साहित्यिक भेट: औकात अनुसार सौगात हस्तान्तरण

साहित्यिक भेट: औकात अनुसार सौगात हस्तान्तरण

ज्ञानेन्द्र विवश  |  साहित्य  |  पुस २०, २०८१

जीवनका कुनै क्षणहरू विशेष हुन्छन्, जहाँ समय, स्थान र भावना एकैसाथ संगममा आउँछन् । यस्तै एउटा पल, एक साहित्यिक साक्षात्कारको अनुभव, मसँग अहिले शब्द–शब्दमा जीवित छ । अंग्रेजी वर्ष २०२४ को अन्तिम साँझ, गोधूलि समयले बिदाइको आभास दिँदै गर्दा, म साहित्यकार अविनाश श्रेष्ठको निवासतर्फ लागेँ । 

कोटेश्वरको ओरालो बालकुमारीतिर झरेर पुल नपुग्दै दायाँ मोडिएँ । पश्चिमी आकाश रक्तिम लालीमा रङ्गिएर, दिनले रातलाई स्वागत गरिरहेको दृश्य थियो । जीवनको घडीजस्तै, समय पनि नयाँ अध्यायमा पाइला चाल्दै थियो । त्यो दिनको वातावरणले मात्र होइन, मेरो मनको चञ्चलताले पनि भेटघाटको उत्सुकता थपिदिएको थियो । 

उहाँको निवास पुग्नै लाग्दा अलिकति उकालो बाटोको विगतका स्मृतिहरूले मलाई हौसाउँदै अगाडि बढाए । धेरै वर्षअघि यस्तै एक साँझ उहाँको घरमा पुगेको सम्झना ताजा भएर आयो । त्यसबेला उहाँसँग भएका वार्तालापको मिठासले मेरो साहित्यिक सोचाइलाई अझ परिष्कृत गरेको थियो ।  

यसरी स्मृतिहरूमा हराउँदै, म उहाँकै घरको ढोका अगाडि पुगेँ । फोनमा आफू आइपुगेको जानकारी दिएर बाहिर प्रतीक्षामा उभिँदा, उहाँको आवाज मेरो कानमा गुञ्जियो– ‘भाइले बिर्सिनुभएको रहेन छ । तपाई ठिक ठाउँमा आइपग्नुभयो ।’ ती शब्दहरूमा आत्मीयता झल्किन्थ्यो, जुन कुनै पनि सम्बन्धको जरो बन्छ ।  

उहाँ बाहिर आउनु भएपछि हामीले केही छिन बिगतका कुराहरू स्मरण ग¥यौँ । बढ्दो शहरीकरण, साहित्य, जीवन, र भविष्यका नयाँ सम्भावनाहरूको चर्चा गर्दै उहाँको घरमा प्रवेश गर्दा, प्रत्येक पुस्तक, प्रत्येक पानामा उहाँको श्रम र समर्पणको महक थियो । त्यो वातावरणमा साहित्य आफ्नै जीवन्त रूपमा प्रस्तुत भइरहेको मैले महसुस गरिरहेँ ।  

साहित्यकारहरूसँगको संवाद सधैं गहिरो अनुभवको श्रोत हुन्छ । त्यहाँ शब्दहरूले मात्र होइन, मौनताले पनि आफ्नो भूमिका निभाउँछ । अविनाश श्रेष्ठसँगको यो भेटघाटले मलाई फेरि एकपटक सम्झायो कि साहित्य मात्र शब्दको संयोजन होइन; यो जीवनको अभिव्यक्ति पनि हो र हुनुपर्छ ।  

आज अंग्रेजी महिनाको अन्तिम साँझ साहित्यिक वातावरणमा डुबेको एउटा विशेष घडी थियो । हामी दुवैजना आफ्ना व्यस्त दिनचर्याहरूको संसारबाट बाहिर निस्केर प्रत्यक्ष रूपमा साहित्यिक मन लिएर भेट भएका थियौं । औपचारिकता, औपचारिकताको लागि मात्र, हाम्रो सम्बन्धमा थिएन । बरु हृदयदेखि हृदयसम्मको संवाद थियो ।  

मैले मेरो निबन्ध संग्रह ‘सुन्दरीचोक’ र ‘अर्धकदको अवसान’ उहाँलाई प्रदान गर्दा त्यो केवल कोसेली मात्र थिएन; त्यो मेरो अनुभव, मेरो दृष्टि र मेरो भावना थियो, जसलाई मैले शब्दको माध्यमबाट संसारसँग बाँडे । ती किताबहरू उहाँलाई सप्रेम अर्पण गर्दा मेरो हृदयले आनन्द महसुस गर्‍यो । धेरै अगाडिबाटै उहाँलाई ती किताब अर्पण गर्ने मेरो सोँच थियो । बल्ल त्यो समय आएको थियो । एउटा स्रष्टाले अर्को स्रष्टालाई गरेको सम्मान थियो ।  

