एसिया प्यासिफिक स्तरीय एफआइए  एस्पोर्ट्स क्लस्टर प्रशिक्षणमा दुई नेपालीको सहभागिता

एसिया प्यासिफिक स्तरीय एफआइए  एस्पोर्ट्स क्लस्टर प्रशिक्षणमा दुई नेपालीको सहभागिता

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर १२, २०८१

 

नोभेम्बर २३ र २४ मा सिंगापुरमा सम्पन्न एसिया प्यासिफिक स्तरीय एफआइए  एस्पोर्ट्स क्लस्टर प्रशिक्षणमा नेपालबाट दुई अफिसियलहरूले भाग लिएका छन् । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का ई–स्पोर्ट्स कमिसनका सदस्य किरण धिताल र अङ्कित भण्डारीले यस ट्रेनिङमा नेपाललाई प्रतिनिधित्व गरे । 
अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (FIA) , मोटरस्पोर्ट्स अस्ट्रेलिया र मोटरस्पोर्ट्स सिंगापुरको सहकार्यमा आयोजित यो कार्यक्रम एसिया प्यासिफिक क्षेत्रको पहिलो ई–स्पोर्ट्स प्रशिक्षण कार्यक्रम हो ।

दुई दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा नेपाल, बंगलादेश, थाइल्याण्ड, मलेसिया, फिलिपिन्स, श्रीलंका, सिंगापुर, ताइवान, न्युजिल्यान्ड र अष्ट्रेलियाका प्रतिनिधिहरू सहभागी थिए । यस कार्यक्रममा क्षेत्रीय ई–स्पोर्ट्स प्रतियोगिताको सुदृढीकरण, अनुभव आदानप्रदान र एसिया प्यासिफिक नेटवर्क विस्तारमा केन्द्रित प्रशिक्षण प्रदान गरियो ।

कार्यक्रमका मुख्य प्रशिक्षकहरू अष्ट्रेलियाका डेविड मोरी र शुभ अग्रवाल थिए भने एफआइए ई– स्पोर्ट्स म्यानेजर एरिक स्ट्राने, एफआइए एसिया प्यासिफिक रिजनका उपाध्यक्ष लुंग नियन ली, एफआइए ई–स्पोर्ट्स कमिसन निरोशन परेरा र मोटरस्पोर्ट्स सिंगापुरका अध्यक्ष विन्सन ओउको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमले ई–स्पोर्ट्स प्रतियोगिताको आयोजना गर्ने तरिका, विभिन्न देशका चुनौतीहरू र क्षेत्रीय रूपमा मोटरस्पोर्ट्समा ई–स्पोर्ट्सको वृद्धि र प्रवर्द्धनका विषयमा गहन छलफल गर्यो‍ ।

नेपालको सहभागिताले  मोटरस्पोर्ट्सको नयाँ  विधा ई–स्पोर्ट्सको नेपालमा विकास हुनुका साथै मोटरस्पोर्ट्समा नेपालको  अझ बलियो सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।