नीलहरि सुवेदीको भाव मञ्जरीर मुकुन्द पौडेलको मन मूर्च्छनामाथिको घोत्ल्याइँ

पुस्तक समीक्षा

नीलहरि सुवेदीको भाव मञ्जरीर मुकुन्द पौडेलको मन मूर्च्छनामाथिको घोत्ल्याइँ

हरिविनोद अधिकारी  |  साहित्य  |  मंसिर ०८, २०८१

१. नीलहरिसुवेदीको भावमञ्जरी

कवि नीलहरि सुवेदीको १०६ ओटा कविताहरुको संग्रह हो भावमञ्जरी । विभिन्न कालखण्डमा विभिन्न  विषय र शीर्षकमा रचिएका कविताहरुको संग्रह २०८१सालमा नै प्रकाशित भएको हो । आठ दशकको जीवनमा करिब चार दशक त राष्ट्र सेवामा नै समर्पण गर्नु भएका कवि सुवेदीको यो पहिलो कृति हो । उहाँका कविताहरूले इतिहासको पनि काम दिन्छन् किनभने अनवरत आफ्नो दैनिकी लेख्ने र दैनिकीका रुपमा नै आत्मरतिका लागि कविता लेख्ने बानीले नै यो पहिलो संग्रह हाम्रा माझमा आएको कुरा उहाँका सुपुत्रहरु नीरज सुवेदी र निश्चल सुवेदीको भनाइले पनि स्पष्ट पारेको छ । 

जुनसुकै बेलामा पनि आफ्ना डायरीमा कविता लेख्ने बानी रहेछ कवि सुवेदीको । उहाँले स्वतःस्फूर्तरुपमा लेखेका कविताहरुका विषयहरु पनि विविध छन् समसामयिक विषयहरुमा केन्द्रित ।उहाँ आफ्नो भनाइमा भन्नुहुन्छ- मनमा उर्लेका विचारकाक ज्वारभाटा, कल्पनाको बाढी र भावनाका लहरहरूलाई कवितात्मक शैलीमा लिपिबद्ध गरेर पाठकहरु सामु प्रस्तुत गर्ने मेरो इच्छा पहिलेदेखि नै थियो । माटो र जलको साथ नपाएसम्म बिउले अङ्कुरित हुने अवसर पाउँदोरहेनछ, समय र परिस्थितिले पनि साथ दिनुपर्दो रहेछ  । धेरै पहिलेदेखि नै मनमा आएका भावनाका लहरहरूलाई कापीका पानामा टिप्दै आएको थिएँ । त्यस्ता टिपोट धेरै भैसकेछन्, जसलाई पुस्तकाकार रुपमा प्रकट गर्ने प्रयास गरेको छु यसै कृतिमार्फत् । 

कविताका शीर्षकहरु विविधीकरण गरिएका छन् जसले उहाँका कल्पनाका भावलाई स्वतन्त्ररुपले समर्थन गरेका छन् । शीर्षकहरु कति स्वतन्त्ररुपमा चयन गरिएका छन् भने यस कृतिमा सार्थक जीवन, माया देऊ, गुरु, स्मरणशक्ति, योगको महत्व, के हो अलमल?, आमा भानुको सम्झना, धर्मको कुरा देखि कोरोना भाइरससमेतले ठाउँ पाएका छन् ।कविता लेख्न त छन्दमा लेख्न खोजिएको हो तर भावनालाई शब्दमा कुँद्दा धेरैजसो छन्दका नियमहरुभन्दा भावनाका बेगले उछिनेका पाइन्छन् ।कविहरु कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकति मोतीराम भट्ट, एसियाका ज्योति बुद्ध र श्रीकृष्ण पनि यिनै १०६ओटा कविताहरूमा समेटिएका छन् । 

मूलतः कवि सुवेदी समाज रुपान्तरणका लागि नैतिक बलको नै सहारा लिनु पर्ने देख्नुहुन्छ र उपदेशात्मक शैलीमा आफ्ना धारणा व्यक्त गर्न रुचाउनु भएको छ । सार्थक जीवन कवितामा भन्नुहुन्छ-मानव जीवन हो सुकर्म गर्दै उसले गरोस् उन्नति...अनि मात्र जीवन सार्थक भएको मान्ने कवि कोही किन बिग्रन्छ भन्ने कवितामा भन्नुहुन्छ- 

क्षणकाल विचारेर काम गर्न सके सधैँ
को पो बिग्रन्छ वास्तवमा आफ्नू शक्ति बुझे सधैँ
माछा पानीमा पौडिन्छ आफ्नू शक्ति भएजति
कोही बिग्रन सक्दै सत्यमा अडिग भएपछि .....

