेको छ ।

३५३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३१६ रनमा अलआउट भएपछि अस्ट्रेलिया भारतले खेल जितेको हो । अस्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ६९ रन जोडे । ७० बल खेलेका उनले आफ्नो पारीमा ५ चौका र १ छक्का प्रहार गरे । यस्तै, डेभिड वार्नरले ५६ रनको योगदान दिए । एलेक्स केरीले अभिजित रहँदै ५५ रन जोडे ।

बलिङतर्फ भुवनेश्वर कुमार तथा जसप्रित बुमराहले समान ३ विकेट लिए । युजवेन्द्र चहलले दुई विकेट चट्काए । अस्ट्रेलियाका दुई खेलाडी रनआउट भए ।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५२ रन जोडेको थियो । उसका लागि प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले सर्वाधिक ११७ रन जोडे । यस्तै, विराट कोहलीले ८२ र रोहित शर्माले ५७ रनको योगदान दिए । चौथो र पाँचौ नम्बरमा क्रमशः ब्याटिङ गर्न आएका हार्दिक पाण्ड्याले र महेन्द्रसिंह धोनीले आक्रामक रूपमा रन बनाएपछि भारतले विशाल स्कोर खडा गर्न सकेको थियो । पाण्ड्याले २७ बलमा ४८ रन बनाउँदा धोनीले १४ बलमा २७ रनको योगदान दिए ।

बलिङतर्फ अस्ट्रेलियाका मार्कस स्टोनिस २ तथा प्याट कमिन्स, मिचेल स्टार्क र नाथन कुल्टर नायलले समान १ विकेट लिए ।

खेलको म्यान अफ दि म्याच शिखर धवन घोषित भए ।