डा. खगराज बरालको 'प्रतिरूप' सामाजिक उपन्यासमा घोत्ल्याइँ

पुस्तक समीक्षा

डा. खगराज बरालको 'प्रतिरूप' सामाजिक उपन्यासमा घोत्ल्याइँ

रामकृष्ण शर्मा  |  साहित्य  |  पुस २६, २०८१

 'प्रतिरूप' सामाजिक उपन्यासका लेखक डा. खगराज बरालको जन्मघर पोखरा महानगरपालिकाको पुम्दीभुम्दी हो । हाल उनी लोकन्थली, भक्तपुरमा बसोबास गर्छन् । बरालका 'सिकाउने शैली' 'मालामा नउनिएका फूलहरू', 'स्यानी' लगायत दुई दर्जन जति पुस्तकहरू प्रकाशन भइसकेका छन् ।

विद्यालयको शिक्षक हुँदै शिक्षा सचिवसम्मको भूमिका सफलतापूर्वक वहन गर्दै सेवा निवृत्त भएका बराल जीवनको यस कालखण्डमा थप उर्जावान् रही साहित्य सिर्जनामा क्रियाशील हुँदै गर्दा यो कृति तयार भएको हो ।

'प्रतिरूप' उपन्यासले नेपाली तथा छिमेकी मुलुक भारतीय समाजका सामाजिक, धार्मिक तथा शैक्षिक विषय तथा प्रवृत्तिलाई समेटेर उपन्यासको रूपमा अभिव्यक्त गरेको छ । लेखक बरालले यस पुस्तकमा विभिन्न पात्रहरू नवीन, निर्मल, काली, शम्भु, अस्मिता, परमानन्द, शङ्कर आदिलाई खडा गरेर तिनको खुसी, चिन्ता, चासो, व्यक्तित्व, चरित्रको गहिरो र सूक्ष्म चित्रण गरेका छन् ।  

 नवीन दाहाल यस उपन्यासका मुख्य पात्र याने नायक नै हुन् । सुरुदेखि अन्त्यसम्म यिनकै सेरोफेरोमा कथा अगाडि बढ्छ र यिनकै कथनबाट उपन्यासको बिट मर्छ । यिनको इन्जिनियरिङ पढेर देशको सेवा गर्ने सपनालाई साकार पार्ने गोलचक्कर मै उपन्यास सकिन्छ । 

लेखक बरालले प्रत्येक पात्रको चरित्रलाई सरल र प्रभावकारी भाषामा प्रस्तुत गरेका छन् । पात्रहरूको गहिराइ र समाजमा उनीहरूको प्रभावलाई पुस्तकले राम्रोसँग उजागर गरेको छ । यस पुस्तकले पाठकलाई नेपाल र भारतका विभिन्न स्थानको रोचक जानकारी प्रदान गरेको छ । जस्तैः भारतको रुड्कीको विशेषत इन्जिनियरिङ पढाइ हुने विश्वविद्यालयको आकर्षण, मेघालयको कोइला खानी र त्यहाँ काम गर्ने मजदुरको कथाब्यथा, सिलाङका खसिया जातिको संस्कृति, गोरखपुर सहर र गोरखनाथ मन्दिरको महिमा सबै यसै पुस्तकमा औपन्यासिक स्वादसंँगै जानकारी लिन सकिन्छ । 

नेपालका उदयपुर, पर्वत, स्याङ्जा, कास्की, रुपन्देही, काठमाडौँका विभिन्न ठाउँहरूको तथ्यगत जानकारी पनि रोचक र ज्ञानवर्धक तवरले प्रस्तुत गरिएको छ । भैरहवाको मर्चवार क्षेत्रको सिमानामा हुने डकैतीको नालीबेली र त्यसको सर्वसाधारणमा पर्ने त्रास पनि आफ्नै ठाउँमा छ । 

