भारतीय अलराउन्डर युवराज सिंहद्वारा इन्टरनेसनल क्रिकेटबाट सन्यास

भारतीय अलराउन्डर युवराज सिंहद्वारा इन्टरनेसनल क्रिकेटबाट सन्यास
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ २७, २०७६

नयाँ दिल्ली । सिक्सर किंग’का रूपमा चिनिने भारतीय अलराउन्डर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

उनले सोमबार पत्रकार सम्मेलनमार्फत् सन्यासको घोषणा गरेका हुन् ।

सन् २०११ मा टिमलाई एकदिवसीय विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका सिंहले लामो समयदेखि राष्ट्रिय टिमबाट खेल्न पाएका थिएनन् ।

सन्यास घोषणामा भावुक

सन्यास घोषणाका क्रममा उनी भावुक देखिएका थिए । उनले भने, ‘क्रिकेटको २५ औं तथा अन्तर्राष्ट्रिय क्रिकेटमा १७ वर्षको उतारचढावपछि मैले अगाडि बढ्ने फैसला गरेको छु ।’

उनले क्रिकेटबाट आफूले धेरै कुरा सिकेको बताएका छन् । ‘यो खेलले मलाई धेरै कुरा सिकाएको छ, जस्तो : कसरी लड्ने तथा लडेपछि पुन कसरी उठ्ने र अगाडि बढ्ने,’ उनले भने ।

उनले २०११ को विश्वकप जितेर बुबाको सपना पूरा गरेको बताए ।

यस्तो छ प्रदर्शन

उनले भारतका लागि ४० टेस्ट, ३०४ एकदिवसीय र ५८ टि–ट्वान्टी खेलेका छन् । उनले टेस्टमा १ हजार ९ सय, एकदिवसीयमा ८ हजार ७ सय १ र ११ टि–ट्वान्टीमा १ हजार १ सय ७७ रन बनाएका छन् । यस्तै, टेस्टमा ९, एकदिवसीयमा १११ र टि–ट्वान्टीमा २८ विकेट लिएका छन् ।

सन् २००७ को टि–ट्वान्टी विश्वकपमा उनले इग्ल्याण्डका तीव्र गतिका बलर स्टुअर्ट ब्राडविरुद्ध एक ओभरमा ६ छक्का प्रहार गरेका थिए । यसपछि उनले ‘सिक्सर किंग’को उपमा पाएका छन् ।