खेतीयोग्य भूमि कमको प्रभाव : मनाङका किसान सामूहिक खेती तर्फ आकर्षित

खेतीयोग्य भूमि कमको प्रभाव : मनाङका किसान सामूहिक खेती तर्फ आकर्षित

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १७, २०८१


मनाङ । जिल्लाका किसानहरु सामूहिक खेतीतर्फ आकर्षित भएका छन। खेतीयोग्य भूमि कम रहेको यहाँका स्थानीयवासी सामूहिक खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

यहाँ उत्पादित खाद्यवस्तु जिल्लाभित्रै खपत हुने हुँदा सामूहिक खेतीतर्फ किसान आकर्षित भएको कृषि ज्ञान केन्द्र प्रमुख मदन रेग्मीले बताउनुभयो । 'मनाङ आउने पर्यटकलाई यहीँ उत्पादित खाद्यवस्तु उपयोग गरिने भएकाले किसानलाई प्रोत्साहन मिलेको छ', उहाँले भन्नुभयो, 'यसले हामीलाई उत्साहित बनाएको छ ।'

उहाँका अनुसार केही कृषक समूहले बाँझो जमिन भाडामा लिएर पनि खेती गरिरहेका छन् । यसले खेतीयोग्य भूमिको उपयोग वृद्धि भएको उहाँ बताउनुहुन्छ ।

सामूहिक खेती गर्दा बीउ, मल, सिँचाइमा ज्ञान केन्द्रले सहयोग गर्ने भएकाले सहज भएको नासोँ गाउँपालिका–१ तालछहरा कृषि समूहका अध्यक्ष रोशनी घलेले बताउनुभयो । उहाँले भन्नुभयो, 'बाँझो जग्गा पनि उपयोग हुने र ज्ञान केन्द्रबाट अनुदान पाइने भएकाले सहज भएको छ ।'  सामूहिक खेतीले महिलालाई आर्थिक रुपमा सबल बनाउनसमेत सहयोग पुगेको उहाँको बुझाइ छ । 

यहाँ हाल दुई वटा मिश्रित समूह छन् भने नौ वटा महिलाका मात्रै कृषक समूह छन् । नासोँ गाउँपालिका–१ तालगाउँ, नासोँ–२ नाचे गाउँ, नासोँ–३ खोत्रोपाखा र निगालाघारी, नासोँ–४ ओडार गाउँ, चामे गाउँपालिका–२ थानचोक, चामे–१ तिमाङ, चामे–५ वडा, मनाङ ङिस्याङमा तीन वटा समूहमार्फत सामूहिक खेती भइरहेको छ ।  

यहाँ आलु, करु, गहुँ, फापर, उवा, कोलु बोडीलगायतका रैथाने बाली उत्पादन हुने गरेको छ । यहाँका किसानले प्रविधिको प्रयोग गर्दै रैथाने अन्नबाटै पर्यटकका लागि खाना, नास्ताका रुपमा खाद्यान्न उपयोग गर्ने गरेका छन् ।