प्रा. डा. हेमनाथ पौडेल | अन्तर्मन्थन | पुस २४, २०८१
मानिसका जीवनमा मृत्यु अवश्यम्भावी छ । जन्म र मृत्यु जीवनपटका दुई किनारा हुन् । जन्मेपछि मानिसले मृत्यु वरण नगरि हुँदैन । मानिस मात्र होइन, संसारका कुनै पनि जीव अजरामर हुँदैनन् । यो शाश्वत् सत्य कुरा हो। कसको मृत्यु कतिखेर हुन्छ भन्ने थाहा नभए पनि हरेकको मृत्यु कुनै न कुनै दिन हुन्छ भन्ने कुरा मानसिलाई थाहा छ तर मृत्यु स्वाभाविक नभएर जब अस्वाभाविक हुन्छ तब त्यो मानिसका लागि अत्यन्त दुखदायी बन्छ । यस्तै दुखदायी मृत्यु बन्यो–प्रा.डा.ताराकान्त पाण्डेयको पनि ।
त्यस दिन २०८० साल पुस २८ गते शनिबारको दिन थियो । हामी पारिवारिक भ्रमणमा साँखुतिरबाट प्रवेश गरी नगरकोट हुँदै भक्तपुरबाट घर आउने योजनाका साथ बिहानै विभिन्न स्थानको अवलोकन गर्दै नगरकोट नजिक पुगेका थियौँ । हामी श्रीमान्–श्रीमती अनि माइलो साइलो भाइ र दुवै बुहारी गरी छ जना गाडीमा यात्रारत थियौँ । अचानक मोबाइलमा घण्टी बज्यो एक तमाससँगले । सधैँ भन्दा यो आवाज अलिक फरक थियो । झटपट फोन उठाएँ, प्रा.जगत् उपाध्यायको रहेछ । उहाँले एक्कासि भन्नुभयो– ‘तारा सरको कुरा थाहा पाउनुभयो ?’ ‘छैन के कुरा हो र ?’ मैले प्रतिप्रश्न गरेँ । उहाँले भन्नुभयो– ‘गए राति नेपालगन्जबाट आउँदै गर्दा दाङको भालुबाङमा गाडी दुर्घटनामा पर्नुभएछ’ । ‘हो र ! अनि उहाँको अवस्था कस्तो छ त ?’ आश्चर्यका साथ दुखी हुँदै मैले सोधेँ । उहाँले भन्नुभयो– ‘उहाँ नरहनुभएको आशङ्का छ ।’ मेरो मन आत्तियो । सुरुमा त मलाई विश्वासै लागेन । उहाँले घटनालाई पुष्टि गर्दै फेरि भन्नुभयो– ‘केही समय अगाडि मित्रलालजीले जानकारी दिनुभएको, उहाँ तारा सरका घरमा पुग्नुभएको रहेछ, अहिले ताराजीको परिवारसँगै हुनुहुन्छ उहाँ’ । म एकदमै हतप्रभ भएँ र कवि मित्रलाललाई तत्कालै फोन गरेँ । केही गर्दा पनि उहाँसँग सम्पर्क हुन सकेन ।
केही समयपछि डाटा खोलेर फेसबुक हेरेँ । आशङ्कालाई पुष्टि गर्ने थुप्रै समाचारहरू फेसबुकका भित्तामा छ्याप्छ्याप्ती आइसकेका रहेछन् । केही समयपछि अरू बाह्र जनासहित उहाँको नाम एफ.एमहरूले फुक्न थाले । पछि उहाँको पार्थिव शरीर काठमाडौँ ल्याइयो र छोरीज्वाइँ अमेरिकाबाट आएपछि इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्राङ्गणमा श्रद्धाञ्जलिका निम्ति राखियो । हामीले त्यहाँ पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ र म सँगै गएर ताराजीको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धा व्यक्त गर्यौँ । श्रद्धाञ्जलिका निम्ति पार्टीका नेता, कार्यकर्ता, वामबौद्धिक व्यक्तित्वहरू, शुभचिन्तक र विद्यार्थी समुदायको समेत उल्लेखनीय उपस्थिति थियो । पछि आर्यघाट लगेर उनको पार्थिव शरीरको दाहसंस्कार गरियो । यही बिचमा कलङ्कीपरि ढुङ्गे अड्डा नजिक अर्किट कोलोनीमा रहेको उनको घरमा पुगेर ताराजीकी जीवनसाथी शीला योगी र परिवारलाई भेटेर समवेदना पनि प्रकट गरियो ।
