हरिविनोद अधिकारी | साहित्य | माघ ०९, २०८१
चिर परिचित वरिष्ठ पत्रकार तथा विभिन्न पुस्तकका सर्जक अनि अंग्रेजी लेखनमा सिद्धहस्त मानिनु भएका गान्धीराज काफ्लेको नवीनतम कृति सुस्वास्थ्य हालै प्रकाशित भएको छ ।
यस पुस्तकको विशेषता भनेको यसमा स्वास्थ्यसम्बन्धी सामान्य जानकारीमात्र दिइएको छैन । यस पुस्तकमा त्यस्ता व्यक्तित्वहरूको स्वास्थ्य चिन्तनका बारेमा खोतल्ने र जानकारी दिने कोसिस गरिएको छ, जसले समाज, राष्ट्र र अन्तर्राष्ट्रियस्तरलाई रुपान्तरणमा पनि लागी रहे । त्यस्ता व्यक्तित्वहरूको दीर्घ जीवन, मनोबल र चिन्तनमा स्वास्थ्य कसरी साधक बन्यो या बाधक बन्यो भन्ने अनौठो विषयमा जानकारी पस्कने काम भएको पाइन्छ ।
वरिष्ठ साहित्यकार समालोचक प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले आफ्नो टिप्पणीमा भन्नु भएको छ—....गान्धीजीको सुललित भाषा शैली र विषयवस्तुको गहनता दुई विचित्रका संयोग हुन् । यो प्रत्येक पेशाका नेपालीले एकपल्ट अध्ययन गर्नैपर्ने प्रथम उपहार हाम्रा सामु आयो ।
अझ आजका भाइबहिनीलाई यो कृति पढ्न प्रेरित गर्नु आवश्यक ठान्दछु किनभने यो कृति महान व्यक्तित्वको जीवनी झल्कासँगै उहाँहरुका स्वास्थ्य रक्षाका उपायको प्रामाणिक ज्ञानले सुशोभित छ । अतीतमा आफ्नै स्वास्थ्य दुर्बल भएका दिनदेखि सुस्वास्थ्यको चिन्तामा समर्पित गान्धीजी संसारकै प्रेरक व्यक्तित्वबाट सिक्नुपर्ने जीवनका पाठहरु आकर्षक भाषामा प्रस्तुत गरेर नेपाली जातिलाई यसप्रकारको गुण लगाउने प्रथम नेपाली स्रष्टा हुनु भएको छ ।...
प्राकृतिक चिकित्सा र योग शिक्षाका साधक र प्रचारक मानसाग्नि( डाक्टर हरिप्रसाद पोखरेल)ले आफ्नो टिप्पणीमा मनोयोगले परिमार्जन र परिष्कार पाएको पुस्तक भनेर भन्नु भएको छ । उहाँले अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय नेताहरु तथा ख्यातिप्राप्त व्यक्तित्वहरूको चर्चा गर्दै बीपी कोइरालाको बारेमा समेत भन्नु भएको छ-...क्यान्सरलाई मनोयोगले जितेका सकारात्मक सोच र प्रबल इच्छाशक्ति भएका बीपी कोइरालाको रोग र देशको पीडाका बीचबाट निडरताका साथ मुस्कुराउँदै बाँचेको जीवन लोभलाग्दो थियो । ....
वरिष्ठ चिकित्सक तथा साहित्यकार प्राध्यापक डाक्टर अर्जुन देव भट्टले यो पुस्तकलाई साहित्य र स्वास्थ्यको सम्मिश्रण भनेर टिप्पणी गर्नु भएको छ ।आफ्नो टिप्पणीमा डाक्टर भट्टले भन्नु भएको छ, ...जे होस् मानसिकरुपमा कमजोर व्यक्तिभन्दा मनोबल उच्च भएको मानिसले रोगव्याधि बढी सहजरुपमा सामना गर्न सक्छ । कर्म , जीवनलक्ष्य र मनोबल रोगसँग लड्न चाहिने महत्वपूर्ण हतियार हुन् । संघर्षशील व्यक्ति कठिन जीवन सहज जिउन र रोगसँग लड्न सबल हुन्छ। त्यस्तै सद्गुण अभ्यास गर्ने व्यक्ति स्वस्थ हुने सम्भावना पनि उच्च रहन्छ ।.....
