सौर्य जहाज दुर्घटना:पीडितले न्यायका लागि संसदीय समिति गुहारे (उजुरीको पूर्ण पाठसहित)

सौर्य जहाज दुर्घटना:पीडितले न्यायका लागि संसदीय समिति गुहारे (उजुरीको पूर्ण पाठसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १२, २०८१

काठमाडौँ । सौर्य एयरलाइन्स दुर्घटनाका पीडित परिवारले न्यायका लागि संसदीय समितिमा  गुहार माग्न पुगेका  छन् ।  

घटना भएको चार महिना बितिसक्दा पनि न्याय नपाएको भन्दै पीडित परिवारको तर्फबाट पत्रकार प्रकाश खतिवडाले बुधवार संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उजुरी दर्ता गराएका हुन ।

समितिका सभापति राज किशोर यादव समक्ष लिखित उजुरी प्रस्तुत गदै खतिवडाले कानुनले दिएको अधिकार प्रयोग गरी सौर्य एयरलाइन्स, नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रभु इन्सुरेन्स, नेपाल बिमा प्राधिकरण, माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको निजी सचिवालय र सम्माननीय प्रधानमन्त्रीको निजी सचिवालयमा लिखित आवेदन गरेको र कुनै पनि निकायले उत्तरदायित्व बहन नगरेपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई गुहार्न बाध्य भएको उजुरी पत्रमा उल्लेख गरेका छन् ।

खतिवडाले उजुरीमा सौर्य जहाज दुर्घटनाको मुख्य कारण एयरलाइन्स व्यवस्थापन पक्षको जानाजान लापरबाही, प्राविधिक त्रुटि र मानवीय कमजोरी रहेको जनाउँदै अठार जनाको नरसंहार भएको सौर्य जहाजको घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् । उजुरीमा सौर्य एयरलाइन्सको व्यवस्थापन पक्षले १२ वर्ष देखि ऊर्जा मन्त्रालयमा कार्यरत छोरी प्रिजा खतिवडालाई फर्जी कागजात तयार गरी एयरलाइन्सको कर्मचारी बनाएर गैर कानुनी हरकत गरेको दावी गरेका छन् ।

सौर्य एयरलाईन्सको व्यवस्थापन पक्षले १२ वर्ष देखि उर्जा मन्त्रालयमा कार्यरत मेरी छोरी प्रिजा खतिवडालाइ फर्जी कागजात तयार गरी एयरलाईन्सको कर्मचारी बनाएर गैरकानूनी हर्कत गरेको छ । यसले मेरी छोरीलाई मरणेप्रान्त भ्रष्ट सावित गर्न खोजेको छ ।

उजुरीमा दुर्घटनाग्रस्त उक्त जहाजको उडान नै गैर कानुनी भएको, सरकारी जाँच आयोग विधि मिचेर बनाइएको, प्रारम्भिक प्रतिवेदन समेत नियोजित रहेकोले गैर सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ को नियम २३ बमोजिम निष्पक्ष आयोग गठन गरी घटनाको पुनः जाँच गर्न गराउन खतिवडाले माग गरेका छन् । 

उजुरी पत्र बुझ्दै समितिका सभापति राज किशोर यादवले खतिवडाको उजुरीलाई समितिको बैठकमा राखेर पीडितलाई न्याय दिलाउन पहल गरिने बताए ।

सौर्य एयरलाइन्सको जहाज गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा खतिवडाको छोरी ज्वाइँ र नाति सहित १८ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनामा पाइलट मनिश शाक्य भने बाच्न सफल भएका थिए ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति समक्ष दर्ता गराएको  उजुरीको पूर्ण पाठ यस प्रकार रहेको छ ।

 

माननीय सभापतिज्यू                                                                                                                                                    मितिः २०८१ /०८/१२
अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति
संसद सचिवालय                                 
सिंहदरबार काठमाडौँ ।
    