यस दिन म, गुरु प्रा.केशव सुवेदी, मित्रहरू प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ र प्रा.डा.ऋषिराम शर्मा सँगै गएका थियौँ । त्यहाँ अरू पनि धेरै मानिस उपस्थित थिए । शीलाले ताराजीको अवकाशपछिको जीवन, सुदूर पश्चिमको कार्यक्रम, केही समयअघि उहाँसँग भएको सम्पर्क र घटनापछिको आफ्नो अवस्थाका बारेमा बताउनुभयो । शीला पनि राजनीतिक, वैचारिक रूपमा सचेत र एक सङ्घर्षशील नारी भएकाले उहाँले आफूलाई सम्हाल्न सक्नुभएको बोध भयो हामीलाई । मैले व्यक्तिगत रूपमा र साहित्य सदन नेपालको अध्यक्षका नाताले समेत आजीवन सदस्य र सदनले प्रतिवर्ष प्रदान गर्ने गरेको ‘हृदयचन्द्र स्मृति सम्मान’ प्राप्त व्यक्तिसमेत भएकाले ताराजीलाई श्रद्धाञ्जलि र परिवारमा समवेदना प्रकट गरेँ । पछि इच्छुक सांस्कृतिक प्रतिष्ठानले मोहन वैद्य ‘किरण’ को प्रमुख आतिथ्य र प्रा.डा.जगदीशचन्द्र भण्डारीको अध्यक्षतामा विभिन्न नेता र बुद्धिजीवीहरूको उपस्थितिमा माघ १३ गते आयोजना गरेको शोकसभामा मैले पनि ताराजीसँगका सहकार्य र उहाँको साहित्यिक, प्राज्ञिक योगदानका बारेमा मन्तव्य राखेँ । यसरी ताराजीले अनायासै मृत्युवरण गर्नुपर्यो र हामी उहाँलाई बिदाई गर्न बाध्य भयौँ ।
ताराजी त्रिभुवन विश्वविद्यालयबाट अनिवार्य अवकाश प्राप्त गरेपछि इच्छुक सांस्कृतिक प्रतिष्ठान र पार्टीका काममा व्यस्त रहन थालेका थिए । उनी यस वेला इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष र मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय सल्लाहकार र स्कुल विभागको सदस्य थिए । उनी पार्टीका काममा प्रशिक्षणका निम्ति त्यस वेला सुदूरपश्चिमको कैलाली गएका रहेछन् । प्रशिक्षणपछि बाँके खजुरामा रहेका आफन्तहरूलाई भेटेर काठमाडौँ फर्किने क्रममा दाङको भालुबाङमा चालकले प्रहरीलाई छल्न तीव्र गतिमा बस दौडाउँदा अनियन्त्रित भई बस पुलबाट खस्दा उनीसहित १२ जनाले ज्यान गुमाउनुपरेको र अरू धेरै घाइते भएको थाहा भयो ।
ताराजी मेरो विद्यार्थी कालदेखिकै असल मित्र थिए । उनीसँग मेरो पहिलो भेट २०४२ सालमा भएको हो । त्यस वेला म त्रिवि कीर्तिपुरमा नेपाली विभागमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत थिएँ । उनी पहिलो वर्षमा भर्ना हुन आए । यसपछिका अवधिमा हामीले केही समयको विद्यार्थी जीवन सँगै बितायौँ र एउटै पेसामा प्रवेश गरेर साढे तीन दशक विश्वविद्यालयको सेवामा रहेर सँगसँगै जसो प्राध्यापक पदबाट अवकाश पनि भयौँ । २०१७ साल असोज ८ गते रुपन्देहीमा जन्मेका तारा र म सँगसँगैका हौँ । मभन्दा तीन महिनाले मात्र उनी कान्छा थिए । उनी कीर्तिपुर पढ्न आउँदा कम्युनिस्ट राजनीतिमा संलग्न भई एउटा वैचारिक धारबाट अगाडि बढिसकेका रहेछन् । म पनि वनारसबाट नेपाल आएपछि २०३६ सालमा धरानमा पढ्दा नेकपा मालेको सम्पर्कमा आई भूमिगत रूपमा विभिन्न कमिटीमा काम गर्दै तेह्रथुम र पाँचथर हुँदै काठमाडौँ आइपुगेको थिएँ र त्यस वेला कीर्तिपुरमा अनेरास्ववियु पाँचौँको कमिटीमा सक्रिय थिएँ ।
