योगी माथि आपत्तिजनक टिप्पणी गर्ने पत्रकार रिहा

योगी माथि आपत्तिजनक टिप्पणी गर्ने पत्रकार रिहा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २८, २०७६

काठमाडौं, एजेन्सी । उत्तर प्रदेशका मूख्यमन्त्री आदित्यनाथ योगी माथि आपत्तिजनक टिप्पणी गर्ने पत्रकार प्रशांत कनौजिया रिहा भएका छन् । 

सुप्रिम कोर्टले मंगलबार भएको सुनुवाईमा उनलाई छोड्ने आदेश सरकारलाई दिएको हो । 

सुनुवाईका क्रममा सुप्रिम कोर्टले उत्तर प्रदेश सरकारसँग पत्रकारलाई गिरफ्तार गर्नुपर्ने कारणका बारेमा सोधेको थियो । 

सुप्रिम कोर्टले सरकारले यस मामिलामा उदारता देखाउँदै पत्रकारलाई रिहा गर्नुपर्ने आदेश गरेको थियो । 

सुप्रिम कोर्टले भनेको छ, ‘यस प्रकारको टिप्पणी गर्नु हुँदैनथ्यो तर यसका लागि गिरफ्तार न्यायपूर्ण थियो त ? सरकारले यस विषयमा उचित कारवाही गनुृपर्ने थियो ।’

जस्टिस इंदिरा बनर्जी तथा जस्टिस अजय रस्तोगीको बेंचले नागरिकको स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण भएका कारण यसमा कुनै सम्झौता हुन सक्दैन् तथा संविधानद्वारा प्राप्त स्वतन्त्रतामा कुनै तलमाथि हुननसक्ने पनि बताएको थियो । 

कांग्रेस अध्यक्ष राहुल गान्धीले भने यसलाई उत्तर प्रदेशको मुख्यमंत्रीको मूर्खतापूर्ण व्यवहारका रुपमा टिप्पणी गरे । 

उनले भने, ‘यदि मेरा बारेमा भ्रमपूर्ण समाचार दिने पत्रकारलाई जेल पठाउने हो भने पत्रिका तथा टिभि न्युज च्यानलमा अहिलेसम्म कर्मचारीको कमी भैसकेको हुन्थ्यो ।’ 

प्रशांतले ६ जुनमा आफ्नो ट्विटर हैंडलबाट ‘इश्क छुपता नहीं छुपाने से योगी जी’ शीर्षकमा एउटा पोस्ट गरेका थिए । 

साथै उनले एउटा भिडियो पनि अपलोड गरेका थिए जसमा एक युवती मुख्यमंत्री कार्यालयको बाहिर बसेर आफू  योगी आदित्यनाथको प्रेमिका भएको बताई रहेकी थिइन् ।