रूपक अलङ्कार | साहित्य | माघ १९, २०८१
मानव समुदायले विश्वव्यापी रूपमा भोगेको पछिल्लो दुरवस्था भनेको कोरोना हो । विश्वव्यापी रूपमा फैलिएको यस रोगले मानव समुदायको जगलाई नराम्ररी हल्लाइदियो । मानिसका परम्परागत धारणाहरू परिवर्तन भए । जीवन यापनका तौर तरिकाहरूमा हेरफेर गरिए । मानिसका बीचमा अवाञ्छित दुरी अनिवार्य भयो । भुइँचालो आउँदा आफ्नै घरमा बस्न डराएको मान्छे कोरोनामा घरबाट निस्कन तर्सियो । चौबीस घण्टा भिड र कोलाहलले निसास्सिने शहरहरू अचानक श्मशानभन्दा पनि सुनसान भए । कोरानाको सबै दुःखहरू वर्णन गरेर साध्य नै छैन ।
हुन त संसारमा यस्ता महामारी पहिले पनि आएका थिए । एड्स, इबोला, बिफर, प्लेग जस्ता रोगका महामारीले मानिसको बिथान्को बनाएको इतिहास हामीले पढेका छौँ । तिनका असर पनि तत्कालीन साहित्यमा परेको पाइन्छ नै । तर पनि कोरोनाले विश्वव्यापी रूप लिन धेरै समय लगाएन । सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूका कारण मानिसहरू कोराना र यसका असरका बारेमा चाँडै सुसूचित भए । रोगभन्दा बढी त्रासको डढेलो लाग्यो अनि मानिसले प्रतिक्रिया पनि छिटै व्यक्त गर्न थाले ।
मानिसहरू आफ्नै घरमा कठोर बन्दी जीवन बिताउन बाध्य भए । त्यस बखत मानिसले आफ्नो छटपटी, विवशता र त्रासलाई भुलाउनका लागि आफ्नो रुचि र सुविधाका क्षेत्र रोजे । विशेषतः धेरै जसो साहित्यकार लेखकहरूले लकडाउनको उराठिलो समयलाई लेखन र पठनमा लगाएका थिए । फलस्वरूप विश्वभर नै कोरोना साहित्यको लहर नै आयो । नेपाली साहित्यकारहरूले पनि कोरोनाले बन्दी भएर बसेका बेला अनेकौँ कृतिहरूको रचना गरेका छन् । कोरोना कालीन निबन्ध, काव्य, कथा, संस्मरण, उपन्यास आदिले नेपाली साहित्यको भण्डार झनै भरिएको छ । त्यस बखत लेखिएका कतिपय कृतिहरू प्रकाशित भइसकेका छन् भने कतिपय कृतिहरू प्रकाशनकै क्रममा छन् ।
यसरी कोरोनाका बेला रचना भएर प्रकाशनको सङ्घारमा आइपुगेको बृहत्काय पुस्तक हो कोभिड कहर । यसका रचनाकार पुष्पाञ्जली कोइराला (खनाल) हुनुहुन्छ ।
विक्रम संवत् २०२२ मा गोरखाको गाईखुरेमा जन्मिनुभएकी कोइराला पेसाले इन्जिनियर हुनुहुन्छ । ब्रिज इन्जिनियरिङमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेपछि उहाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत २०४९ देखि २०८० सम्म सडक तथा पुलको डिजाइन, मर्मतसम्भार तथा वातावरणीय विज्ञाताका रूपमा कार्यरत रहनुभयो । अहिले सेवानिवृत्त जीवन बिताइरहनु भएकी कोइराला लेखन तथा अध्ययनमा भने झन प्रवृत्त हुनुभएको देखिन्छ । यतिबेला बृहत्काय कविताकृति लिएर आउनुभएकी कोइराला लोक तथा सांस्कृतिक गीत रचना र गायनमा पहिलेदेखि नै सक्रिय देखिनुहुन्छ । सासु बुहारी साथै मिली (भाग एक), सुनतस्कर परेनन् बुढा, बुबा र उहाँको सामाजिक देन, सासु बुहारी साथै मिली (भाग दुई) जस्ता गीतिकृतिहरूको म्युजिक भिडियो समेत प्रकाशमा आइसकेका छन् । कोरोनाकालको फराकिलो फुर्सदले भने उहाँलाई कविता लेखनमा प्रवृत्त गराएको देखिन्छ ।