नयाँ विद्यार्थी आएपछि सुरुमा त मैले उनलाई आफ्नो कमिटीमा आवद्ध हुन अनुरोध गरेँ तर उनले मानेनन् । पछि थाहा भयो उनी त अनेरास्ववियु छैटौँमा संलग्न रहेछन् । भित्रभित्रै काम गर्ने र बाहिर नदेखिने उनको स्वभाव थियो । पार्टीगत रूपमा ने.क.पा मशाल, नेकपा एकता केन्द्र र नेकपा माओवादी हुँदै पछिल्लो अवधिमा मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टीमा आबद्ध थिए उनी । त्रिविमा प्राध्यापन गर्न थालेपछि भने प्राध्यापक क्षेत्रको वैचारिक समूहबाहेक पार्टी कमिटीमा खुला रूपमा बाहिर देखापरेको थाहा छैन मलाई । प्राध्यापक पेसाको मर्यादा राखेर पेसाप्रति इमान्दार भएरै बसे उनी । पार्टी र सङ्गठनका काममा भन्दा पनि अध्ययन–अनुसन्धानका काममा नै उनको बढी रुचि थियो ।
नेपालका राजनीतिक पार्टीहरूले पेसाकर्मी बुद्धिजीवीहरूलाई पनि सदस्य बनाएर पार्टी करण गर्ने गरेका छन् । विज्ञ हुनु नपर्ने, पार्टी सदस्य र नेताको निकट भए पुग्ने मापदण्डले गर्दा विज्ञताको क्षेत्र कमजोर बन्न पुगेको छ । वैचारिक आवद्धता त आवश्यक छ तर पेसाकर्मी, बुद्धिजीवी र विषय विज्ञहरूलाई खुला रूपमा पार्टी कमिटीहरूमा आबद्ध गर्नु उपयुक्त हुन्न भन्ने लाग्छ मलाई । यद्यपि म पार्टीको नीतिले गर्दा नेकपा माले हुँदै एमालेमा आवद्ध रहेँ र खुला रूपमै पार्टी कमिटीमा पनि सक्रिय भएँ । एकपटक एमालेका अध्यक्ष मनमोहन अधिकारीले काठमाडौँको गणेश माविमा आयोजना गरेको प्राध्यापक इलाका सम्मेलनमा प्रमुख अतिथिको आसनबाट भन्नुभएको कुरा म सम्झन्छु । उहाँले ‘'प्राध्यापक, डाक्टर, इन्जिनियर, शिक्षक आदि पेसाकर्मी र कुनै पनि विषयका विज्ञहरूलाई सोझै पार्टीमा आबद्ध गर्नु हानिकारक हुन्छ । उनीहरूले हासिल गरेको विज्ञता र त्यस क्षेत्रको कामबाटै उनीहरूको मूल्याङ्कन गर्नुपर्छ, पार्टी कामका आधारमा होइन, विज्ञहरू बेगर देश बन्न सक्दैन’ भन्नुभएको थियो तर राजनीतिक पार्टीहरूले बुद्धिजीवीहरूलाई उनीहरूको विज्ञता र पार्टी कामभन्दा पनि आफूसँगको निकटताका आधारमा मूल्याङ्कन गर्ने गरेका छन् जुन एकदमै गलत छ । यस कुराप्रति ताराजी सचेत थिए जस्तो लाग्छ मलाई ।
ताराजी सामान्य आर्थिक अवस्थाको परिवारमा जन्मेका हुनाले उनको जीवन निकै संघर्षपूर्ण रहको थियो । बुबाले उनलाई सानैदेखि भारतमा मजदुरी गरेर पढाएका र पछि उनले स्वयं पनि काम गर्दै आई.ए.सम्म त्यहीँ नै पढेर नेपाल आई बुटबलबाट स्नातक गरेपछि स्नातकोत्तर पढ्न काठमाडौँ आएका थिए । ज्ञानको भोक उनमा निकै नै थियो र उनी प्रतिभाशाली पनि थिए । यसै कारण उनी एम.ए.