अविनाश श्रेष्ठ नेपाली साहित्यका एक विशिष्ट र बहुआयामिक व्यक्तित्व । कथा, कविता, नाटक र सम्पादनजस्ता साहित्यिक विधामा उहाँको सक्रिय योगदानहरूले उहाँलाई नेपाली साहित्यमा एक पृथक साधकका रूपमा स्थापित गराएको छ । उहाँको लेखनशैलीमा भावनात्मक गहिराइ, यथार्थवादी चित्रण र सौन्दर्यपरक प्रस्तुति मैले महसुस गरेको छु ।

उहाँले पनि मलाई भर्खरै प्रकाशित कविता संग्रह ‘करोडौं सूर्यहरूको अन्धकार’ सप्रेम प्रदान गर्नुभयो । उहाँका कविता सँगालोले मेरो मनमा उर्जा भर्न थाल्यो । त्यो कोसेली शब्दहरूको मात्रै थिएन । त्यो आत्मीयता पूर्ण र औकातनुसार सौगात हस्तान्तरणको क्षण थियो । हामी दुवै स्रष्टाले आफ्ना सिर्जना साटासाट गर्दा अनुभूत गरेका ती क्षणहरू बोधको घडी थिए ।  

पुस्तक हस्तान्तरणको मात्रै हाम्रो भेटघाटको सार थिएन । त्यो भन्दा बढी थियो–हाम्रो सिर्जना र चिन्तनले गरेको आत्मीय संवाद । उहाँको कविता संग्रहको नामले मलाई गहिरो प्रभाव पारेको थियो । ‘करोडौं सूर्यहरूको अन्धकार’ यस शीर्षकमा एउटा गहिरो दर्शन, एउटा प्रखर चेतना थियो । 

मैले सोचेँ, उहाँको नवीनतम् कविता संग्रहको शीर्षकमै पनि कति धेरै अनुभूति र अनुभव लुकेको छ । उहाँका कविताहरूले शब्दहरू मात्र होइन, भावना, दर्शन र चेतनालाई जीवित राख्ने वचन बोकेका छन् ।  

हाम्रो भेटले एक स्रष्टाका लागि अर्को स्रष्टा प्रतिको आदर, सम्मान र आत्मीयता प्रकट गर्‍यो । साहित्यको यो सुन्दर पक्ष हो । यहाँ शब्दहरूले हृदयमा सेतु निर्माण गर्छन् । यस्तो लाग्थ्यो, हामी कोसेलीमार्फत आफ्ना सम्पूर्ण अनुभव, भावना र चेतनालाई साटिरहेका थियौं ।  

त्यो क्षण मेरो लागि एउटा प्रेरणादायी स्मृति बन्यो । स्रष्टाहरूको भेटघाटले केवल कोसेलीहरू बाँड्दैन; त्यो सिर्जनाको यात्रा साझा गर्दै नयाँ उचाइतर्फ लम्किने प्रेरणा दिन्छ । शब्दहरूको त्यो आदान–प्रदानले हामीलाई भविष्यमा पनि सधैंभरि प्रेरित गरिरहने छ ।  

जीवनका हरेक मोडमा केही यस्तो समय आउँछ, जसले विगतका बिर्सिएका चित्रहरुलाई पुनः जीवन्त बनाउँछ । धेरै वर्षपछि कोटेश्वरको बालकुमारी पुगेको त्यो साँझ मेरो लागि यस्तै भयो । साँझको हिउँदे चिसो मौसमले न्यानो आत्मीयताको अनुभूति दिलाएको थियो । म उहाँहरू– अविनाश श्रेष्ठ र मन भाउजूको निवास पुग्दा, समय एक क्षणका लागि स्थिर भएजस्तै लाग्यो ।  

स्मृतिका कुनै अदृश्य झिल्काले विगतका दिनहरूलाई आँखाअघि उभ्यायो । सम्झिएँ, कति रमाइला थिए ती दिनहरू । ‘समकालीन साहित्य’ र ‘गरिमा’ साहित्यिक पत्रिकाको कुशल सम्पादनमा उहाँको भूमिका र स्तरीय पत्रिकाको पहिचान गराएको याद आइरह्यो । ती सबै सम्झनाहरूलाई समयको  धुलोले ढाकेर राखेको रहेछ । तर आज उहाँको मुस्कानले ती स्मृतिहरूलाई पखालिदियो ।  

