बाल्यकाल: हुलाकीको झोला, गोरखापत्र र रेडियो नेपालको अद्वितीय अवसर

बाल्यकाल: हुलाकीको झोला, गोरखापत्र र  रेडियो नेपालको अद्वितीय अवसर

ज्ञानेन्द्र विवश  |  साहित्य  |  मंसिर १५, २०८१

बालापनका धेरै कुराहरू सधैँ हृदयमा गडेर बस्छन् । तिनै बाल्यकालका सिकाइ, बुझाइ, बोलाइ र गरिने हरेक क्रियाकलापहरूले नै जीवनको प्रगति पथमा लम्किन मद्दत गर्ने रहेछन् । त्यही बेला खाइएका अनेक हन्डरहरू, चोट, सिकेका पाठहरू जीवनभरको सम्पत्ति बनिदिन्छन् । मेरो बाल्यकालका ती दिनहरूमा चिसापानी बजारको हुलाक कार्यालय, हुलाकी, हुलाक पत्र र पत्र मित्रसँग जोडिएको मेरो जीवनको एउटा कोमल अध्याय सम्झनामा बारम्बार आउँछ । 

त्यसैगरी रेडियो नेपालको बाल कार्यक्रम प्रतिको गहिरो प्रेम त्यत्तिकै प्रिय भएर सम्झनामा आइरहन्छ । प्रत्येक दिन साँझ रेडियो नजिक बसेर रेडियोबाट प्रसारित कार्यक्रम सुन्नु पाठ्यक्रम पठन जस्तै मेरो नियमित दैनिकी हुन्थ्यो । बाल कार्यक्रम म सधैँ सुन्थेँ । त्यसले मलाई नयाँ कुराको जानकारी दिन्थ्यो । कुनै दिन रेडियोको ब्याट्री सिद्धिएर रेडियो सुन्नबाट बञ्चित हुनुपर्दा साह्रै खल्लो लाग्थ्यो । 

वास्तवमा रेडियोले मलाई ज्ञानको नयाँ क्षितिज खोलिदिन्थ्यो । किताब पढ्नसँगै रेडियो सुनेर लिन सकिने बौद्धिक खुराकहरू धेरै हुन्थे । त्यो समयमा रेडियो नसुन्ने कमै हुन्थे होलान् । गोरखापत्र पढ्नु, चिठ्ठी पत्र पढ्नु अनि रेडियो सुन्नु यी मेरा नछुट्ने काम हुन्थे । बरु खाना खानु पर्दैनथ्यो । तर झरी पर्दा पनि म हुलाक कार्यालयतिर दौडिन्थेँ ।

चिसापानीको उकालो चढ्दा, सधैँ हुलाकीको प्रतीक्षामा रहने ती उत्सुक आँखा अझै याद आउँछन् । हुलाकीले खोटाङदेखि ल्याएको झोलाको तौलसँगै मेरो मनको खुल्दुली झनै भारी हुन्थ्यो । त्यो झोलाभित्र कुनै पुरानो गोरखापत्र होला, जसको पाना पल्टाउन मन हत्तारिन्थ्यो । के मैले लेखेर पठाएको केही त्यहाँ छापिएको होला त ? पत्रिकाको कुनै कुनामा आफ्नो नाम देख्ने रहर र त्यसले दिने गर्व आज पनि त्यत्तिकै ताजा छ ।

गोरखापत्र मेरो लागि केवल समाचारमात्र थिएन, त्यो मेरो सिकाइको पहिलो पाटो थियो । ती पानाहरूमा गुम्सिएका कथाहरू, समाचारका अक्षरहरूले मेरो चेतना झक्झक्याइ दिएका थिए । मेरो लेख छापिएको दिन मेरो आनन्दको कुनै सीमा हुँदैनथ्यो । त्यस्तो लाग्थ्यो, मैले कुनै उच्च शिखर चढिसकेको छु । त्यस दिन मलाई धेरै जाँगर चल्थ्यो । उत्साह थपिन्थ्यो । फेरि अर्को लेख पहिलेको भन्दा अझ राम्रो लेख्ने तीबै ईच्छा हुन्थ्यो ।

