भरतपुर अस्पतालले ३२ ज्येष्ठ नागरिकको घुँडाको जोर्नी फेर्‍यो

भरतपुर अस्पतालले  ३२ ज्येष्ठ नागरिकको घुँडाको जोर्नी फेर्‍यो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ २८, २०७६


चितवन । भरतपुर अस्पतालमा ३२ वटा जोर्नी प्रत्यारोपण गरिएको छ । घुँडाको १८ वटा र पुठोका १४ वटा प्रत्यारोपण गरिएको हो ।

 दुई वर्ष छ महीनाअघिदेखि अस्पतालमा जोर्नी प्रत्यारोपण शुरु गरिएको थियो ।   दिल्लीको एपोलो अस्पतालमा तीन महीनाको तालीम लिनुभएका भरतपुर अस्पतालका हाडजोर्नी विभागका प्रमुख डा. श्रवणकुमार थापाको नेतृत्वमा प्रत्यारोपणको काम भइरहेको छ ।

 थापाका अनुसार वृद्धावस्थामा खिइएर, बाथ, चोटपटक, हड्डीको क्षयरोगलगायतका कारण जोर्नीले काम नगरेपछि प्रत्यारोपण गर्ने गरिएको छ । निजी अस्पतालमा महङ्गो हुने भए पनि सरकारी अस्पतालमा कम मूल्यमा प्रत्यारोपणको काम हुने गरेको छ । 

शल्यक्रिया गरेर प्रत्यारोपण गर्ने काम महङ्गो नभए पनि परिवर्तन गर्ने जोर्नी महङ्गो हुने हुँदा खर्चिलो हुने गरेको हो । थापाका अनुसार घुँडा प्रत्यारोपण गर्दा  दुई लाख २० हजार र पुठोको एक लाख २० हजार रुपयाँ हाराहारी जोर्नी खरीद गर्न खर्च लाग्ने गरेको छ । 

घुँडाको अमेरीकाबाट र पुठोको भारतीय कम्पनीका सामग्री यहाँ बढी प्रयोग हुने गरेको जनाइएको छ । शल्यक्रिया गरी प्रत्यारोपण र औषधि लगायतमा रु ४० हजार हाराहारी खर्च हुने गर्दछ । उहाँका अनुसार राजधानी बाहिर सरकारी अस्पतालमा यही मात्र प्रत्यारोपण हुने गरेको छ । प्रत्यारोपणका लागि अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्ष चाहिने गर्दछ । 

थापाले अस्पतालमा रहेको शल्यक्रिया कक्षलाई जिवाणुरहित बनाएर प्रत्यारोपण गर्ने गरेको जानकारी दिनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले निजीमा भन्दा कम खर्चमा सरकारी अस्पतालमा जोर्नी प्रत्यारोपण गर्न सकिने बताउनुभयो । निजीमा यहाँको भन्दा रु एक लाखभन्दा बढी खर्च लाग्ने उहाँको भनाइ छ ।

अस्पतालमा तालीम प्राप्त विज्ञ चिकित्सक रहेकाले प्रत्यारोपण गराउनेको रोजाइ सरकारी अस्पताल हुने गरेको बगालेले बताउनुभयो । महङ्गो खर्च लाग्ने, बीमा नहुने, सरकारी छुट नपाइने र प्रत्यारोपणको जनचेतना नहुँदा सोचेअनुसारका बिरामी नआएका अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । घुँडा प्रत्यारोपण गर्ने अधिकांश ज्येष्ठ नागरिक हुने गरेको समाचार राससमा छ ।