आधुिनक सूचना प्रणालीका कारण हुलाककाे आकर्षण हट्दै

आधुिनक सूचना प्रणालीका कारण हुलाककाे आकर्षण हट्दै

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ २८, २०७६

सिरहा । सूचना प्रविधिको विकाससँगै सञ्चारका अन्य सुविधा उपलब्ध भएका कारण जिल्लाका ग्रामीण भेगमा हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दै गएको छ । 

गाउँगाउँमा सिडिएम फोन, मोबाइल तथा इमेल इन्टरनेटको सुविधा पुुगेपछि सञ्चारको पुरानो र भरपर्दो माध्यम रहेको हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दै गएको हो ।

 टेलिफोन, फ्याक्स, इन्टरनेट तथा मोबाइलबाट छिटो र भरपर्दो रुपमा एक ठाउँबाट खबर अर्को ठाउँमा सजिलै पुग्ने भएपछि हुलाकबाट खबर आदानप्रदानका लागि पत्र पठाउनेको सङ्ख्या घटेको छ । 

विभिन्न रोजगारीका क्रममा देशविदेशमा रहेका आफन्तसँग सम्पर्क गर्न एक दशकअघि हुलाको विकल्प थिएन तर अहिले एक मिनेट मै गाउँको खबर आफन्तसम्म पुर्‍याउन सकिने सुविधा भएकाले हुलाक सेवाप्रतिको आकर्षण घट्दै गएको लक्ष्मीपुर पतारीका स्थानीयवासी विनोदकुमार चौधरीले बताउनुभयो । कम्प्युटर चलाउन जान्ने र इमेल इन्टरनेटको सुविधा भएकाले अत्याधुनिक सञ्चार प्रविधि इमेलमार्फत खबर आदाप्रदान गर्न थालेका उहाँले बताउनुभयो । 

चौधरीका अनुसार टेलिफोन सुविधा नभएका गाविसका बासिन्दा प्नि हुलाक सेवाको प्रयोग गर्नभन्दा पायक पर्ने नजिकको ठाउँमा गएर टेलिफोन गर्न थालेपछि हुलाक सेवाको प्रयोगकर्ता ह्वातै घटेको छ । हुलाकमार्फत फाटफुट केही सरकारी चिठी पत्र पठाइए पनि सर्वसाधारण भने हुलाक सेवाको प्रयोग निकै घटेको हुलाकका कर्मचारीले  बताउँने गरेका छन ।