ज्ञानेन्द्र विवश | साहित्य | भदौ १५, २०८१
वि.सं. २०७८ साल लाग्दै गर्दा ‘प्रतिनिधि नेपाली कलाकार’ नामक १२५ जना नेपाली कलाकारहरूको सङक्षिप्त जीवनी समेटिएको कला किताब प्रकाशित भयो । रङ्गीन चित्रहरूसहित ४६० पृष्ठको मेरो यो कला पुस्तक लेखनमा मैले निकै समय खर्चिएको छु । सर्वप्रथमतः यो पुस्तक छापिनु नै ठूलो कुरा थियो । झन्डै एक दशकको प्रसव पीडापछि बल्लतल्ल छापियो ।
२०७० सालमै छापिनुपर्ने लगभग ८०० पृष्ठको यो पुस्तक प्रेसमा पुगेर बेखर बेवारिसे बन्न पुग्यो । पुर्नलेखन गरी लकडाउन–निषेधाज्ञाको त्राहिमाम जीवन र मरणको दोसाँधे समयलाई छिचोल्दै तयार भयो । तयार हुँदासम्म यसको पृष्ठसङ्ख्या १००० को हाराहारीमा पुगिसकेको थियो ।
यसबीच कति अग्रज कलाकारहरू परलोक गमन भए । बाँचेकाहरूको लिखित परिचयात्मक विवरणलाई ‘अपडेट’ गर्नुको झमेला पनि झर्को लाग्दै थियो । कतिसम्म भने कति कलाकार आफूले जति काम गरे पनि चिनिएन भनेर चिनाउन मरिहत्ते गर्ने । कति चाहिँ आफूलाई चिनाउनै नचाहने । आवश्यक जानकारी दिन आलटाल गर्ने । आफ्नो र आफूले बनाएको चित्रको तस्बिरसमेत खिच्न र दिनै नचाहने । कति कलाकारहरू भने आवश्यकताभन्दा बढी विवरण दिएर लेखाउन मरिहत्ते गर्ने । प्रशंसाका भोका, आलोचनाका शब्द एक आँखाले पनि देख्न नचाहने ।
पुस्तकमा विगत २०५० सालदेखि लेख्दै र छापिँदै आएका कलाकारहरूका व्यक्तिवृत्त तथा समीक्षाहरूकै आधारमा लेखिएका रचनाहरूको पुनर्लेखन हो । यसमा ५० वर्ष उमेर पुगेका अर्थात् वि.सं. १९८४–२०२७ (इ.सं. १९२६–७०) अवधिमा जन्मेका १२५ जना नेपाली कलाकारहरूका कलागत शैली, विषयवस्तु, माध्यम, कलाप्रदर्शनी, पुरस्कार आदि विवरण र कलाप्रति उनीहरूका दृष्टिकोण समेटिएका छन् । ९५ वर्षका जेष्ठ कलाकार गोविन्दनारायण ज्यापू हुँदै ५० वर्ष उमेरका विजय सर्ग ज्यापूसमेतलाई यस पुस्तकमा समेटिएको छ । मलाई लाग्छ, मेरो यो काम नेपाली कलाकारहरूलाई सदा जीवित राख्ने सत्कार्यको यौटा सानो सुरुआत हो ।
अर्को कुरा, यस पुस्तकमा समसामयिक चित्र तथा मूर्ति विधामा समर्पित कलाकारका अतिरिक्त पौभा, मिथिला र अवधीकलाका साथै छापाकला, ग्राफिककला आदि विविध विधामा लोकप्रिय कलाकारहरूको परिचयात्मक विवरण रहेको छ । काठमाडौँ उपत्यकामा सिर्जनारत् कलाकार मात्र होइन झापादेखि नेपालगञ्ज, धनगढीसम्मका कलाकारहरूको चिनारी चित्रण गरिएको छ ।
यसले प्रतिनिधि नेपाली कलाकारहरूको चिनारीलाई अरू बढी फराकिलो बनाइदिएको मेरो विश्वास छ । कलागत शैली, विषयवस्तु, माध्यम र प्रविधिका दृष्टिले नेपाली कलामा देखापर्दै आएका विविध स्वरूप तथा परिवर्तनलाई यस पुस्तकले समेटेको छ भन्दा बढी नहोला ।
वस्तुतः यो पुस्तक कलाको विश्लेषणयुक्त पुस्तक होइन । पुस्तकको आफ्नो मन्तव्यमा पनि मैले लेखेको छु– ‘यो पुस्तक कलाकारहरूको विश्लेषणात्मक जीवनी पुस्तक होइन । यो नेपाली कलाकारहरूबारे लिखित सङ्क्षिप्त चिनारीमात्र हो ।’
