गर्मीका कारण नगरभरिका विद्यालय बन्द

गर्मीका कारण नगरभरिका विद्यालय बन्द

लोकसंवाद संवाददाता  |  शिक्षा  |  जेठ २८, २०७६

कैलाली । अत्यधिक गर्मीका कारण कैलालीको टीकापुर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरिएको छ ।

 गर्मीका कारण अध्ययन अध्यापनमा समस्या हुन थालेपछि विद्यालय बन्द गर्ने निर्णय  गरिएको हो । 

 टीकापुर नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय प्रशासन, प्रधानाध्यापक र सरोकारवाला निकायसँग छलफल गरी जेठ ३२ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावलले अत्यधिक गर्मीका कारण चार दिनमा लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको बताउनुभयो । 'गर्मी अत्यधिक भएर विद्यार्थीको पठनपाठनमा समस्या हुन थालेपछि हामीले सरोकारवाला निकायसँग छलफल गरी चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ', रावलले भन्नुभयो । 

टीकापुर नगरपालिकाभित्र सामुदायिक तथा संस्थागत गरी ७२ वटा विद्यालय रहेका छन् । अत्यधिक गर्मीका कारण दिउँसोको समयमा जनजीवन प्रभावितमात्र होइन पढाइमा कठिर्ना  भइरहेको  थियो ।