लोकसंवाद संवाददाता | समाचार | पुस २७, २०८१
कवि युद्धप्रसाद मिश्रको ११९औँ जन्मजयन्ती : सोमलिङ्गेश्वर आधारभूत विद्यालयमा स्वेटर र टोपी वितरण
काठमाडौँ । प्रथम गणतन्त्रवादी कवि युद्ध प्रसाद मिश्रको ११९औँ जन्मजयन्ती कार्यक्रम सम्पन्न भएको छ।
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले पुष २७ गते शनिबार कवि युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान, सूर्यविनायक नगरपालिका-१, सिरुटारमा उक्त कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा कवि युद्धप्रसाद मिश्रको सालिकमा माल्यार्पण गरिनुका साथै उहाँको योगदानका बारेमा चर्चा गरिएको थियो।
प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष प्राडा लेखप्रसाद निरौला, महासचिव प्राज्ञ नन्दु उप्रेती र सदस्य राममणि ढुंगेलले आफ्ना विचारहरू व्यक्त गर्दै कवि युद्धप्रसाद मिश्रले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका लागि साहित्य मार्फत निर्वाह गर्नुभएको योगदानको स्मरण गरेका थिए ।
कार्यक्रममा स्मृति प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरू, कवि युद्धप्रसाद मिश्रका परिवारका सदस्यजनहरू एवं स्थानीय बासिन्दाहरूको उपस्थिति थियो।
यसै अवसरमा प्रतिष्ठानले केही दिन अगाडि सोमलिङ्गेश्वर आधारभूत विद्यालय, सूर्यविनायक नगरपालिका-१, सिरुटार, भक्तपुरका विद्यार्थीहरूका लागि जाडोको पोशाक स्वेटर र टोपी वितरण गरेको थियो भने सिरुटार माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि स्टेसनरी सामग्रीहरू प्रदान गरेको थियो।
कवि युद्धप्रसाद मिश्रको जन्म विक्रम सम्वत १९६४ पुष २७ गते सिरुटार, भक्तपुरमा भएको थियो भने उहाँको निधन विसं २०४७ फागुन ६ गते काठमाडौँमा भएको थियो।