स्मरणीय छ, पाण्डुलिपि तयारीपछि त्यसलाई प्रकाशन गर्नुको पीडा प्रत्येक लेखकले महसुस गरेका छन् । लेख्नु जति सजिलो होला तर पुस्तकको आकारमा उतार्नु र प्रकाशनको पीडा नेपाली लेखकहरूको नियति नै हो । आफैँले छापेपछिको तनाव त भनिसाध्य हुँदैन । आफैँ प्रकाशक, वितरक, पाठक आदि हुनुपर्छ । त्यसबाट प्राप्त हुने प्रतिफलको हिसाब नगरे हुन्छ । घाटाको घाउले घायलै बनाउँछ । तर जब कसैको निगाहमा छापिन्छ वा कुनै प्रतिष्ठित संस्थाबाट छापिन्छ त्यसको कुरै अर्को हुने रहेछ ।
प्रसव पीडापछिको हर्षित–हर्षित मुस्कानले पोतिएको मुहार । बधाई र शुभकामनाका अनेक–अनेक सौगातहरू । यी सँगै कति कटू र मृदु अनुभवहरू । भनिसाध्य हुँदैन, सुखदुःखका बग्रेल्ती बयानहरू । किताब लेख्नुको सकस । किताब निकाल्नु र निस्किनुको हर्ष ! अनि किताब निस्किएपछिको प्रतिक्रियाको प्रभाव र प्रहार !
प्रत्येक पटक एउटा ‘इमानदार लेखक’ भएर बाँच्नु र ‘विशुद्ध पाठक’ भएर पढ्नुको पृथक दूरी निकै अकासिँदो छ । अत्यास लाग्दो र आफैँमा अपत्यारिलो पनि । लेखक भएर सोच्दा सामग्री जुटाउनु, लेख्नु, छापिएपछि अपार हर्षले हठात् गद्गद् भइरहनु नै आत्मसन्तुष्टिको प्रारम्भिक विन्दु रहेछ ।
यसैबीच प्रतिष्ठानको बजेटअनुसार पुस्तकमा लिखित सामग्रीहरूलाई आधा घटाउनुपर्यो । यसरी घटाउँदा कलाकारको मुख्य परिचयलाई प्राथमिकता राखेर पुर्नलेखनमा हिउँदको चिसो नभनी हिँडियो । चैतको हावाहुरी, बैशाखको गर्मी र झरीसमेत भनिएन । कति कलाकारको घर धाएर हैरान भइयो । कति कलाकारलाई फोन सम्पर्कबाट पनि भेट्न नसकेर हरेश खाइयो । कति कलाकारले भेट्नै नचाहेर आजित भइयो । छिटो सकिनुपर्ने कामले ढिलाइको अन्तराल तय गर्यो ।
कलासंंसारको आफ्नै घर–कोठामा चुपचाप कलाकर्ममै तन्मय रहनु ठिकै हो । तर भेट्न आउने, भेट्न खोज्ने र लेखेर कलाको अभिलेख तयार पार्न खोज्नेहरूलाई निराश पार्दा नेपाली कलाको इतिहास निर्माण हुन सक्छ र ?! त्यसका लागि सन्दर्भ–सामगीहरू चाहिन्छ । त्यसै पनि ललितकला लेखनका लागि स्रोत–सामग्री जुटाउनै गाह्रो ।
दिवङ्गतको कुरा छाडौँ, कतिपय जीवितकै जीवनी लेख्नुपर्दा ठूलै अभावको सामना गर्नुपर्छ । वास्तवमा कलालेखन सजिलो छैन । सहज सुविधा केही उपलब्ध छैन । लेखनको रुखो विधा यो स्वयम् कलाकारहरूकै चासोको विषय अन्तर्गत पर्दैन । अरूका लागि पनि झन् खासै रुचिको विधा र विषय यो होइन ।
हुनसम्मको सास्तीपछि बल्ल पुस्तकले अन्तिम आकार लिँदै गर्दा ‘रिजलुसन’ भएको तस्बिरका लागि अर्को तनावको सामना गर्नुपर्यो । ‘लौ न छिटो गरिदिनुप¥यो । अझै आएन ।’ भन्दै अनेकौँ पटक अनुनय–विनय गर्दागर्दै थाकेका ओँठमुखहरू । सुस्केरा र सास्तीका कठिनतम् दिनहरू कति हो कति !