                 विषयः आवश्यक कारबाही न्यायका लागि ध्यानाकर्षण  गरेको सम्बन्धमा ।
    
    उपर्युक्त सम्बन्धमा मिति २०८१ साउन ९ गते सौर्य एयरलाईन्सको जाहाजको घटनामा परि मेरा परिवारका छोरी प्रिजा खतिवडा, ज्वाई मनुराज शर्मा र नाति अधिराज शर्मा अर्यालको दुखद निधन भएको सर्वविदितै छ । घटना भएको चार महिना भन्दा बढि भई सकेको छ । तर अझै सम्म पीडित परिवारले न्याय पाउन सकेका छैनन् । म संघीय लोकतान्त्रिक शासन व्यवस्थापनलाई विश्वास गर्ने मान्छे हु । मैले कानूनले दिएको अधिकार प्रयोग गरी सौर्य एयरलाईन्स, नेपाल नागरि उड्यन प्राधिकरण, प्रभु इन्सुरेन्स, नेपाल विमा प्रधिकरण, माननीय सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीज्यूको नीजि सजिवालय र सम्माननीय प्रधानमन्त्रीको नीजि सचिवालयमा  लिखित आवेदन गरे तर कुनै पनि निकायले उत्तरदायित्व बहन नगरेपछि संसदको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितीलाई गुहार्न बाध्य भएको छु । अतः निम्न तथ्य र माग दावी सहित आवश्यक कारवाहीका लागि यो ध्यानाकर्षण पत्र प्रस्तुत गरेको छु ।

१. सौर्य जाहाज दुर्घटनाको मुख्य कारण एयरलाईन्स व्यवस्थापन पक्षकोे जानाजान लापरवाहि, प्राबिधिक त्रुटि र मानवीय कमजारी हो भन्ने स्पष्ट छ । उक्त कुरा सरकारी आयोगको प्रारम्भिक प्रतिवेदनले समेत पुष्टि गरेको छ ।

२.सौर्य एयरलाईन्सको व्यवस्थापन पक्षले १२ वर्ष देखि उर्जा मन्त्रालयमा कार्यरत मेरी छोरी प्रिजा खतिवडालाइ फर्जी कागजात तयार गरी एयरलाईन्सको कर्मचारी बनाएर गैरकानूनी हर्कत गरेको छ । यसले मेरी छोरीलाई मरणेप्रान्त भ्रष्ट सावित गर्न खोजेको छ । यसले निष्ठा र इमानको जगमा बाचेको म र मेरो परिवारको आत्मसम्मान तथा स्वाभिमानमा चोट पुर्याएको मात्र छैन जघन्य अपराध गरेको छ ।  

३. घटना भएको जहाजको उडान नै गैरकानुनी उडान हो । २१ वर्ष पुरानो ३४ दिन देखि ग्राउडेड सो जहाजको उक्त दिनको उडानलाई ‘फेरी उडान’ भनिएको छ । उक्त तथ्यलाई  सरकारी आयोगको प्रारम्भिक प्रतिवेदनले समेत पुष्टि गरेको छ  । फेरी उडान गर्दा ५ जना भन्दा बढि र उडानसँग असम्बन्धित यात्रु बोक्न नपाईने स्पष्ट कानूनी व्यवस्था छ । ‘फेरी उडान’ लाई प्राबिधिक भाषामा प्रारम्भिक मर्मत सम्हार गर्न लगिएको उडान भनिन्छ । यसरी गैरकानूनी उडानमा कानुन विपरितका यात्रु बोकेर १८ जनाको नरसंघार गरिएको छ ।

