ऋतु आशिक | साहित्य | भदौ १५, २०८१
भर्खरै सोभियत संघ
आफ्ना खोकिलाबाट आफन्तहरु
गुमाउँदै थियो ।
तिमीले उफ्री–उफ्री चिच्याई–चिच्याई
भनिरहेका थियौ ।
मार्क्सवादले आफ्नो अस्तित्व गुमाइसक्यो ।
माक्र्सवाद सधैंका लागि नामेट भैसक्यो ।
मार्क्सवादको सन्दर्भ सकियो भन्दै थियौ ।
संसारको ऐश–आराम, वैभव,
केही मुठ्ठी भरको हातमा परे पछि
संसारको बहुसङ्ख्यक जनताका हातबाट
सम्पत्ति खोसिएर,
केही मुठ्ठी भर व्यक्तिको अग्राधिकार भएपछि–
मान्छे–मान्छेमा
होचो–अग्लोका नीति लादिएपछि
वालस्ट्रिट आन्दोलन
विभिन्न प्रारुपमा उठेको छ ।
कसले रोक्न सक्छ ?
आवाज चारैतिर उठिरहेको छ ।
वालस्ट्रिट कब्जा गर ।
वालस्ट्रिट कब्जा गर ।
तिमी भन्थ्यौ–
'हामी सम्भयताको अन्तिम बिन्दुमा बसेका छौँ'
आफूभन्दा मुन्तिरकालाई
के पो गरेनौ र ?
ऋण तिर्न नसकेर,
पुलिस लगाएर,
घरबाट घोक्रेठ्याक लगायौँ ।
बहुसङ्ख्यकलाई गोली र बारूदले
जवाफ दिएपछि–
न्यूयोर्कबाट उठेका आगोका लप्काहरु
‘वालस्ट्रिट कब्जा गर’ आन्दोलनमा
संसारभरिका सयौँ देशमा
१५ सयभन्दा बढी शहरमा फैलिरहेको छ ।
अझ झन्–झन् बढी रुपमा फैलिरहेको छ ।
अझ झन्–झन् बढी रुपमा फैलिरहेको छ ।
तिमीले चाहेर पनि
तिमीले नचाहेर पनि
दबाउन खोजे पनि त्यो दिदैन ।
‘वालस्ट्रिट कब्जा गर’
संसारभरि मुखरित भएको छ ।
देख्यौ ?
तिमी भन्दै थियौ नि
मार्क्सवादको सन्दर्भ सकियो भनेर
उफ्री–उफ्री लेनिनको सालिक ढाल्दै थियौ नि ?
अब के भन्छयौ ?
युद्ध हो युद्ध !
युद्धमा कहिले माक्र्सवादका अध्येताहरु
तलवितल पर्न सक्छन् ।
हो ! तल वितल पर्न सक्छन् ।
माक्र्सवाद फेरि पनि
वालस्ट्रिट आन्दोलनमा रुपान्तरित भएको छ ।
माक्र्सवादले फेरि पनि
अमेरिकाको लिवर्टी स्क्वायरबाट
वालस्ट्रिट कब्जा गर शङ्खघोष गर्दै
आफ्नो यात्रा प्रारम्भ गरेको छ ।
सोभियतसंघको पतन
त्यो सुनियोजित नियति थियो ।
गल्ती र स्वार्थको भण्डार थियो ।
पतनको ऊर्जा बोकेर,
हामी फेरि सङ्गठित भयौँ ।
कम्युनिष्टहरु कालजयी हुन्छन्
यसपटक हामी फेरि–
न्यूयोर्कको लिवर्टी स्क्वायर हुँदै –
संसारभरि छरिएका छौँ ।
हामी अप्ठ्यारोमा पनि
आफूलाई अनुकूल बनाउँछौँ ।
कुनै यस्तो दुर्ग छैन
जो हामीले विजय गर्न नसकौँ ।
हो ! हामी गर्वका साथ भन्छौँ –
'हामी सोभियतसंघकै
बोल्शेभिक कम्युनिष्ट हौ ।'
हामी तिम्रै पुँजीवादीको
चकाचौध बगैँचामा छिरेका छौँ ।
रोक्न सक्छौ भने रोक ।
तिम्रा स्वार्थका प्रतिकूलतामा
हामी आफ्ना अनुकूल रोप्ने छौँ ।
बुझ्नेले बुझे हुन्छ,
कम्युनिष्ट भनेको बीऊ हो बीऊ
जहाँ जस्तो ठाउँमा पनि
उम्रिन जानेको हुन्छ ।
कम्युनिष्ट भनेको चीडको बोट हो ।
अक्कर र भीर पाखामा
अटलतापूर्वक अडिन जानेको हुन्छ ।
सहयोद्धाहरु हो !
उठ ! लम्क र चारैतिर फैल !
अमेरिकाका राता मान्छेहरु !
म गर्वानुभूति महसुस गरिरहेको छु ।
पतनको भासबाट आफूलाई सच्याउँदै,
ऊर्जा समेटेर उठेका छौ ।
म शङ्खघोष गर्दै भन्छु
हो ! माक्र्सवादले फेरि नयाँ चरणमा
आफ्नो यात्रा प्रारम्भ गरेको छ ।
हो ! माक्र्सवादले फेरि नयाँ चरणमा
आफ्नो यात्रा प्रारम्भ गरेको छ ।
(१७ सेप्टेम्बर २०११/केही अमेरिकीहरु न्यूयोर्कको म्यानहटन स्थित लिवर्टी स्क्वायरमा भेला भएर घोषणा गरे– हामी वालस्ट्रिट कब्जा गर्न आएका हौँ । यस आन्दोलनमा अमेरिकाका प्रसिद्ध विद्वान् तथा पूँजीवादका आलोचक नोम चोमस्कीले ऐक्यवद्धता सन्देश पठाए । चलचित्रकर्मी माइकल मुरत उनीहरुसँग केही घण्टा आन्दोलनमा सहभागी भए । सर्वसाधारण मजदुरहरु गृहिणीहरू, शिक्षक, विद्यार्थी, आप्रवासीहरु आन्दोलनको वरपर जम्मा हुन थाले । अहिले विश्वका सयभन्दा बढी देशमा १५ सयभन्दा बढी शहरहरुमा विस्तारित भएर गइरहेको छ । जर्ज वुश र ओवामाद्वारा दुवैले ८०० अर्व डलरको उद्धार सहयोग ऋणको रुपमा उपलब्ध गराए । जसले ठग्यो उसले क्षतिपूर्ति पायो ।)