केही कलाकारहरूले खासै चासो दिएको हैन । टेरपुच्छर नलगाउनेहरूको पनि आखिर राख्नु त परिगयो । त्यसका लागि पनि कति दुःख पाइयो । पर्खाइ र दुखाइहरूको अलग्ग पाटो छ ।
अन्ततः जब १२५ कलाकारहरूको जीवनी लिएर पुस्तक छापियो अनि प्रतिक्रियाको प्रहार सुरु भयो । कसैले भने– ‘मेरो परिचय नै अधुरो रहेछ ।’ कोही भन्छन्– ‘तस्बिरहरू त्यत्तिका दिएथेँ तर एउटामात्रै छापियो नि !’
कसैको प्रतिक्रिया ‘मेरो कामभन्दा फलानोको काम कमजोर छ । मभन्दा ऊ जुनियर हो । मैले जति काम अरूले गरेकै छैन । तर मलाई दुई पन्नामै टुङ्ग्याइएछ । मेरो लामो साधना र सिर्जनाको सही मूल्याङ्कन यो होइन । मेरो खास चिनारी नै आएन ।’
यस्ता प्रहारका प्रकम्पनअघि पुस्तकमा हौस्याउने शब्दावली पनि छन् । जस्तै–‘कलालेखक एवम् साहित्यकार ज्ञानेन्द्र विवशद्वारा लिखित पुस्तक ‘प्रतिनिधि नेपाली कलाकार’ मा लेखकले ललितकलाका विभिन्न विधामा सक्रियरत् नेपाली कलाकारहरूका परिचयात्मक वृत्तान्तसहित तिनका कृति एवम् कलाशैलीलाई सचित्र रूपमा समेटेका छन् ।
यस पुस्तकको प्रकाशनले हाम्रा कलाकारहरूप्रति सम्मानको भाव जगाउँदै कला अभिलेखन सम्बन्धी कार्यलाई स्थापित गर्न सघाउ पु¥याउने विश्वास प्रतिष्ठानले लिएको छ । समकालीन नेपाली कला र कलाकारहरूबारे बुझ्न चाहने नेपाली भाषी पाठकहरूको जिज्ञासालाई यस पुस्तकले निकै हदसम्म सघाउ पुर्याउने विश्वास लिन सकिन्छ ।’ भनी पुस्तक प्रकाशक नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्राक्कथनमा उल्लेख गरेको भनाइ पनि यहाँ मननीय लाग्छ ।
सो प्रतिष्ठानका तत्कालीन कुलपति के. के. कर्माचार्यले शुभकामना मन्तव्यमा भनेका छन्– ‘प्रतिष्ठानले नेपाली ललितकलाको अभिलेखन कार्यको आवश्यकता र महत्वलाई मनन गर्दै सो कार्यको थालनी गरेको छ । यस किसिमका कार्यले नेपाली कला लेखनको इतिहासको अध्यायमा ठूलो टेवा पुर्याउने मैले विश्वास लिएको छु । यही सिलसिलामा कलासमीक्षक एवम् साहित्यकार ज्ञानेन्द्र विवशले नेपाली कलाकारहरूका जीवनी र तिनका कला रचनालाई समकालीन समाजमा स्थापित गराउने उद्देश्यले ‘प्रतिनिधि नेपाली कलाकार’ शीर्षकको यो पुस्तक लेख्नुभएको छ । लेखकको यो प्रयास अति सराहनीय छ । नेपाली कलाकारका जीवन र कला पक्षमाथि प्रकाश पारिएका सामग्रीहरूको अभाव खड्किरहेको परिप्रेक्ष्यमा यस पुस्तकले सो अभावलाई निकै हदसम्म पूरा गर्नेमा कुनै शङ्का रहँदैन । यो सार्थक प्रयासका लागि म मित्र ज्ञानेन्द्र विवशलाई हार्दिक धन्यवाद र बधाई दिन चाहन्छु ।’