४.जहाज दुर्घटना छानवीन गर्न रतिसचन्द्रलालको नेतृत्वमा बनेको सरकारी आयोग गठन नै त्रुटिपूण पाईएको छ । गैर सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१को नियम १० मा नागरिक उड्यन क्षेत्रमा पाइलट, वायुयानसँग सम्बन्धित इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरको रुपमा १५ वर्षको अनुभव प्राप्त, हवाई दुर्घटना सम्बन्धी तालिम प्राप्त, दुर्घटना भएको वायुयानको सञ्चालक वा सेवा प्रदायकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्ध नभएको व्यक्ति मात्र आयोगको संयोजक वा  सदस्य हुने स्पष्ट व्यवस्था छ । तर  एयरट्राफिक कन्ट्रोलरको रुपमा १५ वर्षको अनसभव नभएका पाललट मनिस शाक्यका नातेदार मुकेश डङ्गोललाई सदस्य सचिव  र योग्यता नपुगेका सुदीप भट्राईलाई आयोगको सदस्य बनाईएको छ । 

५.आयोगको प्रतिवेदन समेत कर्मकाण्डीय र नियोजित छ । आयोगको अनुसंधान घटनाको कारण पत्ता नगाउने भन्दा कसलाई कारक बनाउने भन्ने  योजना बनाएर शुरु गरिएको प्रारम्भिक प्रतिवेदनले पुष्टि गरेको छ । नेपालमा भएका यस अघिका दुर्घटनाहरुमा प्राय खराव मौसम र प्रतिकुल भौगालिक अवस्थालाई कारणको रुपमा उल्लेख गरिएको पाईन्छ तर सौर्य जहाज घटनामा खराव मौसम र प्रतिकुल भौगालिक अवस्थालाई घटनाको कारण देखाउने अवस्था नभएपछि सौर्य जहाजको व्यवस्थापन पक्षको गम्भिर लापरवाही  र घटनामा बाँचेका पाइलटको गम्भिर मानवीय त्रुटिलाई लुकाउन आयोगले सुनियोजित प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनको निष्कर्षमा घटनाको कारण वजन र गतिको असन्तुलन भनिएको छ र अनुसंधानको दायरा निर्धारण गर्दा पनि पहिलो बुँदामा वायुयानको बजन र सन्तुलन उल्लेख छ । अर्थात सौर्य जहाजको व्यवस्थापन पक्षको चलखेलमा  प्रतिवेदन तयार पारिएको प्रारम्भिक प्रतिवेदनको शुक्ष्म विश्लेषणबाट प्रष्ट हुन्छ ।

५. घटनाको कारण वजन हुनै नसक्ने कानूनी प्रावधान छ । गैरसैकि हवाई उडान नियमावली २०५२ को नियम १५ ले वायुयानको कुल तौल प्रस्तावित उडानको लागि सुरक्षित छ, बायुयानमा राखिएका सामानहरु उडान सुरक्षित हुने गरि राखिएका छन् , प्रस्तावित उडानको निमित्त आवश्यक र न्युनतम जगेडा परिमाणमा इन्धन उपलब्ध छ र अन्य दृष्टिकोणबाट बायुयान उडानको लागि सुरक्षित छ भन्ने विषयमा वायुयान चालक ( पाईलट इन कमाण्ड) सन्तुष्ट नभई वायुयान उडान गर्न हुदैन भन्ने बाध्यात्म कानुनी व्यवस्था  छ । यो कानुनी तथ्यलाई नजर अन्दाज गरेर वजन र सन्तुलनलाई प्रतिवेदनमा घटनाको कारण वनाएर सदस्य सचिवका नातेदार पाईलटलाई जोगाउन आयोगले प्रपन्च गरे पनि ‘झुठो टिक्दैन, सत्य छिप्दैन’ भन्ने तथ्य उजागर भएको छ । 

