आत्महत्या दुरुत्साहन आरोपी राईलाई उन्मुक्ति दिन राजनीतिक दबाब !

आत्महत्या दुरुत्साहन आरोपी राईलाई उन्मुक्ति दिन राजनीतिक दबाब !

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २४, २०८१

खोटाङ  । खोटाङस्थित  दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ धिप्लुङका २१ वर्षीय सुमन खड्कालाई आत्महत्या  गर्न बाध्य बनाएको आरोपमा प्रहरी हिरासतमा रहेका ३५ वर्षीय देवान चाम्लिङ राईलाई विना अनुसन्धान हिरासत मुक्त गर्न प्रहरीलाई ठुलो राजनीतिक दबाब परि रहेकाे प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार  गत मङ्सिर ४ गते आफ्नो पसलबाट पैसा चोरेको आरोप लगाई  ३५ वर्षीय देवान राईले मृतक सुमनको निर्घात कुटपिट गरी उनलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा राईलाई २०८१  मंसिर १९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले अनुसन्धानको लागि हिरासतमा लिएको थियाे । 

घटना भएको १३ दिनपछि अर्थात् मंशिर १७ गते  पीडित परिवारले प्रहरीमा राईविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा उजुरी दिएपछि राईलाई हिरासतमा लिन बाध्य भएको थियाे । 

आत्महत्या गरेका सुमन  खड्काले आफूमाथि राईले लगाएको आरोप र गाली बेइज्जती सहन नसकी ९ गते राति घरबाट दुई सय मिटर पर दुधिलोको रूखमा झुन्डि आत्महत्या गरेको पिडित परिवारको आरोप छ । 

सुमन  खड्का

आत्महत्या गर्नु पूर्व सुमन  खड्काले आफूले आत्महत्या गर्नुको मुख्य कारण पैसा चोर दोष लगाई गाली बेइज्जती गर्ने देवान राई रहेको सुसाइड नोटमा उल्लेख गरेका थिए ।

लोकस‌ंवादलाई प्राप्त यस्तो छ सुसाइड नोट  

 राईको कुटाईबाट मृतक सुमनको शरीरका विभिन्न भाग र नलीखुट्टामा गहिरो चोट रहेको पाइएकाे समेत प्रहरीले तयार पारेको सरजिमिन मुचुल्कामा उल्लेख छ ।   जिल्ला प्रहरी कार्यालय खोटाङका इनिस्पेकटर मोहन बोहोराले प्रत्यक्षदर्शीका अगाडी पिडक राईलाई उपस्थित गराएर मृतक सुमन खडकालाई कुटपिट गरेको विषयमा सोधपुछ गर्दा राईले उक्त विषय स्वीकार गरिसकेको बताएका थिए ।  राईले  विना प्रमाण सुमन खड्कामाथि आरोप लगाएको  सहजै नस्वीकार्दा उनलाई निर्घत ढंगले कुटपिट गरेको प्रत्यक्षदर्सीले बाताएका छन् । 

सुमन दाई गणेश खड्काले  '२१ वर्षको सुमन खड्कालाई २०८१मंसिर ४ गतेका दिन बिना प्रमाण चोरीको आरोप लगाई सम्बन्धित निकाय प्रहरी प्रशासन र परिवारलाईसमेत जानकारी नदिई शारीरिक तथा मानसिक रुपमा यातना दिई कुटपिट गरी मेरो भाइको चरित्रहत्या गरेको हुँदा सोही कारणले मेरो भाइ सुमन खड्काले आत्महत्या नोट लेखी निजले घरदेखि करिब २०० मिटरको दूरीमा, आत्महत्या गर्न बाध्य गराई दुधिलोको रुखमा घाँटीमा पासो लगाई झुन्डिई आत्महत्या गरेको र निजको शरीरको विभिन्न भागमा नीलडाम रहेको अवस्थामा फेला पारी यो जाहेरी दरखास्त दिन आएको छु '  भनी दरखास्तमा उल्लेख छ ।

उपरोक्त बमोजिम निज देवान राईले मेरो भाइलाई आत्महत्या गर्न बाध्य गराई आत्महत्या गर्न दुरुत्साहन गरी अपराध गरेको हुँदा निजलाई यस कार्यालयबाट पक्रि झिकी आवश्यक अनुसन्धान कारबाही गरी मुलुकी फौजदारी संहिता २०७४ को दफा १८५ उपदफा १ र २ तथा ऐ। को दफा १८६ बमोजिम हदैसम्मको कैद सजाय गरी क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ,’ किटानी जाहेरीमा भनिएको छ ।

प्रहरी स्रोतका अनुसार  माओवादीका कार्यकर्ताहरू जिल्ला पुगेका र दलका नेता लाई भनसुन गरि दोषीलाई रिहाइ गर्न पहल गरिरहेको राजनीतिक बलको आधारमा दोषीलाई उन्मुक्ति दिन दबाब बढ्न थालेपछि दोषीलाई उन्मुक्ति नदिन जिल्ला प्रहरी कार्यालय खोटाङ दिक्तेल लाई पिडित पक्षले अनुरोध गर्दै आएका छन् ।

प्रहरीसँग पिडित पक्षले कानुन अनुसार छानबिन गरि दोषीलाई कडा कारबाहीको माग गरिरहेका छन्  ।छानबिन लाई चलखेलका आधारमा फितलो बनाई दोषीलाई उन्मुक्ति दिन खोजियो भने फेरि उच्च हुँदै सर्बोच्च अदालतमा समेत जान बाध्य नपार्न प्रहरीलाई  पिडित पक्षले प्रहरीमा अनुरोध गरेकाे समेत प्राप्त समाचारमा उल्लेख छ ।