मन भाउजूको मिठो मुस्कान र आत्मीय स्वागतले मेरो मनलाई थप शान्त र शीतल बनायो । उहाँको सरलताले मेरो थकित हृदयमा विश्राम दिएको महसुस भयो । उहाँहरूको माया र स्नेहले मैले सम्झे कि सम्बन्धहरू समयका कारण चिसिँदैनन्, ती त बस केवल टाढा रहेका हुन्छन् । आजको भेटले तिनीहरू सबै–सबैलाई पुनः ताजा बनाइ दियो ।  

त्यो साँझ हामीले ‘ग्रिन टी’ को चुस्की र ‘केक’ को गुलियो स्वादमा विगतका सपनाहरू, संघर्ष र सफलताहरूलाई पस्कियौं । अविनाश दाइले पुराना दिनका साहित्यकारका रमाइला किस्साहरू सुनाउँदा हामी सबै हाँस्यौँ । ती आत्मीय पलहरूले सम्बन्धको गहिराइलाई अझ मजबुत बनायो ।  

सम्बन्धहरूका लागि भेटघाट र संवाद कति महत्वपूर्ण रहेछ भन्ने कुरा मैले आज बुझेँ । ती पलहरू केवल स्मृतिहरूको नवीकरण मात्र थिएनन्, ती भविष्यका लागि पनि ऊर्जा र प्रेरणाको स्रोत थिए ।  

त्यो साँझ बालकुमारीको त्यो घर केवल एउटा भेटघाटको स्थान रहेन, त्यो एउटा साहित्यिक मनको मन्दिर बन्यो । जहाँ सम्बन्धका रसिला कविता लेखिए, आत्मीयताको कथाहरू बुने र जीवनका गीत गाइए ।  

अविनाश श्रेष्ठ नेपाली साहित्यका एक विशिष्ट र बहुआयामिक व्यक्तित्व । कथा, कविता, नाटक र सम्पादनजस्ता साहित्यिक विधामा उहाँको सक्रिय योगदानहरूले उहाँलाई नेपाली साहित्यमा एक पृथक साधकका रूपमा स्थापित गराएको छ । उहाँको लेखनशैलीमा भावनात्मक गहिराइ, यथार्थवादी चित्रण र सौन्दर्यपरक प्रस्तुति मैले महसुस गरेको छु । 

\

कवितामा मानवीय संवेदनालाई समेट्दै जीवन र समयको विविध आयामलाई सरल, तर प्रभावशाली भाषामा अभिव्यक्त गर्नुभएको छ । नाटकमा उहाँले समाजका विविध पक्षहरूलाई कलात्मक ढंगले जीवित गराउनुभएको छ । साथै, सम्पादन कार्यमा उहाँको कुशलता र सूक्ष्म दृष्टिकोणले धेरै सिर्जना कृतिहरूलाई गुणस्तरीय र प्रभावकारी बनाएको छ ।

अविनाश श्रेष्ठ साहित्य सिर्जनाकर्ता मात्र हुनुहुन्न । समाजको प्रतिबिम्ब झल्काउने एक संवेदनशील र विचारशील स्रष्टा व्यक्तित्व पनि हुनुहुन्छ । उहाँका कृतिहरूले पाठकलाई सोच्न, महसुस गर्न र परिवर्तनको लागि प्रेरित गर्छन् । यसकारण, उहाँले नेपाली साहित्यमा एउटा विशिष्ट स्थान बनाउनुभएको छ ।

आज म कोटेश्वरबाट फर्किँदा एउटा नयाँ अनुभव बोकेर फर्के । म कुनै भाह्री मन लिएर फर्किँदै थिइनँ । प्रेम, स्नेह र सम्बन्धका फूलहरू बोकेर म फर्किएको थिएँ । ती फूलहरू मेरो सिर्जनात्मक लेखन जीवनको  हरेक कठिनाइलाई सजाउन र सुगन्धित बनाउन पर्याप्त थिए ।  

सन् २०२४ को अन्तिम साँझ, त्यो गोधूलिको क्षणले भोलि आउने २०२५ नयाँ वर्षको स्वागत मात्र गरेन, मेरो जीवनमा साहित्यको महत्वलाई अझ नयाँ र सजीव बनायो । यही अनुभूतिलाई म लेखकीय मनहरूले शब्दहरूमा उतार्न सक्छु भने, त्यो क्षणको ऋण केही मात्रामा तिरेजस्तो मलाई लाग्छ ।