प्रा. डा. हेमनाथ पौडेल | साहित्य | मंसिर २७, २०८१
मभित्र विचार छ, विचारभित्र म छु
म विचार लिएर कैयौँ वर्षदेखि
हिँडिरहेको छु अतृप्त सपना बोकेर
निरन्तर निरन्तर ।
तिमीले भनेका थियौ
म घाम दिन्छु, जून दिन्छु
सगरमाथा जत्तिकै स्वाभिमान दिन्छु
दिन्छु समता, समृद्धि र उज्यालो भविष्य ।
अनि त मैले बोकेको हो
तिमीले दिएको रातो झोला
एउटा आशा, विश्वास र भरोसा लिएर
तर आज तिमी कहाँ पुग्यौ म कहाँ छु !
मैले सधैँ बोकिरहेँ तिम्रो झोला
अनि बेसरी गाएँ तिम्रो छद्म गाथा
तिमीले भने मलाई छकाई छकाई
भिर्यौ मौसम अनुसारका वस्त्र
र भर्यौ आफ्नै बहुरङ्गी झोला ।
कहाँ हरायो पहाड भत्काउने बुढाको कथा ?
कहाँ गयो उत्पादन शक्ति र सम्बन्धको कुरा ?
कहाँ गए वर्गीय द्वन्द्वअन्तर्द्वन्द्वका सिद्धान्त ?
कहाँ गयो अतिरिक्त मूल्यको अर्थशास्त्र ?
कहाँ गए असमानता र विभेद हटाउने कुरा ?
कहाँ गयो स्वाभिमान र समृद्धिको कुरा ?
दोष तिम्रो मात्र छैन, छ मेरो पनि
मैले तिम्रो झोलालाई
बेलैमा बहुरङ्गी भन्ने ठम्याउन सकेको भए
दाग र रङ पहिचान गर्न सकेको भए
आज तिमी, तिमी हुने थिएनौ
म, म हुने थिइनँ ।
म विचार बदल्न सक्दिनँ
झोला बिसाउन सक्छु,
गन्तव्य भुल्न सक्दिनँ
विश्वास बदल्न सक्छु
अब तिमी नै भन कमरेड !
म के गरौँ !