लोकसंवाद संवाददाता | समाचार | मंसिर २५, २०८१
नेसंवि, वाल्मीकि विद्यापीठ, न्याय विभागद्वारा आज २०८१ मङ्सिर २४ गते सोमवार 'आन्वीक्षिकी व्याख्यानमाला' अन्तर्गत पहिलो शृङ्खलाका रूपमा आयोजित 'न्यायवैशेषिकदर्शनाभिमतात्मतत्त्वविमर्शस्' विषयक व्याख्यान कार्यक्रम र न्याय विषयको आचार्य परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई पुरस्कार अर्पण कार्यक्रम सम्पन्न गरिएको छ ।
न्याय विभागका अध्यक्ष प्राध्यापक जगत्प्रसाद उपाध्याय 'प्रेक्षित' को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तथा व्याख्याता नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक शिवहरि मरहट्टा हुनुहुन्थ्यो भने विशिष्ट अतिथि तात्कालिक महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपालसंस्कृतविश्वविद्यालय)का प्रथम शिक्षाध्यक्ष प्राध्यापक विद्यानाथ उपाध्याय हुनुहुन्थ्यो ।
सो अवसरमा व्याख्याता प्रा। मरहट्टाले न्याय र वैशेषिक दर्शनको परिचयसहित यिनका बिचको समानतन्त्रता देखाउँदै आत्मतत्त्वका विविध पक्षमाथि विशद र गहन चर्चा गर्नुभयो । मरहट्टाले २०८१ को गुरुपूर्णिमाका अवसरमा विभागद्वारा न्याय विषयका विशिष्ट विद्वान्हरूलाई अभिनन्दन गर्ने क्रममा अमेरिकामा रहनुभएकाले विद्युतीय माध्यमबाट मात्र जोडिनुभएका तर त्यस वेला भौतिक रूपमा उपस्थित हुन नसक्नुभएका प्राध्यापक विद्यानाथ उपाध्यायलाई समेत अभिनन्दन-पत्र अर्पण गर्नुभयो । सोही अवसरमा शैक्षिक वर्ष २०८०र०८१ को न्याय (प्राचीन न्यायरनव्य न्याय) विषयको आचार्य परीक्षामा उत्कृष्ट अङ्क ल्याई प्रथम स्थानसहित उत्तीर्ण हुन सफल छात्र टीका अधिकारी (सुजन अधिकारी) लाई विभागका तर्फबाट नगद पाँच हजार रकम पुरस्कारसहित प्रमाण-पत्र प्रदान गरिउको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि प्राध्यापक विद्यानाथ उपाध्याय, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकाल, पूर्व प्राचार्य तथा न्याय विभागका पूर्व अध्यक्ष प्रा। पद्मप्रसाद भट्टराई र नेसंवि, नेपाली विषय समितिका अध्यक्ष प्रा।डा। ध्रुव भट्टराईले न्याय विभागले आन्वीक्षिकी व्याख्यानमाला र उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने जस्ता अनुकरणीय कार्य प्रारम्भ गरेकोमा प्रशंसा गर्नुभयो ।
ध्रुव भट्टराईले प्राध्यापक विद्यानाथ उपाध्याय, प्राध्यापक शिवहरि मरहट्टा र प्राध्यापक पद्मप्रसाद भट्टराईबाट आफू विद्यार्थीकालदेखि नै प्रभावित रहेको बताउनुभयो । सहप्राध्यापक केशवशरण अर्यालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सहायक प्राचार्य तथा विभागकी सदस्य सहप्रा.डा. रमा भट्टराईले स्वागत मन्तव्य र विभागका सदस्य प्रा. घनश्याम भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सहायक प्राचार्य प्रा. अच्युतप्रसाद लामिछाने, उपप्रा.डा. सीताराम खतिवडा, डा. रामप्रसाद पौडेल, उपप्रा।श्याममणि नेपाल, उपप्रा। लक्ष्मण आचार्यलगायतले वैदिक स्वस्तिवाचन गर्नुभएको उक्त कार्यक्रममा सभाध्यक्ष प्रा जगत्प्रसाद उपाध्यायले न्यायरत्न पद्मप्रसाद भट्टराई, पण्डितराज सोमनाथ सिग्द्याल, प्राध्यापक विद्यानाथ उपाध्याय, प्राध्यापक शिवहरि मरहट्टा, प्राध्यापक दीर्घराज घिमिरे, प्राध्यापक पद्मप्रसाद भट्टराईले विभिन्न समयमा नेतृत्व गर्नुभएको न्याय विभागले अग्रजहरूले देखाएको प्राज्ञिक मार्गलाई अनुसरण गर्दै पौरस्त्य दर्शनशास्त्रका क्षेत्रमा वर्तमान समाजले अनुभूत गर्ने गरी दूरगामी महत्त्वका कार्य गरिने र त्यसै सिलसिलामा व्याख्यानमाला प्रारम्भ गरिएको बताउनुभयो । उहाँले न्याय विभागबाट 'आन्वीक्षिकी' पत्रिकालाई विज्ञसमीक्षित शोधपत्रिकाका रूपमा छिटै प्रकाशन गरिने जानकारीसमेत दिनुभयो ।