जीवनलाई सत्यको मार्गमा दौडाउन गाह्रो छ तर त्यसको विकल्प पनि देख्नुहुन्न । आदर्शवाद र यथार्थवादभित्र सबै कविताहरु डोरिएका छन् । कविता पढ्दै जाँदा ज्येष्ठ नागरिक सुवेदीजीमा युवा जोस पनि देखिन्छ र देश बनाउनका लागि योजना, जाँगर र अनवरत प्रयासको खाँचो कविताहरुका झल्किरहन्छन् । 

आठ दशकमा हिँडिरहँदा निस्किएको यो कृतिले अरु कृतिहरुको पनि प्रकाशन हुनसक्ने अनुमान गर्न सकिन्छ र यसमा परिवारको प्रेरणा पनि स्पष्ट झल्कन्छ । कविताहरु सरस छन् र समयको अन्तराललाई कविताहरुले देखाउँछन् । पठनीय संग्रहको कुनै मूल्य तोकिएको छैन र प्रकाशकमा पनि उहाँकै धर्मपत्नी रमा सुवेदी रहनु भएको छ । 

पुस्तकको नामः भावमञ्जरी कविता संग्रह(२०८१)
लेखकः नीलहरि शर्मा सुवेदी
प्रकाशकः रमा सुवेदी 

२. मुकुन्द पौडेलको  मनको मूर्च्छना 

मुकुन्द पौडेलको नाम साहित्यिक फाँटमा नौलो होइन । लामो समयसम्म आँखाको उपचारका लागि प्रशासनिक, नैतिक तथा प्रचारात्मक कार्यमा संलग्न वरिष्ठ समाजसेवी पौडेल कवि, गीतकार, मुक्तक सर्जकका रुपमा पनि सक्रियताका साथ लाग्नु भएको रहेछ ।  मूलतः कवि हृदयका मुकुन्द पौडेलको २०८०सालमा प्रकाशित ३४८ओटा मुक्तकहरुको सँगालो हो मन मूर्च्छना  । 

साहित्य समाजको दर्पण हो । त्यो समयको ऐतिहासिक पक्षलाई समाजको तत्क्षणको दर्पणको रुपमा  जसले भावनात्मक शैलीमा उतार्‍यो, त्यही व्यक्ति नै साहित्यकारको रुपमा समाजमा चिनिने हो । ३४८ओटा मनका मूच्र्छनामा कवि कतै मुर्मुरिन्छन्, कतै दिक्दार पाइन्छन् र कतै भने अत्यन्त आशावादी हुन्छन् र राष्ट्रप्रतिको मायालाई भने शिरोपर गरेर आफूलाई व्यक्त गरिरहेका पाइन्छन् । 

परिपक्व लेखनीले लेखिएका मुक्तकहरुले विभिन्न समयकालको सन्देश दिन पनि सफल छन् तर पनि मुलुकको विकासप्रति देखिएको अलमललाई अनेक कोणबाट कहिले व्यंग्य गर्छन् त कहिले उपदेश दिन पनि तम्सिन्छन् । 
समयको बारेमा कवि सबैलाई सचेत बनाउँदै भन्छन् :ः

जिन्दगी हो कहिले बाटो बिराउन नि सक्छ
सुख खोज्दा दुःख अझै , भिराउन पनि सक्छ
हिसाब किताब जिन्दगीकोा , साँच्चै बिग्य्रो भने 
एक्कैचोटि साँवा ब्याजै, तिराउन पनि सक्छ ....

मुक्तकहरुको सँगालो समसामयिक राजनीतिप्रतिको व्यंग्य सँगै आत्मनिर्भरताको शंखघोष पनि हो भन्ने मैले ठहर्‍याएँ । कविले राजनीतिका सक्रिय पात्रहरु नेताहरुलाई सचेत गराउँदै भनेका पनि छन्ः

अरु छाडी अब आफैँ बन्नतिर लागियो है
जे जे पर्छ व्यहोरौँला , भन्नेतिर लागियो है
अब हाम्रा नेताजीले, भन्न यति बाँकी त छ
आफैँलाई पुर्ने खाल्डो , खन्नेतिर लागियो है ....

मुक्तकमा नै रमाउने कवि पौडेल तर सचेत नागरिकमात्र नभई सरस हृदय भएका वंश सर्जक पनि हुन् । बालापनको सम्झनामा आजका बालकहरूको स्वच्छन्द जीवनको पनि खुलेर बयान गर्छन् :

साँच्चै राम्रो बेला रैछ, चुनुमुनु गर्छन्
नाचीनाच कम्मर भाँची छुनुमुनु गर्छन्
न त भोक, न त निद्रा, सबै भुलिहाल्ने
खेल्दै खेल्दै काखमा आई , ढुनुमुनु गर्छन् .....

कवि मुकुन्द पौडेल सरस र सहज जीवन बाँच्न चाहने सामान्य व्यक्तिको रुपमा आफूलाई प्रस्तुत गरेका छन् र पनि उनको महान विचारलाई भने हामीले मनन गर्नुपर्छ - त्यो हो राष्ट्रियता प्रतिको माया, आस्था र विकासको तीब्र चाहना, त्यो पनि आशावादी भएर । कविले बेलामौकामा लल्कार्नु भनेको सजग बनाउनु हो र सचेत बनाउने दायित्व पूरा गरेको ठान्नुपर्छ । 

पुस्तक पठनीय छ, संग्रहणीय छ र कविमा आएका भावनाले जीवन र जगतको परिभाषालाई पनि सरल तरिकाले पठनीय बनाएका छन् । कवि पौडेलका अन्य कृतिहरु पनि शीघ्र पढ्न पाइएला भन्ने अपेक्षा गरिन्छ । 
पुस्तकको नामः मनको मूर्च्छना (२०८०)
लेखकः मुकुन्द पौडेल
प्रकाशकः आवरण प्रकाशन, काठमाडौँ । 
मूल्य-रु. ३००।