६. आयोगको प्रारम्भिक प्रतिवेदनमा जाँच अनुसंधानले दोष दायित्व वाडडफाड गर्दैन भन्ने उल्लेख छ । गैर सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ को नियम २(घ)ले जाँच भन्नाले दुर्घटनाको कारण पहिचान गर्ने, त्यसको तथ्य पत्ता लगाई निष्कर्ष निकाल्ने, दुर्घटनामा भएका मानवीय तथा यान्त्रिक कमि कमजोरी उजागर गर्ने , सुरक्षाका लागि अपनाउनु पर्ने उपायहरु सिफारिस गर्ने र भविश्यमा दुर्घटनाको रोकथाम गर्ने उद्देश्यले कुनै सुचनाको सङ्कलन तथा विश्लेषण गर्ने समेतको प्रकृया सम्झनु पर्छ भन्ने कानुनी व्यवस्था गरेको छ । उल्लेखित कानूनी व्यवस्थाले घटनाको कारण र तथ्य पत्ता लगाउदा  दोष, दोषि र  जिम्मेवारी सँगसँगै आउने विषय हो भने सिफारिस भन्ने कुराले जिम्मेवार र उत्तरदायि बनाउने विषय हो भन्ने स्पष्ट हुन्छ । तर उक्त कानूनी तथ्य विपति आयोगको प्रतिवेदनमा जाँच अनुसंधानले दोष दायित्व वाडफाड गर्दैन भन्नु हास्यास्पद मात्र छैन, दुर्घटना जाँच अनुसन्धान आयोगको आचित्य के र अनुसन्धानको नाममा खर्च भएको राज्यकोषको लाखौ रकम केका लागि खर्च गरिएको भन्ने प्रश्नवाचक चिन्ह खडा भएको छ । 
७. पैतालिस दिनको म्याद पाएको जाँच अनुसन्धान आयोगले कानुनी व्यवस्था र सीमालाई समेत नजर अन्दाज गरेको छ । गैर सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ को नियम १५ को उपनियम ३ ले ३० दिन भित्र प्रारमिभक प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेश गर्नु पर्ने व्यवस्था गरेको छ । सौर्य जहाजको प्रारम्भिक प्रतिवेदन भने ४३ दिनमा बुझाईएको छ र घटनाको चार महिना बितिसक्दा पनि पूर्ण प्रतिवेदन सार्वजनिक भएको छैन । यस तथ्यले आयोगको अनुसन्धान स्वयं तथ्यहरु लुकाउन र मेटाउनमा केन्द्रीत देखिन्छ ।

८. तथ्यप्रमाण सहित पीडितको तर्फबाट परेको उजुरीलाई अल्मल्याई राख्ने, समयमा सुनुवाई नगरिदिने र बोधार्थ थमाएर उत्तर दायित्वबाट पन्छिन खोज्ने नागरिक उडययन प्राधिकरणको भुमिका शंकास्पद र गैर जिम्मेवार छ ।

९.सौर्य जहाजको घटना भएको चार महिना भएको छ । यो घटनाले मेरो गोठ किलो मात्र रित्तिएको छैन यसले मेरो पारिवारिक खुसहालीमा ठूलो बज्रपात परेको छ । यतिखेर मैले म आफु सम्हालिन  र मेरो परिवारलाई सम्हाल्नुलाई नै पहिलो दायित्व ठानेको छु । हाम्रो सामु परिस्थितीको सामना गर्नुको अर्को बिकल्ल्प नरहेको कुरालाई राम्ररी महशुश गरेको छु । यो दुखद परिस्थितीमा मेरो पीडामा मल्हमपट्टी गर्नु पर्नेमा सम्बन्धित निकाय र सरोकारवालाको उदासिन र गैर जिम्मेवारपूर्ण हर्कतले हामीलाई थप पीडित बनाएकाको कारण म न्यायका लागि संसद गुहार्नं बाध्य भएको छु ।

हाम्रा माँगहरु

१. अठारजनाको नरसंघार भएको सौर्य जहाजको घटनाका दोषिलाई कारवाहि गरि न्याय दिलाईपाउन अनुरोध गर्दछु ।

२.उर्जा मन्त्रालयमा कार्यरत मेरी छोरीलाई सौर्य एयरलाईन्सको नक्कली कर्मचारी बनाएर किर्ते जालसाँज गर्ने एयरलाईन्सको व्यवस्थापन पक्षलाई कारवाही गरि न्याय दिलाई पाउन जोडदार माँग गर्दछु । 