यसका साथै अर्को ठूलो रहर हुलाकबाट हुलाकीले बोकेर ल्याएको चिठ्ठीको थियो । झोलाभित्र मेरो नाम लेखिएको खाम छ कि छैन भन्ने खुल्दुलीले बाटोभरि मेरा खुट्टाहरूलाई तेज बनाउँथ्यो । कहिले मेरो साथीको चिठ्ठी आउँथ्यो, कहिले कुनै आफन्तको्रायः हरेक दिन मेरो नाममा नयाँ खामबन्दी पत्र आउँथ्यो ।

‘हामीले रेडियोबाट तेरो नाम, स्कुलको नाम अनि तेरो कविता प्रसारण भएको सुन्यौँ । राम्रो काम गर्‍यौ है बाबु ।’ भनी मलाई प्रोत्साहित गर्ने आफन्त र छिमेकीहरू हुन्थे । मलाई म प्रतिको त्यो एउटा विशेष सम्मानजस्तो लाग्थ्यो ।

मेरो नाममा चिठ्ठी आएको त्यो क्षण, जब हुलाकीले मेरो नाम पुकारेर खाम हातमा थमाइदिन्थ्यो, त्यो आनन्द शब्दमा बयान गर्न नसकिने बन्थ्यो । त्यो खामले ल्याउने सन्देश केवल पत्र थिएनन्; त्यो प्रेम, अपनत्व र सम्बन्धको आत्मीय अनुभूति हुन्थ्यो ।

स्कुले दिनहरू गोरखापत्रका अक्षर, चिठ्ठीका शब्द र ती सबैको प्रतीक्षामा बित्थे । त्यो जिज्ञासा र उत्सुकताले जीवनमा सिक्ने झरना खोलिदिन्थ्यो । ती बाल्यकालका भावना अहिले सोच्दा एउटा मीठो मृदु मुस्कानसहितको सम्झना बनेर झल्झली आइरहन्छ ।

यदि त्यो समय मैले पत्रिका पल्टाउने उत्सुकता नराखेको भए, पत्रिकामा छापिएका समाचार, लेख, सन्देश आदिले भरिएका पानाहरू पल्टाउँदै पढ्ने रहर नगरेको भए, सायद मैले सिक्न र बुझ्न कहिल्यै सक्दिनथेँ । 

आज ती व्यतीत सम्झनाहरू मेरो भोगाइका पहराहरूमा गढेर बसेका छन् । बाल्यकालको त्यो सरल आकाङ्क्षा, ती रहरका चाङहरू र ती चिठ्ठीहरूले जीवनको अर्थ बुझ्न मलाई सिकाए । हुलाकको झोलाभित्र केवल गोरखापत्र र चिठ्ठी मात्रै हुँदैनथे । त्यहाँ मेरो भविष्यका सपनाहरू सजिएका हुन्थे । मेरा खुशीहरू मलाई थप खुशी पार्न पर्खिरहेका हुन्थे ।

त्यसैगरी रेडियो नेपालको तरङ्गसँगै बग्ने बाल्यकालको ती अमूल्य क्षणहरूका ती सुन्दर सम्झनाहरू, अहिले पनि मनभरि गहिरो छाप बनेर बसेका छन् । गोरखापत्र र हुलाकसँगै जोडिएको मेरो अर्को प्रिय स्मरण हो– रेडियो नेपाल । 

शहरभन्दा निकै टाढाको मेरो सानो गाउँको दुर्गम विद्यालयमा पढ्ने मेरो जस्तो बालापनमा ‘रेडियो नेपाल’ भनेको ज्ञान, मनोरञ्जन र अभिव्यक्तिको विशाल संसार थियो । जहाँका साथ लेख्ने र लेखेको कुरा पठाउने समेत गर्थेँ ।
त्यो बेला रेडियो नेपालबाट ‘बाल कार्यक्रम’ प्रसारण हुन्थ्यो । ‘हामी बालबालिकाहरूका लागि’ भन्ने यो कार्यक्रम हाम्रो जस्तै साना प्रतिभाहरूका लागि अभिव्यक्ति दिने गतिलो थलो बन्यो । बासुदेव मुनाल दाइको सुमधुर आवाज ‘आओ मेरा प्यारा भाइबैनी हो, रेडियो नजिक आओ !’ भन्ने शब्द कानमा अझै गुञ्जिरहन्छ । ‘क बाट कछुवा, ख खरायो ....’ जस्ता कर्णप्रिय बाल गीतहरू पनि उत्तिकै स्मरणीय छन् ।

