सम्झनाका तरेलीहरूलाई ओल्टाइ–पल्टाइ: शिक्षण सिकाइका मेरा गुरुवर्ग

सम्झनाका तरेलीहरूलाई ओल्टाइ–पल्टाइ: शिक्षण सिकाइका मेरा गुरुवर्ग

ज्ञानेन्द्र विवश  |  साहित्य  |  मंसिर २२, २०८१

स्कुले जीवनमा पढाइका यी झिनो मसिना सम्झनाहरू अझै सम्झनाका तरेलीमा बेलाबखत तैरि रहन्छन् । सम्झनाको दहमा डुबेर म अतीततिर फर्किन्छु । 

सम्झनाको गहिराइमा डुबुल्किँदा मैले हीरा मोती त भेट्दिनँ । तर त्यत्तिकै बहुमूल्य मेरा व्यतीत दिनहरू भेट्छु । हठात म हर्षले गदगद हुन पुग्छु । जहाँ म पुनः बाल्य कालीन स्कुले जीवनका दिनचर्चाहरूतिर पुग्छु । मैले पढेको मेरो स्कुल, बाटोघाटो, डाँडाकाँडाहरू मेरा आँखामा बिस्तारै दृश्यमान हुन्छन् । कक्षा कोठा, कालो पाटी, साथीहरू, गुरु वर्ग र तत्कालीन सबै परिवेश मेरा मानस्पटलबाट आँखामा झल्झली देखा पर्न थाल्छन् ।

म सम्झनाको दहबाट फुत्त किनारमा निस्किएर दहमा तैरिएका सम्झनाका तरेलीहरूलाई ओल्टाइ–पल्टाइ हेर्छु । म एकछिन वर्तमानबाट विगततिर पुग्छु ।

यसरी समयको पाना पल्टाउँदै कहिलेकाहीँ म विगतका पाइलाहरूमा फर्किन्छु । वर्तमानको चकमन्न वातावरणमा ती दिनका झल्काहरू छचल्किँदै अहिले पनि स्मृतिको झ्यालबाट बाहिर झुल्कन्छन् ।

प्रत्येक बिहान स्कुल जाने नियमित काम । जस्तापाताले लगाइएका छाना र ढुङ्गा माटोले बनेको अङ्ग्रेजी अक्षरको उल्टो यु आकारको मेरो विद्यालय । पहाडी बस्तीका खरले छाइएका फुस्रे घरहरू आज पनि म भुल्न सक्दिनँ । डाँडाकाँडाका हरिया डिलहरू, खेतबारीका पाटाहरू । माथि हुमपोखरी डाँडा । पर सुरुङ्खेले डाँडा । बेलाबखत पुतली झैँ आकाशमा दौडने बादलहरू । अनि कहिले कतैबाट सुनिने कोइलीको कुहुकुहु आवाजले वातावरणलाई झनै रोचक बनाउँथ्यो । हुमपोखरी डाँडालाई प्रायः भुइँ कुहिरोले छोपेर लुकाइ राख्थ्यो ।
साथी भाइहरूसँगको सङ्गत त झन् अलग्गै थियो । कसैले भर्खर बनाएको पिरामिड जस्तो देखिने माटोको ढिस्को, कसैले गुच्चा खेल्दा हराएको चक्रलाई लिएर गरेको झगडा, अनि कसैको किताबमै गन्हाउने टिफिनको गन्ध । यी सबै कुरा उसै बेला सामान्य लाग्थे । तर अहिले ती नै सबभन्दा अनमोल सम्झनाका मोतीझैँ लाग्छन् ।

शिक्षकहरूको सम्झना पनि छुटाउन सक्दिनँ । गुरुहरूको कडा अनुशासनको साथसाथै कहिलेकाहीँ उनीहरूको असीम माया पनि पाउँथे । त्यो मायाले नै मभित्र हिम्मत, अनुशासन, र शीतला भरिदियो । कक्षाकोठामा उनले सिकाएका पाठहरू जीवनभर सम्झन लायक नै छन् ।