निश्चय पनि कोरोनाका समयमा नेपली लेखक साहित्यकारहरूले सिर्जनामा आफूलाई व्यस्त बनाएर विविध रङरोगनका कृतिहरू रचना गरेका छन् । ती कृतिहरूले नेपालीहरूको समसामयिक भोगाइलाई सदाका लागि संरक्षित गरेका छन् । यस्ता कृतिहरू दीर्घकालका लागि पनि महत्त्वपूर्ण हुन्छन् । तत्कालीन समयका विभिन्न अवस्था वा दुरवस्थालाई विभिन्न दृष्टिकोणबाट हेर्ने काम त्यस्ता कृतिले गरेका हुन्छन् ।
कोरानाका कारण मानिसको जीवन अस्तव्यस्त भएको, मानिस घरमै बन्दी बनेको, कलकारखाना अफिस कार्यालय सबै बन्द भएको, निम्न तथा मध्यमवर्गीय जनताको आर्थिक अवस्था डामाडोल भएको, प्रबासिएका जनताको बिथान्को भएको, रोजगारी र सबारी बन्द भएका कारण मानिसहरू महिनौँ हिँडेर गाउँ फर्केको, अब के हुन्छ के हुन्छको अवस्थामा मानिस परेको, सङ्क्रमणको डरले आफन्तको मृत्युमा समेत उपस्थित हुन नसकेको जस्ता विश्वका सारा जनताले भोगेको उस्तै प्रकृतिको जटिलतालाई कविले मार्मिक ढङ्गमा प्रस्तुत गर्नुभएको छ ।
विषयवस्तु परिष्तरणका हिसाबले अत्यन्त महत्त्वशाली कृति हो कोभिड कहर । शैलीका हिसाबले पनि यो उत्तिकै प्राञ्जल देखिन्छ । कोरोनाको प्रारम्भदेखि करिब दुई वर्षसम्म नेपाल तथा विश्वले भोगेको कहरलाई यहाँ काव्यिक रूप दिइएको छ । हामी सबैले भोगेको कष्टलाई कविले आफ्नो दृष्टिकोणबाट पस्किनुभएको छ ।
चालीसवटा परिच्छेद तथा उपशीर्षकमा उनिएको यस काव्यमा कविले अभिव्यक्तिका लागि नेपाली जन जिब्रोमा स्वाद बसेका लोकलयको सहारा लिनुभएको छ । कोभिडको लहरामा उनिएर काव्य अघि बढेको छ । पहिलो परिच्छेदमा कोरोनाको उत्पत्ति र यसका प्रारम्भिक असरलाई प्रस्तुत गरिएको छ भने तेह्रौँ परिच्छेदसम्म कोरोनाको विश्वव्यापी असरलाई देखाइएको छ । चिन, अमेरिका, इटाली, जर्मनी, बेलायत, उत्तर तथा दक्षिण कोरिया, अफ्रिका, अफगानिस्तान, सिरिया पाकिस्तान, भारत, नेपाललगायतका देशमा कोरोना फैलिएको, त्यसबाट अकल्पनीय परिस्थितिहरू सिर्जना भएको देखाइएको छ । कोरानाका कारण मानिसको जीवन अस्तव्यस्त भएको, मानिस घरमै बन्दी बनेको, कलकारखाना अफिस कार्यालय सबै बन्द भएको, निम्न तथा मध्यमवर्गीय जनताको आर्थिक अवस्था डामाडोल भएको, प्रबासिएका जनताको बिथान्को भएको, रोजगारी र सबारी बन्द भएका कारण मानिसहरू महिनौँ हिँडेर गाउँ फर्केको, अब के हुन्छ के हुन्छको अवस्थामा मानिस परेको, सङ्क्रमणको डरले आफन्तको मृत्युमा समेत उपस्थित हुन नसकेको जस्ता विश्वका सारा जनताले भोगेको उस्तै प्रकृतिको जटिलतालाई कविले मार्मिक ढङ्गमा प्रस्तुत गर्नुभएको छ ।
