कामना त्याग्नुस्, आनन्दमा रमाउनुस्

कामना त्याग्नुस्, आनन्दमा रमाउनुस्

बाबुहरि ज्ञवाली  |  जीवनशैली  |  जेठ २८, २०७६

मानिसको स्वरूप शाश्वत् अस्तित्व हो, मृत्यु होइन ।

उपनिषेदमा भनिएको छ–

यदा सर्वे प्रमुच्युते काम ये स्य हृदि श्रीता ।

अथ मत्र्योमृतो भवत्यत्रा ब्रहा समश्रुते ।।

अर्थात्, जुन बेला मनुष्यका हृदयमा रहेका सम्पूर्ण कामनाको नाश हुन्छ, त्यसबेला यो मरणशील मनुष्य अमर हुन्छ र यसै मानव देहमा नै उसले परमेश्वरको साक्षात्कार गर्छ ।

मानिस सदा सुखी रहन चाहन्छ । ऊ आफूलाई ज्ञान, शक्ति र धनसम्पत्तिबाट सम्पन्न बनाउन चाहन्छ, परन्तु उसको यो चाहना आफ्नो शक्ति तथा भौतिक वस्तुबाट पूरा हुन सक्दैन । किनकि उसले जे चाहन्छ त्यो यस संसारसँग छैन ।

कामनाले उसको ज्ञानलाई ढाकिदिन्छ र ऊ विवेकशून्य बन्छ । आफ्नो दुःखको कारण कामनालाई मानिसले छोड्न सक्दैन । मानिसलाई जति भोग्य पदार्थ प्राप्त हुँदै जान्छन् त्यति उसको कामना बढ्दै जान्छ । ऊ मलाई यति भए पुग्यो भनेर सन्तोष लिन सक्दैन ।

ईश्वरले कृपा गरेर हामीलाई मानव देह दिएका छन् । त्यसकारण यस जीवनलाई सफल बनाउन हामीले आफ्ना भाव र आचरण पवित्र राख्न सक्नुपर्छ । जुन मानिस सर्वभावले ईश्वरको ध्यान तथा भजन गर्छ, उसलाई कुनै प्रकारका भय हुँदैनन् । भय उत्पन्न हुनुको मुख्य कारण अनिष्टको सम्भाव हो । जब मनुष्यले हिंसा, अन्याय, अत्याचार, भ्रष्टाचार आदि निन्दित कर्म गर्छ तब उसको मनमा आन्तरिक भय उत्पन्न हुन्छ । उसलाई यी निन्दित कर्म गर्न उत्प्रेरित गर्ने उसको मान, मर्यादा, इज्जत तथा सुख एवं ऐश्वर्या प्राप्तिको भाव हो । ऊ सदा सांसरिक भोगविलासका साधन उपलब्ध भइरहुन् भन्ने चाहना राख्छ । र, तिनको संरक्षण कसरी गर्ने भन्ने सोच राख्छ । अन्याय, अत्याचार गर्ने मानिसको हृदय तथा कठोर हुन्छ । तर पनि उसको मनमा एक प्रकारको भय रहिरहन्छ । भय दुई प्रकारको हुन्छ, बाह्य र आन्तरिक । चोर, डाँकु, आतंककारी, हिंस्रक जीवजन्तु आदिबाट हुने भय बाह्य हो भने आफ्नो जाति, धर्म, वर्ण, सम्प्रदाय आदिबाट हुने भय आन्तरिक हो । तर, यस प्रकारको भयले मानिसलाई दुष्कर्महरू गर्नबाट जोगाउँछ पनि ।

