पाकिस्तानले भारतलाई दियो उडान अनुमति

पाकिस्तानले भारतलाई दियो उडान अनुमति

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २८, २०७६

काठमाडौं, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शंघाई सहयोग संगठन ( एससीओ ) को बैठकमा भाग लिन किर्गिस्तानको राजधानी बिश्केक जानका लागि पाकिस्तानसँग उडान अनुमति मागेकोमा उसले आफ्नो आकाश भएर जाने अनुमति दिएको छ । एससीओ समिटमा सहभागी हुनका लागि मोदी १३–१४ जुनमा किर्गिस्तान जाँदैछन् । 

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि एससीओ समिटमा सहभागी हुन किर्गिस्तान जाँदैछन । 

पाकिस्तानी अधिकारीका अनुसार भारतको आग्रह पाकिस्तानले स्वीकार गरिसकेको छ । तर आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र यसको औपचारिक जानकारी गराइने बताइएको छ । 

स्मरण रहोस बालाकोट एयर स्ट्राइक पछि पाकिस्तानले उसको हवाई क्षेत्र बन्द गरेको थियो । 

तर भारतीय वायुसेनाले भने ३१ मे देखि आफ्नो हवाई क्षेत्रमा लगाएको सबै प्रकारको अस्थायी प्रतिबन्ध हटाएको थियो । 

भारतीय सेनाले २६ फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा रहेको  आतंकी संगठन जैश–ए–मोहम्मदको अखाडामा हवाई हमला गरेको थियो । त्यसपश्चात  पाकिस्तानले आफ्नो ११ हवाई मार्ग मध्ये दक्षिणी पाकिस्तान भएर जाने केवल २ वटा हवाई मार्ग मात्र खोलेको थियो । 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले काश्मीर लगायत अन्य सम्पूर्ण विवादित मुद्दामा वार्ता गर्न आग्रह गर्दै प्रधानमन्त्री मोदीलाई पत्र पनि लेखेका थिए । तर आतंकवादी गतिविधि नरोकेसम्म पाकिस्तानसँग वार्ता हुन नसक्ने भन्दै मोदीले जवाफ दिंदै आएका छन । 

दुबै नेता एउटै सम्मेलनमा सहभागी हुँदै गरेपनि दुई नेताबीच छलफल हुने नहुने विषयमा भने जानकारी बाहिर आएको छैन् ।