संस्मरणः 'कुकुर ल्याउने बुढी'

संस्मरणः 'कुकुर ल्याउने बुढी'

प्रशान्त उप्रेती  |  साहित्य  |  माघ २७, २०८१

सन् २०२२ जुन महिना तिर को कुरो हो पहिलो पटक कुकुर ल्याउने बुढी मेरो काम गर्ने रेस्टुरेन्टमा पहिलो पटक ग्राहक बनेर आएकी थिइन । सडकमा मानिसहरूको चहलपहल चर्को छ। यो समयमा युरोपियनहरू घरभित्र भन्दा घर बाहिर समय बढी बिताउन रुचाउँछन्। खुल्ला पार्कहरूमा रेष्टुरेन्टको टेरासहरुमा समुद्रको किनारहरूमा बढी टहलिरहन्छन्। युरोपमा घाम देख्न पाउनु हर्षको कुरा हो। घाम लागेको दिन उनीहरूको 'मुडअन' नै हुने गर्छ । 

साथी आफन्तजनहरू लिएर होटेल रेस्टुरेन्ट बारहरूमा एक गिलास पिउने निहुँले पुग्छन् र घन्टौं बिताउँछन्। घामको पूर्ण फाइदा उठाउँछन्। पेरिसमा म काम गर्ने रेस्टुरेन्टमा एक जोडी फ्रेन्च नागरिक एउटा कुकुर लिएर आउँछन्। कुकुर हेर्दै दयालु छ। सानो पनि छ। उनीहरुले एउटा हाते ब्यागमा बोकेर ल्याएका छन्। असहज मान्दै पहिलोपटक हामी यो कुकुरसँगै यहाँ खान सक्छौ ?  मैले हाँसेर अवश्य कुकुर पनि त प्राणी हो। मेरो जवाफले उनीहरुलाई राहत भएको कुरा उनीहरूको मुहारमा सजिलै पर्न सकिन्थ्यो। हजारौं ग्राहक मध्यका एक ग्राहक उनीहरू पनि।

५० नकाटेका जस्ता देखिने हट्टाकट्टा यो दम्पति पिउन खुब रुचाउँदा रहेछन्। मोरितो, रिकार्ड, किर,श्यामपेन उनीहरूको  'फेबरेट' पेय पदार्थ रहेछ। उनीहरू खुलेर पिउँदा रहेछन्। फेरि मैले बनाएको  मोरितोको उनीहरू विशेष फ्यान रहेछन्।

'म मोरितो रेसिपी हेरेर बनाउँदिन 'क्लाइन्ट'को 'मुड' हेरेर बनाउने गरेको छु ।' यदि मैले बनाएको मोरितोले ग्राहकलाई खुसी ल्याउँदैन भने म पैसाका लागि बनाउँदिन। म आफूलाई मन नपर्ने चिज अर्कोलाई दिन्न। म आफूले नखाने चिज अर्कोलाई पनि दिन्न। त्यसैले मेरो मोरीतोमा उनीहरूले आफ्नो खुसी भेटेछन्।। पटकपटक रेस्टुरेन्ट आउँदा खुलेर प्रशंसा गर्छन्। गएको हप्ता लिल सहर पुगेको थिए। एउटा फ्रेन्च रेस्टुरेन्टमा मोरितो अर्डर गरेको थिए। गिलास भरि आइस अलिकति चिनी र बाँकी सबै पानी हालेर ल्याएछ। मुखमै हाल्न नसक्ने। तपाईँको मोरितोले तानेर ल्यायो फेरि। हुन त  मोरितो त मात्र होइन तपाईँको खाना पनि त्यत्तिकै मिठो छ। तपाईंको व्यवहारको त कुरै नगरौँ। आफ्नै परिवारले भन्दा पनि बढी ग्राहकको ख्याल  गर्नुहुन्छ। ग्राहकको खुसीमा आफ्नो खुसी खोज्नुहुन्छ। आजको जमानामा यो लगभग अन्त्य भइसक्यो। तर तपाईं अझै गर्दै हुनुहुन्छ।

