बञ्चरेडाँडाको सपना अधुरै

बञ्चरेडाँडाको सपना अधुरै

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ २८, २०७६

धादिङ ।  सरकारले धादिङ र नुवाकोटको सीमामा पर्ने बञ्चरेडाँडामा काठमाडौँको फोहर व्यवस्थापन (डम्पिङ साइट) स्थायीरुपमा गर्ने भनेको १० वर्ष बित्न लाग्दा पनि अझै बन्न सकेको छैन ।
 पहिले नुवाकोट ककनी गाउँपालिका–२ सिसडोल र विसं २०६२ मा वडा नं ३ ओखरपौवामा अस्थायी फोहर फाल्ने र त्यसको तीन वर्षपछि धादिङको धुनेवेशी नगरपालिका–१ स्थित बञ्चरेडाँडामा स्थायीरुपमा फोहर फाल्ने संरचना बनाउने भने तापनि अझै बनेका छैनन् । 

बञ्चरेडाँडामा स्थायी संरचना बनाउन नसक्दा अव्यवस्थित फोहर व्यवस्थापनले गर्दा त्यहाँका बासिन्दाको जीवनयापन कष्टकर बन्दै गइरहेको छ । 

फोहर व्यवस्थापनका लागि सरकारले उक्त ठाउँको एक हजार ७८१ रोपनी जमीन अधिग्रहण गरे पनि स्थायी संरचना अझै तयार पारेको छैन । ती अधिग्रहण गरिएको जग्गाको मुआब्जासमेत सरकारले दिइसकेको छ । असारसम्म बञ्चरेमा स्थायी संरचना बनाएर फोहरलाई व्यवस्थापन गर्ने भने तापनि अझै बनेको छैन । 

उक्त ठाउँमा काठमाडौँको फोहर ५० वर्षका लागि व्यवस्थापन गर्न सकिने आंकलन छ । शुरुमा काठमाडौँ महानगरपालिकाको फोहर फाल्ने भने पनि पछि उपत्यकाका १८ वटा स्थानीय तहका फोहर फाल्न थालिएको हो । सरकारले पाँच वर्षभित्र स्थायी संरचना बनाएर फोहर व्यवस्थापन गर्ने भने पनि अहिलेसम्म नबनाएकाले जनजीवन कष्टकर बनेको धुनेवेंशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताउनुभयो । 

उक्त ठाउँमा विसं २०६२ देखि काठमाडौँ उपत्यकाको फोहर फाल्ने गरिएको छ । दुई वर्षमा अस्थायीरुपमा ककनीको ओखरपौवा र सिसडोलमा फोहर फाल्ने र त्यसपछि तीन वर्षमा बञ्चरेडाँडामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्वाधार निर्माण गरी फोहर व्यवस्थापन गर्ने भनिएकामा १० वर्ष बित्न लाग्दा पनि अझै संरचना तयार पारिएको छैन । 'स्थायीरुपमा फोहर व्यवस्थापनका लागि अझै काम शुरु गरिएको छैन', उहाँले भन्नुभयो, 'अस्थायीरुपमा फोहर व्यवस्थापन गर्नाले यहाँका मानिसको स्वास्थ्यमा असर परिरहेको छ ।' यही असारसम्म स्थायी संरचना बनाउने प्रतिबद्धता गरे पनि त्यो पूरा नहुने देखिन्छ । अहिले रहेको अस्थायी व्यवस्थापन ककनीमा गरिएको छ । ककनीको ओखरपौवामा रहेको अस्थायी फोहरले धादिङका जनता बढी मारमा परेका छन् । उक्त क्षेत्रका बाटोमा हिँड्दा फोहरको दुर्गन्ध आउने गर्दछ । गिद्ध, चिल र कागले फोहर टिपेर मानिसका घरघरमा पुर्‍याउने गरेको नगर प्रमुख आचार्यले बताउनुभयो । यस्तै फोहरको लेदो बगेर खोलामा मिसिन्छ । 