प्रकाशकीयको रुपमा लेखिएको उद्वोधनमा व्यक्तिको जीवन, उसको जीवनी, मानवीय स्वास्थ्य र त्यसका आदर्श मान्यताहरुको दार्शनिक तथा आरोग्य विज्ञानका प्रामाणिक आधारहरूको सप्रसङ्ग उदाहरणहरु दिइएको छ र यस पुस्तकमा समेटिएका व्यक्तित्वहरूका बारेमा निबन्धमा भन्दा बढी जानकारी दिने प्रयास देखिन्छ । ओरिएन्टल पब्लिेकेशन हाउस प्रा. लि.ले व्यापारिक नाफाको उद्देश्यभन्दा मानवीय रुचि , प्रचलित सांस्कृतिक, स्वास्थ्यवर्द्धक तथा मानसिक सन्तोषलाई ध्यानमा राखी नयाँ सृजनालाई महत्व दिएको भनिएको छ र गुणात्मक सृजनालाई प्रकाशन गर्ने लहरमा सुस्वास्थ्य पनि तपाईँहरूका हातमा छ भनेर स्वास्थ्यका आधारमा संग्रहित जीवनी परक निबन्ध समाजलाई सुम्पिएको बताइएको छ । ्
यस जीवनी परक तर स्वास्थ्यलाई मूलतः विषय केन्द्रित निबन्धहरूका स्वास्थ्य व्यक्तित्व खण्ड र स्वास्थ्य विचार खण्ड गरी दुई भागमा बाँडिएको छ । स्वास्थ्य व्यक्तित्व खण्डमा १५ओटा निबन्धहरू छन् जसमा समेटिएका निबन्धहरू हुन्-स्वास्थ्य साहित्यको सुरस खोजिरहेको मन, महात्मा गान्धीको स्वास्थ्य सत्य, स्वास्थ्य उत्प्रेरक व्यक्तित्व बीपी कोइराला, सबल स्वास्थ्य, ओजस्वी सङ्घर्ष, अटल निष्ठा र त्यागका उदाहरण गणेशमान सिंह, ज्ञानयोगाभ्यासी कृष्णप्रसाद भट्टराईको स्वास्थ्य व्यक्तित्व, अदम्य साहस र जिजीविषले अभिसिञ्चित गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य जीवन, स्वास्थ्य आदर्शको कसीमा मनमोहन अधिकारी, आयुवीर वीरनारायण, प्रकृतिवादी जीवनशैलीका विशिष्ट अनुयायी मोरारजी देसाईँ, जीवन सत्यका निर्भीक अन्वेषक महान् स्रष्टा टाल्स्टाय, फ्रायडका तर्कहरुको उज्यालामा स्वास्थ्य र व्यक्तित्व, स्वास्थ्य सङ्घर्षकी प्रेरणा हेलेन केलर, स्वास्थ्य वैभवशाली जहाङ्गिर टाटा, आचार्य सत्यनारायण गोयन्का, विपश्यना र माइग्रेन रोगको उपचार, सम्भ्रान्त जीवन शैली र ओजस्वी कर्मले सेशोभित विस्मार्क ।
स्वास्थ्य विचार खण्डमा स्वास्थ सम्बन्धी आयुर्वेदीय सैद्धान्तिक तथा प्रायोगिक विचारहरूका आठ वटा निबन्धहरू छन् -स्वास्थ्य व्यक्तित्वको दृष्टिकोणले विचार गर्दा पातञ्जलीय अष्टाङ्ग योगको महत्व, महर्षि चरकको दृष्टिमा सच्चा वैद्यको परिचय, ईश्वरीय भाव, ज्ञान विज्ञानको प्रयोग र चिकित्सकीय सेवाबीच सेव्य सेवीको सुसम्बन्ध, सकारात्मक चिन्तनको अपेक्षा र अभ्यास, स्वास्थ्यको आधारमा उचित आहार विहार,नैसर्गिक अधिकार अन्नपानी र हावा, शुभेच्छा, शुभकामना र सुस्वास्थ्य र सुभाव-सारांश ।
पुस्तकले जीवनी, स्वास्थ्य शिक्षा र निबन्धको नयाँ स्वाद एकैपटक पस्केको मैले पाएँ । त्यसको लागि निबन्धकार, प्रकाशक हरि गौतमलाई धन्यवाद दिनैपर्छ । डाक्टर भट्टले आफ्नो भनाइमा भनेजस्तै यो नवीन प्रयोगको निबन्ध संग्रह साहित्य र स्वास्थ्यको सम्मिश्रण हो जसले कुनै पनि सचेत व्यक्तिलाई आकर्षित नगरी रहन सक्तैन ।
निबन्धकार गान्धीराज काफ्लेले पुस्तकमा कुनै भूमिका नलेखे पनि २३औँ निबन्ध सुभाव-सारांशमा आफ्ना अनुभव र अनुभवका सारांशहरुको निचोड पस्कनु भएको छ । उहाँले आफ्ना निबन्धहरू आफ्नै सुदूर विगतसँग जोडेर लेखिएको संग्रहले यसो गरेमात्र स्वास्थ्य ठिक भई हाल्ने कुनै ठ्याक्कै जानकारी नदिएको , त्यस्तो टिपिहाल्ने, खाइहाल्ने अथवा अपनाएर ढुक्क हुने फल वा सारांश केही छैन । सुझाव, सल्लाह , सिद्धान्त प्रतिपादन, आधिकारिक विश्लेषण, गहन खोज, प्रबोधित विचार,ज्ञान, मार्गनिर्देश र समाधान पनि यहाँ छैन भन्नु भएको छ । उहाँले आफ्ना विचारमा भन्नु भएको छ-.....जीवन छैन भने , स्वास्थ्य पनि छैन । जीवन छ भने , त्यसैभित्र स्वास्थ्य पनि छ । सम्भावना पनि छ, आसा छ, भरोसा छ र अदम्य साहसको ऊर्जा विकसित भएर जीवन पुनः सुस्वास्थ्य हुने अवसर कति त कति !
