पाकिस्तानको सिन्ध प्रान्तका ६ सय बालबालिका एचआइभी संक्रमित

आधाभन्दा बढी बिरामीले उचित उपचार पाएनन् : डब्लुएचओले

पाकिस्तानको सिन्ध प्रान्तका ६ सय बालबालिका एचआइभी संक्रमित

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ २७, २०७६

कराँची । पाकिस्तानको सिन्ध प्रान्तका ६ सयभन्दा बढी बालबालिकामा एचआइभीको संक्रमण रहेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सिन्धको लरकाना सहरका ७५१ व्यक्तिमा एचआइभी संक्रमित रहेको पाइएको छ, जसमा ६०४ बालबालिका छन् । ती बालबालिका २-५ वर्षका छन् ।

एचआइभी संक्रमित भएका आधाभन्दा बढी बिरामीको उचित उपचार हुन नसकेको डब्लुएचओले जनाएको छ । असुरक्षित रूपमा रगत दिँदा र सुई प्रयोग गर्दा ती बालबालिकामा संक्रमण देखिएको स्वास्थ्य अधिकारीको आशंका छ ।

जानाजान संक्रमण फैलाएको आरोपमा मुजफ्फर घाँगरो नामका डक्टरलाई गिरफ्तार गरिएको छ । तर, डब्लुएचओको टिमले आरोपी डक्टरले संक्रमण जानाजान नफैलाएको तर यसमा उनको महत्वपूर्ण भूमिका रहेको बताएको छ ।

एचआइभी संक्रमण बढेपछि पाकिस्तान सरकारले उपचारका लागि डब्लुएचओको टिमलाई बोलाएको थियो । डब्लुएचओका अनुसार अझै ३२४ बिरामीको उपचार हुन सकेको छैन ।

यो समाचार पेट्रबाट साभार गरिएको हो ।