उक्त खोलाको पानी न गाईबस्तुलाई खुवाउन हुन्छ न खेतमा हाल्नका लागि । खोलाको पानी गाईवस्तुले खाए पनि मर्ने र खेतमा हाल्नाले बालीसमेत मर्ने गरेको उहाँ बताउनुहुन्छ । बञ्चरेडाँडामा बन्ने स्थायी फोहर व्यवस्थापनबाट फोहरबाट मल बनाउने, ग्यास निकाल्न सकिने भए पनि अझसम्म कुनै ध्यान जान सकेको छैन । ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले दुई वर्षका लागि फोहर फाल्न भनिएको ठाउँमा १० वर्षसम्म पनि फाल्ने गरेको बताउनुभयो । 'दुई वर्षका लागि भनिएको ठाउँमा अझै पनि फोहर फालिँदैछ' , उहाँले भन्नुभयो, 'फोहरको दुर्गन्धले गर्दा स्थानीयवासी आफ्नो बासस्थान छाडेर अन्यत्र जान थालेका छन् । चाँडोभन्दा चाँडो बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्नुपर्दछ ।' उहाँका अनुसार फोहर गर्दा दक्षिणतर्फका मानिस बढी प्रभावित भएका छन् । गाउँपालिका अध्यक्ष लामाले सिसडोल र ओखरपौवाका २५ जनालाई त्यहाँको फोहरले क्यान्सर रोगसमेत लागेकाले गाउँपालिकाबाट उपचार खर्च दिएको जानकारी गराउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पप्रसाद कँडेलले स्थायी संरचना बनाउने प्रक्रिया शुरु गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार विदेशबाट कारखाना ल्याई मल, ग्यास बनाइने छ । 'प्लान्ट बनेपछि यहाँका जनतालाई पनि सहज हुनेछ', उहाँले भन्नुभयो, 'केही वर्षका लागि काठमाडौँको फोहर व्यवस्थापन गर्न सकिन्छ ।' अधिग्रहण गरिएको जग्गामा फोहर व्यवस्थापन ९डम्पिङ साइट० बनाउनेमा भेदभाव गरिएको छ । ओखरपौवा र सिसडोलमा दुई वर्ष फोहर व्यवस्थापन गर्ने र त्यसपछि बञ्चरेडाँडामा स्थायी बनाउने सहमति भएको थियो । ओखरपौवा र सिसडोलमा फोहर भरिए पनि स्थायी व्यवस्थापन बनिनसकेकाले ती दुई स्थानमा डोजरले माथि पुर्‍याइ फोहर राखिएको छ । 'स्थायी संरचना बनाउनुको सट्टा ओखरपौवा र सिसडोलमा फोहरलाई कोचीकोची राख्ने गरिएको छ', नगरप्रमुख आचार्यले भन्नुभयो, 'फोहरलाई जबर्जस्ती व्यवस्थापन गर्नुको साटो चाँडो स्थायी संरचना बनाएर फाल्नुपर्दछ । स्थायी संरचना बनेपछि फोहरबाट कुनै दुर्गन्ध निस्कँदैन ।' 

यसैगरी ओखरपौवा र सिसडोलका क्षेत्रको फोहरदेखि ५०० मिटरसम्मका जग्गा अधिग्रहण गरिएको छ भने धादिङको बञ्चरेडाँडाका स्थानीयवासीको भने २०० मिटर क्षेत्रसम्मको जग्गामात्र अधिग्रहण गरिएको छ । धुनेवेंशी नगरप्रमुख आचार्यले अतिक्रमण गर्ने क्रममा आफूहरुलाई भेदभाव गरिएकोसमेत बताउनुभयो । अहिले बञ्चरेडाँडामा स्थायी फोहर व्यवस्थापन नगरेर ओखरपौवा र सिसडोलका क्षेत्रलाई नै बढाएर फोहर फालिएको उहाँले बताउनुभयो । 'हामीले बारम्बार अनधिकृत गरिएको बञ्चरेडाँडामा स्थायी संरचना बनाउने भनेका छौँ', उहाँले भन्नुभयो, 'तर सरकारले सुनेको नसुनेको जस्तै ओखरपौवा र सिसडोल क्षेत्रको जग्गामाथिसम्म बढाएर अनधिकृत जग्गा बढाएर फोहर फालेको छ ।' फोहर फाल्ने ठाउँमा सरकारले त्यहाँका जनतालाई स्वास्थ्य उपचार गर्नका लागि स्वास्थ्य चौकी, एम्बुलेन्स, पशु बीमा, बाली बीमा जस्ता कार्यक्रम ल्याउने भने तापनि अझै दिएको छैन । नगर प्रमुख आचार्यले नगरपालिकाको पहलमा त्यहाँका जनताका लागि स्वास्थ्य चौकी स्थापना गर्न थालिएको जानकारी गराउनुभयो । 

धुनेवेंशी नगरपालिका–१ का वडाध्यक्ष चन्द्र तामाङले फोहरका लागि अधिकरण गरिएको बञ्चरेडाँडामा डम्पिङसाइट चाँडै बनाएर स्थानीयवासीलाई फोहरको दुर्गन्धबाट बचाउनुपर्ने बताउनुभयो । उहाँले काठमाडौँको फोहरले धुनवेंशीका जनताले दुर्गन्धितमा बस्नुपरेको बताउनुभयो । यस्तै सरकारले आफू जग्गा अधिग्रहण गरे पनि त्यसको मुआब्जासमेत १०० घरपरिवारले नपाएको उहाँले जानकारी गराउनुभयो । यसैगरी ककनी गाउँपालिकाका अध्यक्ष लामाले सहमतिअनुसार अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिएको बताउनुभयो । उहाँका अनुसार अधिग्रहण गरिएका जग्गा फोहरले बस्न नसकेकोपछि स्थानीयले त्यतिकै छाडेरसमेत गएको समाचार राससका लागि शरद शर्माले लेख्नु भएको छ ।