मा सर्वप्रथम भई उत्तीर्ण भए भने यसपछि विद्यावारिधिसम्म गरेर विश्वविद्यालयमा ‘तारासर’ का रूपमा लोकप्रिय पनि भए । प्रगतिवादी नेपाली कवितामा विद्यावारिधि गर्ने जगदीशचन्द्र भण्डारीपछिका दोस्रो व्यक्ति हुन् उनी । यसपछि अमर गिरी र मैले विद्यावारिधि गर्यौँ– प्रगतिवादी नेपाली कवितामा । निरन्तरको अध्ययन–अनुसन्धान र लेखनबाटै उनको बौद्धिक, प्राज्ञिक र लेखकीय व्यक्तित्वको निर्माण भएको थियो । मिहिनेत र लगनकै कारण घरायसी आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि उनले कठिनाइका बिचबाटै उच्च शिक्षा हासिल गरेका थिए । प्राध्यापन कार्यमा लागेपछि र दुवै जनाको आर्थिक स्रोत बनेपछि भने उनको आर्थिक अवस्था सुदृढ हुँदै गएको हो । सरल, स्वाभिमानी र क्रान्तिकारी चेतना भएका ताराजी साँच्चिकै श्रमिक वर्गबाट उठेका बौद्धिक व्यक्तित्व थिए।
प्रगतिशील लेखक सङ्घमा रहँदा होस् वा अरू समूहगत वैचारिक साहित्यिक, सांस्कृतिक संस्थाहरूमा रहँदा होस् उनले प्रगतिवादी साहित्यिक एवम् सांस्कृतिक आन्दोलनलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेले ।उनी राम्रो लेखक हुनुका साथै राम्रो सम्पादक पनि थिए। कुनै पनि कुरालाई मसिनो गरी हेर्ने र पर्गेल्ने क्षमता थियो उनमा । उनले ‘कलम’, ‘आलोचना’, ‘प्रवर्तक’ आदि साहित्यिक पत्रिकाहरू र अन्य सामूहिक सङ्कलन कृतिहरूको समेत सम्पादन गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा पूरा अवधि कार्यरत रही ६३ वर्षको उमेरमा अवकाश प्राप्त गरेका प्रा.डा.ताराकान्त पाण्डेयलाई नेपाली विषयका एउटा आधिकारिक प्राध्यापकका रूपमा लिइन्थ्यो । पहिले त्रिचन्द्र क्याम्पस र पछि नेपाली केन्द्रीय विभागमा पुगेका उनी विद्यार्थीहरूका बिच निकै लोकप्रिय र सहयोगी प्राध्यापक थिए । उनी धेरै विद्यावारिधि शोधार्थीका गुरु पनि थिए। शोधनिर्देशन गर्दा वा कुनै पनि शोधप्रबन्धको मूल्याङ्कन गर्दा रौंचिरा अध्ययन गर्ने र सुझाव दिने बानी थियो उनको । समालोचकीय सामर्थ्य र अनुसन्धान विधिको राम्रो ज्ञान भएका ताराको अनुसन्धान कार्य खँदिलो र आधिकारिक बन्नुपर्छ भन्ने हुन्थ्यो ।
ताराजी र मेरो एउटै विषय र एउटै पेसागत क्षेत्र भएकाले हामीलाई विभिन्न समयमा सँगै काम गर्ने अवसर जुटेको थियो । उनी त्रिवि, मानविकी तथा सामाजिक शास्त्र सङ्कायको सहायक डिन रहेका बेला म उपकुलपतिको सल्लाहकार थिएँ । यस वेला पनि हामीले मिलेर विश्वविद्यालयका काममा सहकार्य गर्यौँ। हामी विश्वविद्यालयको जिम्मेवारीमा रहेका वेला सायद त्रिविकै इतिहासमा कमजोर र ‘जिउ भारी, बुद्धि डाँडापारी’ भएका एक जना उपकुलपति थिए । हुन त उनी त्यो जिम्मेवारीमा पुग्ने कुरामा मेरो पनि भूमिका थियो । पछि मैले उनलाई त्यहाँ पुर्याउनमा सहयोग गरेकोमा भुल भएको स्वीकार गरेँ । अक्षम र अबुझ नेतृत्व हुँदा काम गर्न सहज नहुनु स्वाभाविक थियो तर पनि ताराजी र मैले मिलेर कतिपय कामहरू गर्यौँ । उपकुलपतिको कृतघ्नताकै कारण मैले लामो समय सल्लाहकार बस्ने वातावरण बनेन र केही समयपछि फर्केर म आफ्नो क्याम्पसमै गएँ तर ताराजी भने अरू कार्यकाल पनि थप हुँदै लामो समयसम्म सहायक डिन भएर बसे । उनी त्यसरी लामो समयसम्म जिम्मेवारीमा रहनुमा उनीप्रतिको वैचारिक समूहको विश्वास र उनको सहयोगी स्वभाव एवं प्राज्ञिक नेतृत्व र कुशल कार्यशैली नै थियो । जति समय हामीले त्यहाँ सहकार्य गर्यौँ त्यो सुखद र उपलब्धीपूर्ण थियो । त्यहाँ रहँदा ताराजीले अध्ययन–अनुसन्धानका साथै डिन कार्यालयका कामलाई व्यवस्थित गर्न राम्रो भूमिका खेलेका थिए ।