आज, विगततिर फर्केर हेर्दा ती दिनहरूको सहजता र सादगीसँगै आफूमा रहेको मासूमियत सम्झेर मन आनन्दले भरिन्छ । अहिलेको व्यस्त जीवनमा ती दिनहरूको पुनरावृत्ति सम्भव छैन । तर ती सम्झनाहरूले भने जहिल्यै मलिन भएजस्तो लाग्ने वर्तमानलाई उज्यालो पारिदिन्छन् ।

सम्झनाको दहबाट फुत्त किनारमा उभिँदा हर्षका तरङ्गहरूले मभित्र घनीभूत अनुभूति भरिन्छ । ती भोगाइहरूले मलाई थाहा दिन्छ– जीवनका ती साना पलहरू नै सबभन्दा ठूला र मूल्यवान हुने रहेछन् ।

सम्झनाहरूको जालोभित्र बसेर आज घरपरिवार, आफ्ना गुरु वर्गहरूको अनुहारलाई मनका पानाहरूमा कोर्न खोज्दैछु । मेरो जीवनका तिनै मार्गदर्शक, जसले मलाई ज्ञानको ज्योति देखाए । सिकाइको उज्यालो संसारमा डोर्याए । मेरा सम्भावनाहरूलाई पहिचान गर्न मद्दत गरे ।

गुरु शब्दले मात्र पनि मेरो मनमा सम्मानको भाव जाग्छ । ती पहिलो गुरु, जसले मेरो हात समातेर अक्षरहरूसँग चिनारी गराए, लेख्न र पढ्न सिकाए । २०२० सालमा स्थापना भएको विद्यालयको पुरानो भवनका दृश्यहरू  ती दिनहरू अझै पनि सम्झनामा जीवित छन् । मेरो बालापनका ती सिकाइका क्षणहरूमा म केवल एउटा बीउ जस्तै थिएँ । त्यसलाई मेरो परिवार, आफन्त र गुरु वर्गले सीप र ज्ञानको मलजल दिएर टुसाउन सघाए । 

जीवनका पाठ विद्यालयको कक्षामा मात्र सीमित भएनन् । म जहाँ पुगेँ, गुरु वर्गहरू भेटिरहे । कहिले कुनै मार्गदर्शक लेखक, कहिले कुनै सहृदय पाठक । पुस्तकालयका धूलोले पुराना पुस्तकहरूबाट मैले अरू धेरै अदृश्य गुरु वर्गहरू पाएँ । मेरा सिर्जनात्मक प्रयासहरूलाई सम्मान दिने ती आत्माहरूले मलाई लेखनमा निरन्तरता दिने प्रेरणा प्रदान गरे ।

म सम्झन्छु, ती इतिहासका शिक्षक, जसको कक्षामा जादुमय वातावरण बन्थ्यो । उनका शब्दहरूले इतिहासका पात्रहरू जीवित भएजस्तो लाग्थ्यो । ‘सम्झनामा शक्ति हुन्छ ।’ उनले भनेका थिए । ‘तर त्यो स्मरणलाई अनुभवमा बदल्न जान्नु नै वास्तविक ज्ञान हो ।’ उनका शब्दहरूले मलाई केवल परम्परालाई सम्मान गर्न मात्र सिकाएन, भोलिको निर्माण गर्न पनि प्रेरित गर्‍यो ।

जीवनका पाठ विद्यालयको कक्षामा मात्र सीमित भएनन् । म जहाँ पुगेँ, गुरु वर्गहरू भेटिरहे । कहिले कुनै मार्गदर्शक लेखक, कहिले कुनै सहृदय पाठक । पुस्तकालयका धूलोले पुराना पुस्तकहरूबाट मैले अरू धेरै अदृश्य गुरु वर्गहरू पाएँ । मेरा सिर्जनात्मक प्रयासहरूलाई सम्मान दिने ती आत्माहरूले मलाई लेखनमा निरन्तरता दिने प्रेरणा प्रदान गरे ।

आज म यहाँ छु । मेरो कलमले कागजमा हरफहरू लेखिरहँदा, मेरो मनमा तिनै मेरा प्रेरणाका स्रोतहरूको छायाँ बाँचिरहेछ । उनीहरूको सहयोगबिना मेरो विचार, मेरो व्यक्तित्व र मेरो यात्रा अपूर्ण हुन्थ्यो । असल परिवार र गुरु वर्गहरू मात्र शिक्षक होइनन्, तिनीहरू जीवनका दर्पण हुन्, जसले हामीलाई आफ्ना कमीहरू देखाएर सुधार्न प्रेरित गर्छन् ।