कुलपतिले भने झैँ वास्तवमा पुस्तकले जीवित नेपाली कलाकारहरूबारे अभिलेखन गर्नमा मद्दत पुर्याउने छ भन्ने विश्वास लिन सकिन्छ । प्रतिनिधि नेपाली कलाकारको सचित्र चिनारी समेटिएको यस पुस्तकले वर्तमान र भावी पुस्तालाई समेत पर्याप्त जानकारी दिन मद्दत पुर्याउने छ । निकै मिहिनेत गरी तयार पारिएको यो गहकिलो पुस्तकको प्रकाशनको अभिभारा प्रतिष्ठानले लिन पाएकोमा प्रतिष्ठानलाई अपार हर्ष लागेको पनि कुलपतिको मन्तव्यमा उल्लेख छ ।
हुन त यो पुस्तक कुलपतिकै स्वीकृत परियोजनाअन्तर्गत अनुमोदन र सम्झौता भई प्रकाशित भएको हो । एकहजार मूल्य रहेको पुस्तकको कागज म्याटफिनिस आर्ट पेपर र साइज १८०/२५० मि.मि. रहेको छ ।
वरिष्ठ कलाकार शशीविक्रम शाहले पुस्तकको भूमिका लेखनमा लेखेका छन्–‘यो पुस्तक समकालीन नेपाली कलाकारहरूको इतिहास हो । यस पुस्तकमा पहिलेदेखि काम गर्दै आइरहेका तथा हाल काम गर्न छाडिसकेका तर नेपाली कलामा उनीहरूले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै तिनको बारेमा पनि चर्चा गरिएको छ । सम्भवतः एउटै पुस्तकभित्र यति धेरै कलाकारलाई समेटेर लेखिएको साइज र आकारका दृष्टिले पनि यो नै पहिलो पुस्तक हो ।’
शाह अगाडि लेख्छन्–‘आजभन्दा पाँच दशक अगाडि नारायणबहादुर सिंहले ‘नेपाली चित्रकार’ शीर्षकको पुस्तक लेखेका थिए । त्यो बेला नेपाली कलाजगत्मा सक्रिय कलाकारहरू निकै सीमित सङ्ख्यामा थिए । आजको तारिखसम्म आइपुग्दा त्यो सङ्ख्या आशातीत रूपमा बढिसकेको छ । यसबीच नेपाली कलाका क्षेत्रमा अनेकौँ परिवर्तन भइसकेका छन् । अपितु कलाकारहरूका बारे कुनै चिनारी र अभिलेख राख्ने कार्य हुन सकिरहेको थिएन ।’
जे होस्, धेरै सुख र दुःखका कुइनेटाहरू कटेपछि प्रतिनिधि नेपाली कलाकारहरूको जीवनी पुस्तक निस्किएको छ । यस किसिमको जीवनीमूलक पुस्तकको नितान्त अभाव रहेको परिप्रेक्ष्यमा कलाप्रति रुचि राख्ने पाठक तथा कलाका विद्यार्थीहरूका लागि प्रस्तुत पुस्तक सहयोगी रहने छ भन्ने अपेक्षा पनि मैले राखेको छु ।