भिडन्तका बिच पूर्वराष्ट्रपति जर्दारी पक्राउ

भिडन्तका बिच पूर्वराष्ट्रपति जर्दारी पक्राउ

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ २८, २०७६

इस्लामावाद ।  पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई २०७६ जेठ २७ (जुन१०) सोमबार प्रहरीले पक्राउ गरेको छ ।

 उच्च ओहोदाको व्यक्तिको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा आरोपित जर्दारीलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
 जर्दारीले भने आफुमाथि लगाइएको आरोपको खण्डन गर्नुभएको छ । 

हत्या गरिएका पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोका श्रीमान् जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बन्नुभएको थियो । जर्दारीलाई पक्राउ गर्ने बेलामा प्रहरी र उहाँका समर्थकहरुबीचमा केहीबेर सानो खालको झडप समेत भएको थियो ।

जर्दारी पाकिस्तान पिपल्स पार्टीका नेता समेत हुनुहुन्छ । पटक पटक विवादित बन्दै आउनुभएका जर्दारीलाई यसअघि भ्रष्टाचार सम्वन्धी मुद्दाकै विषयमा ११ बर्षको जेल सजाय सुनाइएको थियो ।

 पाकिस्तानका अर्का पूर्वप्रधानमन्त्री नवाज सरिफ पनि भ्रष्टाचारको अभियोगमै सात बर्षे जेल सजाय भोगिरहनु भएको छ ।