ताराजीसँगका मेरा साहित्यिक, प्राज्ञिक एवं शैक्षिक क्षेत्रसँग सम्बन्धित सहकार्यका यस्ता थुप्रै सन्दर्भहरू छन् । विश्वविद्यालयमा होस् वा उच्च माध्यमिक शिक्षा परिषद्को पाठ्यक्रम, पाठ्यपुस्तक निर्माणका सवालमा होस् उनको सकारात्मक सक्रियता रहने गर्थ्यो । पछिल्लो अवधिमा शैक्षिक पाठ्यक्रमहरूमा वैचारिक सामग्री प्रवेश गराउने कुरामा उनको महत्त्वपूर्ण भूमिका रहेको थियो । उच्च माध्यमिक शिक्षा परिषद्को नेपाली विषय समितिमा हामीले डेढ दशक जति सँगै काम गर्यौँ । त्यहाँ पनि उनको भूमिका उल्लेखनीय थियो । पछि म नेपाल प्रज्ञा–प्रतिष्ठानमा काव्य विभाग प्रमुख रहेका वेला पनि उनले हामीलाई प्राज्ञिक सहयोग गरे। प्रज्ञाबाट गराइएका अनुसन्धान प्रतिवेदनहरूको मूल्याङ्कन गर्ने सन्दर्भमा होस् वा कविता–काव्यसँग सम्बन्धित सङ्गोष्ठीहरूमा होस् उनको सहयोग हामीलाई रह्यो । उनी बौद्धिक, प्राज्ञिक सहयोग गर्ने कुरामा कत्ति पनि आनाकानी गर्दैनथे ।
ताराजी र म वैचारिक, सांस्कृतिक र पेसागत क्षेत्रका सहकर्मी रहे पनि पार्टीगत राजनीतिक क्षेत्रका भने भिन्न यात्री थियौँ । यसो भए पनि हाम्रो सम्बन्ध राम्रो थियो । उनी एउटा साहित्यकार एवं समालोचकका नाताले कुनै पनि ठाउँमा औपचारिक रूपमा बोल्दा, लेख्दा प्रखर रूपमा आफ्नो मत राख्थे । समूहगत वैचारिक भिन्नताका कारण कहिले काहीँ हाम्रा बिच मतभेदहरू पनि हुने गर्थे । सिङ्गो आकाश अरूलाई छोडिदिएर आफू त्यसको एउटा कुनामा रमाउने कुराले मात्र समाजको रूपान्तरण सम्भव हुँदैन । समाजका कुरूप पक्षमाथि हस्तक्षेप गर्न सैद्धान्तिक, वैचारिक रूपमा त्यतिकै बलशाली र विस्तारित शक्तिको पनि आवश्यकता पर्दछ र मात्र उपलब्धिहरू हासिल हुन सक्छन् भन्ने कुरामा हाम्रा बिच मतभेद रहन्थ्यो । समूहगत वैचारिक एवं सैद्धान्तिक निष्ठा कै कारण उनी आफ्नो समूहभन्दा बाहिरकालाई सही नै भए पनि सिद्धान्तनिष्ट मार्क्सवादी मान्दैनथे । यसै कारणले पनि हुन सक्छ आफ्नो समूहभन्दा भिन्नहरूका बारेमा उनले कमै लेखे र कमै मात्र उनीहरूका सामग्रीलाई सन्दर्भका रूपमा उल्लेख गरे । उनी आफ्नो समूहप्रति भने प्रतिबद्ध थिए तर कुनै पनि विषयमा विमति राख्ने उनको शैली भने निकै नरम, शिष्ट र प्राज्ञिक थियो ।