३. गैर सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१को कानूनी व्यवस्था विपरित योग्यता नपुगेका व्यक्तिहरु समेत राखेर जाँच अनुसन्धान आयोग गठन भएको, आयोगले कानुन र तथ्यहरुलाई नजरअन्दाज गरि सुनियोजित प्रतिवेदन सार्वजनिक गरेको तथ्यलाई मध्यनजर गर्दै  गैर सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ को नियम २३ बमोजिम निष्पक्ष आयोग गठन गरि घटनाको पुनः जाँच गर्न गराउन हार्दिक अनुरोध गर्दछु । 

४. ज्वाई मनुराज शर्माको नेपाल सरहद भित्र घर जग्गा नभएकोले छोरी प्रिजा, ज्वाई मनुराज र नाती अधिराज मेरै सरक्षकत्वमा म, मेरी पत्नि उषा पोखरेल सहित एकासगोलमै  बस्दै आएका थियौ । निज तीनै जनाको काजकिरिया मैले मेरै खर्चमा गरे गराएको हु । तर सौर्य एयरलाईन्सको व्यवस्थापन पक्षले मलाई पीडित परिवार नठानेको मात्र होइन मेरो निवेदन समेत लिन तयार भएन । प्रस्तुत कागजात र प्रमाण हेरी सौर्य एयरलाईन्सको बोर्डको निर्णयले उपलब्ध गराउने भनिएको किरिया खर्च उपलब्ध गराउन पहल गरिदिनहुन आग्रह गर्दछु ।

५. जाहाज दुर्घटनामा मैले तीन सन्तति गुमाए । अल्पायुमै जीवन गुमाएका आफ्ना सन्ततिको सम्झनालाई चीरस्थायी बनाउन र उनिहरुको नाममा सामाजिक कार्य गर्ने उद्देश्यले हामीले मनुराज, अधिराज,प्रिजा स्मृति समाज (Map Memorial Society) नामक सस्था स्थापना गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बिधिवत दर्ता गराएका छौ । हवाई दुर्घटनामा हामीले हाम्रा सन्तति गुमायौ, तर यस्तो नियती र पीडा फेरी अरु कसैले  भोग्नु नपरोस भन्ने हामी चाहान्छौँ । त्यसैले यसै सस्था मार्फत हामी बहस, छलफल गर्न चाहान्छौं र यो दिर्घकालिन समस्याको निदानका लागि उपायहरुको खोजि गर्न चाहान्छौं । यसका लागि सरोकारवाला निकायहरुसँग सहकार्य  गर्न चाहान्छौ । इमान र नैतिकताको जगमा बाचेका हामी कुनैपनि गलत सम्झौताको पक्षमा छैनौ । के पाइन्छ ? के पाईदैन त्यो मुख्य विषय होइन । कानूनले निर्धारण गरेको अधिकार प्राप्त गर्न कसैले रोक्न सक्दैन । यसर्थ कागज मिलाएर गरिने गैरकानुनी हर्कत हामीलाई स्वीकार्य छैन । अतः घटना बापत प्राप्त हुने क्षतिपूतिको रकम यसै सस्थाले प्राप्त गर्ने व्यवस्था मिलाई दिन हार्दिक अनुरोध गर्दछु । 

अन्तमा यसै सन्दर्भमा मैले न्यायका लागि विभिन्न निकायमा प्रस्तुत गरेको निवेदन सहितको निम्न कागजात र प्रमाणहरु यसै साथ संलग्न छ । 

                        
                         निवेदक

              प्रकाशकुमार खतिवडा
         कञ्चनरुप नपा ७ सप्तरी,
हाल सुविनपा २ वालकोट भक्तपुर
             मो.नं. ९८५२८२०३२१
इमेलः khatiwada.pk@gmail.com