त्यसकारण मानिसले दुष्कर्महरूलाई त्यागेर आफ्नो भाव र आचरण शुद्ध राख्न प्रयत्न गर्नुपर्छ, यसो गर्दा उसलाई कुनै प्रकारको भयले सताउँदैन । मानिसमा जबसम्म ‘म’, ‘मेरो’ भन्ने भावना रहन्छ तबसम्म उसमा जड अंशको प्रभुता रहन्छ । यसबाट ऊ सांसारिक माया–मोहप्रति बढी आकृष्ट हुन्छ । र, ऊ कामनामा विजय पाउँदैन । चेतना अंशको कमीका कारण उसको पारमार्थिक इच्छा दुर्बल रहन्छ । युद्धमा कुनै शत्रुमाथि इच्छाविजय प्राप्त गर्नु छ भन्ने पहिलो उसको शक्तिको अनुमान लगाउनुपर्छ, ऊसँग भएका खरखजाना तथा उसका संचार संयन्त्रहरूको जानकारी राख्नुपर्छ । यस्तै, युद्धमा होमिन प्रेरित गर्ने कामनारूपी शत्रुका जडरूपी युद्ध सामग्री नष्ट गर्नुपर्छ । जड नष्ट भएपछि मूल स्वतः नष्ट भएर जान्छ ।

मानिसलाई कर्मक्षेत्रबाट विमुख हुन बाध्य पार्ने सबैभन्दा ठूलो शत्रु कामना हो । यसले जागृत अवस्थामा मात्रै होइन, स्वप्नमा पनि सुख दिँदैन ।

आफूले केही पाउने इच्छा राख्नु नै कामना हो । कामना तत्कालिन सुखको पनि हुन्छ । भावी सुखको पनि इन्द्रीयजन्य भोग तथा भौतिक वस्तुको संग्रह इच्छा तात्कालिक सुखको कामना हो भने आफूले गरेको कर्मको फलको इच्छा भावी सुखको हो । यी दुवै कामनामा दुःख नै छ । किनकि चाहेको कुरा नपाउनु र नचाहेको कुरा पाउनु दुःख हो । कामना उत्पन्न भएपछि मानिसमा कर्तव्य र अकर्तव्यको विचार रहँदैन । जसले संयोगजन्म सुखलाई वास्तविक ठान्छ र यो संसार क्षणभङ्गर भन्ने कुरा सोच्दैन, ऊ आफू स्वयम् र ईश्वरदेखि विमुख रहन्छ ।

मानिसको हृदयमा ईश्वर विद्यमान छन् । ईश्वरले मानिसलाई कर्तव्य–अकर्तव्यबारे ज्ञान दिइरहेका हुन्छन् । आफूलाई कर्तव्य–अकर्तव्यबारे ज्ञान हुँदा पनि ऊ दुष्कर्म गर्नबाट विमुख हुँदैन । किनकि कामनाले उसको ज्ञानलाई ढाकिदिन्छ र ऊ विवेकशून्य बन्छ । आफ्नो दुःखको कारण कामनालाई मानिसले छोड्न सक्दैन । मानिसलाई जति भोग्य पदार्थ प्राप्त हुँदै जान्छन् त्यति उसको कामना बढ्दै जान्छ । ऊ मलाई यति भए पुग्यो भनेर सन्तोष लिन सक्दैन । उसका अगाडि अरु नयाँ–नयाँ आवश्यकता थपिँदै जान्छन् । ती आवश्यकताको पूर्ति गर्न नसकेको अवस्थामा ऊ अन्यायको बाटो अँगाल्न पनि केही मान्दैन । यसरी ती नाशवान वस्तुहरूको पछि लाग्दा इहलोकमा त उसले आफ्नो कामना पूर्ण गर्न सक्दैन । परलोक सुधार्ने काम गर्ने पनि पाउँदैन । अतः मानिसले जबसम्म शरीरलाई नै ‘म’ र ‘मेरो’ भन्ने ठान्छ, त्यसको ज्ञानको सीमा शारीरिक इन्द्रीयसम्म मात्र सीमित रहन्छ । ऊ आफ्नो कामनाको पूर्ति गर्न बाह्य परिस्थितिमाथि निर्भर रहन्छ । जब ऊ आफूले चाहेको कुरा प्राप्त गर्न असमर्थ हुन्छ अनि ऊ अशान्त, उद्धिग्न बन्छ । जब ऊ आफ्नो शक्तिलाई इन्द्रियको प्रभावबाट मुक्त गर्न समर्थ बन्नेछ तब उसले आफनो चेतनालाई अन्तरात्मामा रहेको परमात्मासँग जोड्नेछ । त्यसबेला उसलाई न कुनै कुराको कामना रहनेछ न त कसैसँग डरको आभास नै हुनेछ । ऊ दिव्य आनन्दमा रमाउनेछ ।