साझा यातायातको सुविधा, राजमार्गमा हुने बन्द, हडताल र जामलाई अवसरको रूपमा धमिलो पानीमा माछा मार्ने राजमार्गका होटल वालाहरूको प्रवृत्ति र यसले यात्रुलाई पार्ने हैरानी जीवन्त लाग्छन् । सडक दुर्घटनाका घाइतेहरूको तत्कालको प्राथमिक उपचार र त्यसपछि अस्पतालमा लगेर गरिने उपचारमा आउने प्रशासनिक झमेला र हैरानीले मानवीय सेवाका लागि हात बढाउन चाहने स्वयंसेवीलाई पनि नदुखेको टाउको डोरी लाएर दुखाउनु परेको प्रसङ्ग भैरहवामा भएको रिक्सा दुर्घटनामा घाइते भएकी एक महिलाको उद्धारमा खटिने मुख्य पात्र नवीनले भोग्नुपरेको कथा यथार्थपरक छ । साथै, पुस्तकमा डेभिड फल्स, महेन्द्रपुल, महेन्द्रगुफा, फेवाताल लगायतको पोखराको सेरोफेरोका पर्यटकीय स्थलको वर्णनले प्राकृतिक सुन्दरतालाई मनै लोभ्याउने तवरले प्रस्तुत गरिएको छ ।

रुपन्देहीको मर्चवार इरिगेसन प्रोजेक्टमा कार्यरत रहँदा कार्यक्षेत्रमा देखे भोगेका सामुदायिक विद्यालयका यथार्थ अवस्था चित्रण यस उपन्यासमा गरिएको छ । साथै, खाना खाने होटलकी साहुनी काली र छोरी अस्मितासँगको सम्बन्धलाई पाठकले सामान्यतया गरिने अनुमानभन्दा पृथक रूपमा प्रस्तुत गरिएको छ । यसमा नितान्त पारिवारिक स्नेह याने आमाछोरा र दाजुबहिनी बिचको स्नेह देखाइएको छ, यो नै उपन्यासको पहिलो सफलता हो । 

तिनै घाइते महिला कालीले झ्वाट्ट एक झल्को देख्ने बित्तिकै नवीनलाई प्रबिन भनेर बोलाएको बेलाको कौतुहल नै उपन्यासको अन्त्यमा आएर रहस्योद्घाटन हुन्छ, जतिबेला महाभारतमा कर्णकी आमा कुन्तीले कर्णका वास्तविक पिता पाण्डु नभै सूर्यदेव भनेर चिनाए जस्तै नवीनलाई पनि जन्म दिने बाउ प्रबिन र कर्म दिने बाउ शम्भु हुन् भनेर मेघालयको कोइलाखानीमा दिवंगत प्रविनको श्यामश्वेत फोटो देखाउँदै मैयाँले उनीसंँगको आफ्नो बसउठको कथा सुनाउँछिन् । 

 'प्रतिरूप' खगराज बरालको दास्रो सामाजिक उपन्यास हो । यो पुस्तक आख्यानमा रुचि राख्ने सबैका लागि पढ्नै पर्ने पुस्तक हो । यस पुस्तकले विसं २०३० देखि २०५४ साल सम्मको कालखण्डलाई उत्खनन् मात्र गरेको छैन, नेपाली समाजका लागि शैक्षिक, धार्मिक, सामाजिक विशेषताको चित्रणबाट प्रेरणा र शिक्षा पनि प्रदान गरेको छ । पुस्तक सङ्ग्रह गर्न योग्य छ । पुस्तक वयस्क उमेरका नागरिकलाई पढ्नका लागि उपहार दिन पनि उपयोगी देखिन्छ । 

पुस्तकको प्रस्तुतीकरण कथा कथन शैलीमा पूर्वदीप्ति (फ्ल्यास ब्याक) पद्धतिलाई अपनाइएको छ । लेखन शैली सरल, बोधगम्य, सनसनीपूर्ण र रोमाञ्चक छ । तथ्य प्रस्तुत गर्ने क्रममा कथावस्तु झनै ज्ञानवर्धक र रोचक लाग्छन् । यसैले दृष्टान्तलाई छोटा र मिठा बनाउन सकेमा सुनमा सुगन्ध थपिने थियो । यस्तो मिठो र सान्दर्भिक ग्रन्थका लागि लेखकलाई हार्दिक साधुवाद । यस्तै, प्रकृतिका रोचक पुस्तक लेखकबाट आऊन् । पेसागत जीवनमा प्राप्त गरेका अनुभव झल्किने कृति यसरी नै पस्किँदै गएमा जीवन झनै सार्थक हुने देख्दछु । अस्तु ! 

कृतिः        'प्रतिरूप'
विधाः        उपन्यास
लेखकः         खगराज बराल
प्रकाशकः        सांग्रिला बुक्स
संस्करणः         पहिलो (२०८१)
पृष्ठः        २३८
मूल्यः        रु.४९५/-