त्यसैले मानिससँग जोडिएको उसको स्वास्थ्य एक प्रकारले दार्शनिक विषयजस्तो पनि देखिन्छ । तर फेरि त्यतिकै सत्य के हो भने , सम्पूर्ण रूपले यो दार्शनिक विषय पनि होइन ।....हामी एकातिर चिकित्सकीय सेवाबाट पाएको औषधि मात्रा अवधिको नियम पूरा गरेर स्वास्थ्यलाभ गर्ने बानी बसाउँदै अगाडि बढिरहेका छौँ भने अर्कातिर सुस्वास्थ्य र उज्ज्वल व्यक्तित्वको कामना र कार्यलाई अपनाएर पनि अवर्णनीय र आल्हादित आनन्द महसुस गर्न पनि त्यत्तिकै लालायित छौँ ।यी दुई कामना र कार्यका बीच चिन्तन तहमा दुईवटा महत्वपूर्ण पक्ष रहेको देखिन्छ-एउटा विज्ञ भौतिक संसार क्रियाशील भइरहेको प्रष्ट देखिन्छ भने अर्कातिर आध्यात्मिक भाव प्रभावका कुरा पनि त्यत्तिकै सार्थक र सशक्त देखिन्छन् । ....
भन्न त भन्नु भएको छ निबन्धकार काफ्लेले कि अब यस्तोमा यो अकिञ्चन मान्छेको के तागत स्वास्थ्य जीवन र व्यक्तित्व जस्तो गहन विषय सारांश खिच्ने । तर त्यसो भन्दै जाँदा पनि पुस्तकमा त्यस्तै गरी चर्चित व्यक्तित्वसँगका स्वास्थ्य विषयलाई खोज पूर्ण तरिकाले खोतल्ने काम मिहिन तरिकाले भएको पाइन्छ र उनीहरुको दीर्घजीवी तथा मनोबलको लेखाजोखा गर्नु भएको छ । नयाँ विषयमा लेख्ने भनेको नै जीवनको नयाँ नयाँ परिभाषाको खोजी गर्नु पनि त हो नि ।
पठनीय निबन्ध संग्रह तयार गर्ने वरिष्ठ पत्रकार गान्धीराज काफ्लेको मिहिनेत त्यति बेरमात्र फलदायी हुनेछ जसको हामी पाठकहरुले केही अंशमात्र भने पनि कार्यान्वयनमा ल्याउन सक्यौँ भने । यो पुस्तकले जीवनी, स्वास्थ्य शिक्षा र निबन्धको नयाँ स्वाद एकैपटक पस्केको मैले पाएँ । त्यसको लागि निबन्धकार, प्रकाशक हरि गौतमलाई धन्यवाद दिनैपर्छ । डाक्टर भट्टले आफ्नो भनाइमा भनेजस्तै यो नवीन प्रयोगको निबन्ध संग्रह साहित्य र स्वास्थ्यको सम्मिश्रण हो जसले कुनै पनि सचेत व्यक्तिलाई आकर्षित नगरी रहन सक्तैन ।
यसभन्दा पहिले पनि मुक्ति वेगका नायक(कविता संग्रह, आस्था र अभिमत निबन्ध संग्रह, शब्दको ऐनामा महाभूकम्प-२०७२ निबन्ध संग्रह, मेरो सालुः मेरो रामेछाप कविता संग्रह र Masks and Miseries( a collection of English essays सृजना पाठकहरुले प्राप्त गरिसकेका छन् र आगामी दिनमा सर्जकका मिहिनेतले नयाँ नयाँ स्वादको साहित्य नेपाली साहित्यले पाओस् भन्ने अपेक्षा गरिन्छ ।
पुस्तकको नामः सुस्वास्थ्य (मनोबल, चिन्तन र व्यक्तित्व) २०८१, निबन्ध संग्रह
निबन्धकारः गान्धीराज काफ्ले
प्रकाशकः ओरिएन्टल पब्लिेकेशन हाउस, प्रा.लि.
मूल्यः ४४५। (पृष्ठ संख्याः२०४+द)