परिच्छेद चौधबाट भने कवि विषयको व्यापकतामा पोखिनुभएको छ । कोरोना सङ्क्रमणको वैज्ञानिक कारण तथा खोपको विकास, अन्तर्राष्ट्रिय शक्ति सम्बन्ध, लकडाउनको असर, सरकारको राहत कार्यक्रम, क्वारेन्टाइनको अव्यवस्था, मानसिक स्वास्थ्यका गडबडी, नयाँ आर्थिक तथा भौतिक विकासमा गतिरोध जस्ता विषयहरूलाई कविले मिहिन तरिकाले प्रस्तुत गर्नुभएको छ । लकडाउनले जनताको जीवनशैलीमा व्यापक परिवर्तन ल्याइदियो कतिपय कार्यालय घरमै आए । विद्यालय तथा कलेजहरू ल्यापटप र मोबाइलमा नै आए । भौतिक दुरी कायम गर्नुपर्ने बाध्यताले मानिसलाई शारीरिक तथा मानसिक रूपले नै टाढा पुर्याइदियो । मानिसका सांस्कृतिक मूल्य र मान्यतामा समेत व्यापक परिवर्तन आयो । शिक्षा, स्वास्थ्य, कृषि, पर्याटनजस्ता क्षेत्रहरूसमेत बदलिँदो परिस्थितिको सिकार भए । कोरानाको प्रकोपमा देखिएका यस्ता बहुआयामिक विषयलाई कविले साधारणीकरण गर्नुभएको छ ।
कतिपय राष्ट्रहरूले रोगको घोडा चढेर आफ्नो शक्ति र घमण्ड पनि प्रदर्शन गरे भने कतिपयले मानवतालाई अझै मूल्य प्रदान गरे । कुनै देशका शासकले कोरोनाको त्राहित्राहिबाट बच्न र बचाउन बुद्धिमत्तापूर्ण ढङ्गले काम गरे भने कसैले लिँडे ढिपी र मूर्खता पनि देखाए । यस्ता यावत् कुराले यस काव्यमा कलात्मक स्वरूप पाएका छन् । जर्मनी, चीन तथा इटालीका शासकहरूको कविले खुलेर प्रशंसा गर्नुभएको छ भने अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पको खोइरो उतार्नुभएको छ । ट्रम्पका अभिव्यक्ति, कार्यशैली, भोटको राजनीति, अहङ्कारजस्ता विषयप्रति कविले प्रशस्त आक्रोश पोख्नुभएको छ ।
भूकम्प, बाढी पहिरोजस्ता विपत्मा समेत घुमाइ फिराई आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति नेपाली समाज र राजनीतिमा देखिने गरेको छ । त्यो रोग कोरोनाजन्य विपत्तिमा पनि देखा परेको थियो भन्ने कुरा यस कृतिमा प्रकट भएको छ । कोरोनाका बेलामा नेपाल सरकारका कामकारबाही, प्रधानमन्त्रीको अभिव्यक्ति, स्वास्थ्यमन्त्रीको रबैयाजस्ता विषयप्रति पनि कवि पुष्पाञ्जली कोइरालाले कटाक्ष गर्नुभएको छ ।
कोरोना कहर पद्यकविताहरूको समाहार हो । लोकगीत रचना र गायनमा प्रवीणता प्रस्तुत गर्नु भएकी कविले यस कृतिमा पनि लोकलयलाई नै अभिव्यक्तिको मार्ग बनाउनुभएको छ । चौध अक्षरको सबाई छन्द र सोह्र अक्षरका झ्याउरे छन्दको सहज गतिमा यो काव्य अघि बढेको छ । तीनदुई तीनदुई तीन तीनको अक्षर संरचना हुने र चार चार चार चारको अक्षरसंरचना हुने दुवै झ्याउरे छन्दको महक यस कृतिमा फिँजिएको छ । प्रायजसो लोकछन्दमा दुई पङ्क्तिलाई एउटा कविता मान्ने परम्परा भए तापनि यस कृतिमा भने चार पङ्क्तिलाई एउटा पद्यका हिसाबले कविता परिस्तरण गरिएको छ । केही अपवादलाई छोडेर लयविधानमा कविले सिद्धहस्तता प्राप्त गर्नुभएको छ । व्यापक अन्तर्राष्ट्रिय परिवेश, रोग र त्यससित सम्बद्ध पारिभाषिक, प्राविधिक शब्दावली आदिका कारण कुनै कुनै पङ्क्तिको शब्द संयोजन भने अस्वाभाविक लाग्न पनि सक्छ । आगन्तुक तथा अङ्ग्रेजी शब्दहरूको बहु उपस्थितिमा उच्चारणगत असमानताका कारण लयभङ्गको आशङ्का उठे पनि पुनर्गठनमा शङ्का शून्य हुन्छ नै ! कवि स्वयं लोकगायिका भएकाले त्यस्ता पारिस्थितिक अपवादलाई छोडेर अन्यत्र भने कविताले सहज लय पक्रेको छ ।
पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो ।