घर पुरिएको २४ घण्टासम्म प्रहरी र  जनप्रतिनिधि रमिते, स्थानीयद्वारा तीन जनाकाे शव निकाल्दै

घर पुरिएको २४ घण्टासम्म प्रहरी र  जनप्रतिनिधि रमिते, स्थानीयद्वारा तीन जनाकाे  शव निकाल्दै

रिकेश बिश्वकर्मा(क्षितिज)  |  समाचार  |  असोज १३, २०८१

काठमाडौँ ।घरमाथि पहिरो खस्दा सिन्धुपाल्चोकका एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

पहिरोले पुरिएका लिसङ्खुपाखर गाउँपालिका ३, गुरुङमाराङ टोलकी २६ वर्षीय तृसना मोक्तानसहित दुई नाबालक छोराछोरीको मृत्यु भएको हो । 

हिजो असोज १२ गते बिहान छोराछोरीसँग घरभित्र बसिरहेको बेला घरमाथिको सडकको डिल भत्किएर मोक्तानको घर पुरेको थियो ।

उद्धार टोलि नआएपछि स्थानीयहरुको सहयोगमा  हिजो बेलुकासम्म खोज्दा छोराको शव फेला पारेको थियो  । आज बिहान आमा र छोरीको शव भेटिएको स्थानीय उत्तर बहादुर विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माका अनुसार घटना लगत्तै प्रहरी र जनप्रतिनिधिलाई फोन गरेर जानकारी गराए पनि अहिलेसम्म कोही आइपुगेका छैनन् । 
स्थानीयको सहयोगमा आज बिहानसम्म आमा र छोराछोरीको शव निकालिएको हो ।

तृसना चौरीदेउराली गाउँपालिका-१ को श्री तार लामो आधारभूत विद्यालयको शिक्षिका समेत हुन् ।