बाल कार्यक्रममा रमाउँदाका ती क्षणहरू अहिले पनि सपनाझैँ लाग्छन् । रेडियो सुनेको, गोरखापत्रमा धुइधुइती आफ्नो आर्टिकल खोजेको, हुलाकीले ल्याएका पत्र खोलेर हेर्दा खुशीले चिच्याएका क्षण आदि सपनामा पनि देख्ने गर्छु । बाल्यकालीन साथीभाइ, ती बाटाघाटा, स्कुल आदि पनि सपनामा देख्छु । दशकौँ पुरानो भइसक्दासमेत ती बाल्यकालीन दिनहरू यस्तै देखिँदोरहेछ सपनामा । 

बाल कार्यक्रम बालबालिकाका लागि राम्रो र लोकप्रिय कार्यक्रम थियो । मुनाल दाजुका शब्दहरू, प्रोत्साहन दिने तरिका र मिठास पूर्ण प्रस्तुतिले हामी सबैलाई प्रेरणा दिन्थ्यो ।
‘को भन्दा को कम’ स्तम्भले हामीलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर दियो । मैले लेखेका कविता, कथा, निबन्धहरू रेडियोको तरङ्गमार्फत जब प्रसारित हुन्थे, म खुशीले उफ्रिन्थेँ । आफ्नो नाम रेडियोबाट गुज्जिँदा हुने त्यो अनौठो खुशीको बयान शब्दमा गर्न गाह्रो छ । गाउँभरिका मानिसहरू मलाई बधाई दिन्थे, 

‘हामीले रेडियोबाट तेरो नाम, स्कुलको नाम अनि तेरो कविता प्रसारण भएको सुन्यौँ । राम्रो काम गर्‍यौ है बाबु ।’ भनी मलाई प्रोत्साहित गर्ने आफन्त र छिमेकीहरू हुन्थे । मलाई म प्रतिको त्यो एउटा विशेष सम्मानजस्तो लाग्थ्यो ।

बासुदेव दाजुको मेरो अक्षर प्रतिको प्रशंसा मेरो लागि अर्को ठूलो प्रेरणा बन्यो । उहाँले भन्नुभएको ‘भाइ, तिम्रो अक्षर देख्दा पढौँ पढौँ लाग्छ ।’ भन्ने शब्दले म भित्रको सिर्जनशीलता अझ गहिरो बनाउन सघाउथ्यो । उहाँको माया र हौसलाले म जस्ता थुप्रै विद्यार्थीहरूलाई सिर्जनशील बन्न उत्प्रेरित गर्‍यो ।

त्यो समय रेडियो नसुन्नेहरू निकै कम थिए । रेडियो नेपाल घर घरको साथी बनेको थियो । समाचारका साथै रेडियो नाटक, गीति कथा, कृषि कार्यक्रम, धार्मिक र साहित्यिक कार्यक्रमहरू रेडियोबाटै सुन्ने जमाना थियो । साँझपख गाउँघरका मानिसहरू रेडियो वरिपरि भेला भएर गीत र नाटक सुन्दै रमाउँथे । त्यो केवल मनोरञ्जन होइन, हाम्रो जीवनशैलीकै एक अभिन्न अंश थियो ।

ती दिनहरू अहिले सम्झिँदा मीठो सपना जस्तो लाग्छ । रेडियो नेपालले सिङ्गो पुस्तालाई सपनाहरू देख्ने, सिर्जना गर्ने र आफ्ना प्रतिभाहरूलाई प्रस्फुटन गराउने अद्वितीय अवसर दिएको थियो । रेडियो नेपालको योगदान केवल प्रविधिमा सीमित छैन, यो हाम्रो भावनामा गहिरो जरा गाडेर बसेको छ । ती दिन, ती आवाज, ती स्मृतिहरू मेरा लागि सधैँ अमूल्य रहने छन् ।
क्रमशः