जीवनको यो यात्रामा म जहाँ पुगें, ती सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । ती केवल मेरो बालापनका शिक्षक मात्र होइनन्, हरेक ज्ञान दिने व्यक्ति, हरेक चुनौतीको पाठ र हरेक सफलताका प्रेरक । उनीहरूले सिकाइलाई मात्र होइन, जीवनलाई पनि उज्यालो बनाइदिए ।

त्यसैगरी त्यो स्कुलले जीवनको पढाइको क्रममा नेपाली भाषालाई नयाँ–नयाँ शब्दहरूको प्रयोग गरेर लेख्ने र नयाँ वाक्य बनाउनका लागि रुद्र गुरु (रुद्रप्रसाद घिमिरे) ले सिकाउनुभएको सिकाई प्रक्रिया मेरा लागि अविस्मरणीय नै छ ।

आफूले पढेका साहित्यका किताबबाट नयाँ शब्द भेट्नासाथ म तिनलाई कापीका पानामा टिप्थेँ । भोलिपल्ट स्कुलमा रुद्र गुरुलाई देखाउँथे र भन्थेँ– ‘गुरु मैले पढ्दा भेटिका नयाँ शब्दहरूका अर्थ के के हुन्छ बताइदिनु न !’

उहाँ एकचोटि शब्द सुनेपछि खरखर त्यसको अर्थ वाक्यमा प्रयोगसमेत गरी बताउन थाल्नुहुन्थ्यो । म उहाँले भनेका शब्दहरू सरासर टिप्थेँ । उहाँको त्यो तीक्ष्ण बौद्धिक क्षमताप्रति म गद्गद् हुन्थेँ । एउटा नयाँ शब्द सुनेपछि अरू त्यस्तै शब्द बताउनुहुन्थ्यो । वास्तवमा रुद्र गुरुसँग शब्द–ज्ञानको भण्डार थियो ।

‘एउटा नयाँ शब्द पाएपछि त्यसलाई कसरी वाक्यमा प्रयोग गर्ने र आफूले वाक्य बनाएको शब्दबाट अरूले सुन्दा खेरि कतिको मिठास अनुभव गर्छन् ? त्यसमा आफूले ध्यान दिनुपर्छ । यदि त्यसमा अरूले राम्रो ठाने भने त्यो बाँकी राम्रो भयो भन्ने बुझ्नुपर्छ । यति भयो भने त्यो साहित्य हुन्छ । नत्र एउटा शब्दलाई वाक्यमा प्रयोग गर्नुको कुनै अर्थ रहँदैन ।’ रुद्र गुरुको यो वाणी अहिले पनि म सम्झिरहन्छु ।

रुद्र गुरु नेपाली भाषाका सौन्दर्यलाई जस्ताको त्यस्तै शब्दमा उनेर भर्नुहुन्थ्यो । उहाँको कक्षामा मेरा वाक्यहरू कलात्मक रूपमा नयाँ–नयाँ आकार लिँदै जान्थे । उहाँले सिकाएको शैलीले मेरो अभिव्यक्तिलाई प्रखर बन्न सिकायो । लेखनमा गहिराइ र भाषामा आत्मीयता भर्नु उहाँकै सिकाइको उपज हो । 
विद्यालयका ती दिनहरू हरेकको जीवनका अविस्मरणीय पानाहरू हुन् । ती दिनहरू मेरा लागि पाठ्यपुस्तकका अक्षरहरूमात्र नभएर जीवनका पाठका शिक्षालय पनि बने । 

यी सबै शिक्षकहरू मेरा जीवनका अमूल्य मार्गदर्शक हुन् । उहाँहरूको ज्ञान, लगाव र प्रयासका कारण म आज लेखनको यो बाटोमा छु । विद्यालयका ती सम्झनाहरूले मलाई अझै पनि प्रेरणा दिन्छन्, जसले मलाई वर्तमानलाई बलियो र भविष्यलाई उज्यालो बनाउन सघाउँछ । ती दिनहरू केवल पढाइका यात्रा नभएर जीवनका मूल्यहरू बुझ्ने साथी पनि थिए ।

क्रमशः