उहाँ प्रगतिवादी साहित्यिक, सांस्कृतिक आन्दोलनका एकजना प्रखर व्यक्तित्व हुनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घमा रहँदा होस् वा अरू समूहगत वैचारिक साहित्यिक, सांस्कृतिक संस्थाहरूमा रहँदा होस् उनले प्रगतिवादी साहित्यिक एवम् सांस्कृतिक आन्दोलनलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेले । उहाँ राम्रो लेखक हुनुका साथै राम्रो सम्पादक पनि हुनुहुन्थ्यो । कुनै पनि कुरालाई मसिनो गरी हेर्ने र पर्गेल्ने क्षमता थियो उनमा । उनले ‘कलम’, ‘आलोचना’, ‘प्रवर्तक’ आदि साहित्यिक पत्रिकाहरू र अन्य सामूहिक सङ्कलन कृतिहरूको समेत सम्पादन गरेका छन् । उनी प्राज्ञिक क्षेत्रको राम्रो व्यक्तित्व भए पनि सङ्गठक व्यक्तित्व भने होइन भन्ने लाग्छ मलाई । नेपाल प्राध्यापक सङ्घको केन्द्रीय सदस्य रहेर उनले काम गरे पनि यो उनको रुचिको विषय थिएन । वैचारिक प्रतिनिधित्वका लागि मात्र उनी सङ्घमा सामेल भएका थिए भन्ने ठान्छु म ।
ताराकान्त पाण्डेय कवि पनि थिए तर उनले धेरै कविता लेखेनन् । उनको मूल व्यक्तित्व भनेको सफल प्राध्यापक र प्रखर मार्क्सवादी समालोचक वा सौन्दर्य चिन्तक व्यक्तित्व नै हो। नेपाली प्रगतिवादी धाराको उन्नयन र सम्बर्द्धन गर्ने कुरामा विशेषतः कविता समालोचनाका क्षेत्रमा ताराकान्त पाण्डेयको महत्त्वपूर्ण भूमिका रहेको छ । उनले मार्क्सवाद विरोधी साहित्यिक चिन्तनका विरुद्ध वैचारिक सङ्घर्ष गर्नुका साथै सैद्धान्तिक एवम् प्रायोगिक समालोचना लेखेर उल्लेखनीय योगदान गरेका छन् । उत्तर आधुनिकतावादी, कलावादी वा रूपवादी समालोचनाप्रति उनको तिखो आलोचना रहेको छ । उनका ‘कला, साहित्य, भूमिका र मूल्याङ्कन’ (२०५३), ‘प्रगतिवाद र कविता’ (२०५६), ‘देवकोटाको व्यङ्ग्य कवित्व’ (२०५८), ‘अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध’ (२०६७), ‘अर्थको आनन्द’ (२०६८), ‘समय, सिर्जना र संवाद’ (२०६८), ‘समकालीन कविताको संरचना’ (२०६९) र ‘माक्र्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र’ (२०७३) जस्ता कृतिहरूले माक्र्सवाद प्रतिध्रुवीय चिन्तनको चिरफार गर्दै माक्र्सवादी विचारलाई स्थापित गरेका छन् । उनको मूल योगदान पनि यही नै हो ।
नेपालको मार्क्सवादी समालोचनाका क्षेत्रमा थोरै व्यक्तित्वहरूका पङ्क्तिमा ताराकान्त पाण्डेयको नाम आउँछ । उनी चालीसको दशकदेखि समालोचनाका क्षेत्रमा निरन्तर सक्रिय थिए । यद्यपि मार्क्सवादी समालोचनाका सम्बन्धमा ताराजीका आफ्नै बुझाइहरू भएकाले उनका समालोचनाका पनि सीमा त थिए न तापनि यस क्षेत्रमा उनले दिएको योगदान उल्लेखनीय रहेको छ । उनी जस्ता माझिएका मार्क्सवादी समालोचक र प्रतिबद्ध चिन्तक तयार हुन लामो समय लाग्छ । उनले योगदान गर्ने अझै समय थियो र गर्ने सामर्थ्य पनि राख्थे तर ६४ वर्षको उमेरमै उनको देहावसान भएकाले बाँकी काम गर्ने अवसर उनले पाएनन् । उनको असामयिक निधन नेपाली प्रगतिवादी क्षेत्रका लागि त अपूरणीय क्षति हुँदै हो । समग्र नेपाली साहित्य र बौद्धिक जगत्कै पनि ठुलो नोक्सानी हो । अन्त्यमा उनको प्रथम वार्षिकीका अवसरमा मित्र ताराकान्त पाण्डेयप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दै यो सङ्क्षिप्त आलेखबाट यहीँ विश्राम लिन्छु ।
हाल: ग्रिफिन, ब्रिसबेन, अस्ट्रेलिया