५/१० पटकको रेस्टुरेन्टमा आवाज आवतजावत पछि हाम्रो घनिष्ठता अलि बढ्यो। तपाईँ के गर्नुहुन्छ ? कता बस्नुहुन्छ?  को को छन् परिवारमा ?  जस्ता व्यक्तिगत कुराहरूमा पनि छलफल हुन थाले। रेस्टुरेन्टमा घण्टौं व्यक्तिगत पारिवारिक व्यावसायिक कुराहरू हुन थाल्यो । ८२ वर्षीय बुवा अस्पतालको सघन कक्षमा उपचार गराइरहनु भएको कुरा उनकै मुखबाट सुनियो। श्रीमतीलाई क्यान्सर रोग लागेको पनि। हेर्दा हट्टाकट्टा देखिए पनि हेर्नुस् त क्यान्सरसँग लडिरहेकी रहेछिन्। पत्याउने गाह्रो। नि सन्तान रहेछन्। त्यसैले सप्ताहन्त बिदा मा खुब घुम्न मन पराउँछन्। उनीहरूले जीवन बुझेका रहेछन्। त्यसैले क्षण क्षणको मजा लिइरहेका छन्। जीवन जिउने कला साँच्चै उनीहरूबाट हामीले सिक्नुपर्छ।

उनीहरूको झोलामा रेस्टुरेन्ट आउने कुकुरको नाम 'सुपेत' हो। ऊ एकदमै संवेदनशील छ। टेबुलको मुनि बस्छ।

कहिले भुकेको सुनेको छैन। अलि यता उता चलमल गर्यो भने म्याडमले 'सुपेत' आफ्नो ठाउँमा बस भन्ने बित्तिकै खुरुक्क मान्छ। लाग्छ कि कुकुर नभएर एउटा मानव हो। उसको व्यवहार हेर्दा लाग्छ उ यो दम्पतीसँग निकै नजिक छ।

लगभग १० दिनपछि श्रीमान एक्लै रेस्टुरेन्ट आउनुभयो। मैले सदा झै शिष्टाचार व्यक्त गरे। उहाँले धेरै बेर मेरो अनुहारमा हेर्नुभयो। केही बोल्नुभएन। उहाँको अनुहार रङ्ग उडेको थियो । उहाँले भन्नुभयो मेरी श्रीमती बितिन् आज बिहान।उनीलाई गाह्रो भयो। मैले पम्पिए (आकस्मिक चिकित्सक सेवा) बोलाए।  आउन निकै समय लगाए आएपछि पनि नजिकैको अस्पतालमा ठाउँ छैन भनेर टाढाको अस्पताल लिएर गए। जाँदा जाँदै मेरी श्रीमतीले प्राण त्यागिन्।

त्यसैले उनीहरू आफू जहाँ जहाँ जान्छन् उहीँ लिएर जान्छन्। दम्पतीले तीन चार घण्टा बसेर रेस्टुरेन्टमा खाना खाइसक्दा पनि उसले कहिले हल्ला गर्दैन। रेष्टुरेन्टको हल भरि दौडिँदैन। आफ्नै ठाउँमा बसिरहन्छ। जब म्याडम रेस्टुराँको बिल भर्न काउण्टरतिर जानुहुन्छ। उसको अनुहारमा बेचैनी छाउँछ। उसले चारैतिर खोज्छ। अनि आफ्नो बेचैनी देखाउँछ। चार पाँच मिनेटको अवधिमा ऊ आफ्नो प्रिय मान्छे नदेख्दा यति धेरै दुःखी हुन्छ। श्रीमानले यो 'सुपेत' ले मलाई भन्दा बढी माया मेरो श्रीमतीलाई गर्छ। उसको सन्तान नै हो यो। हेर त म यही छु मलाई वास्ता गर्दैन। दुई मिनेट के उनी उठेकी थिइन् कति बेचैन भाको यो सुपेत। देखिस् नि म एक्लो छु। यिनीहरु दुई मिलेर मलाई एक्लो  बनाउँछन् भन्छन्।

एकदिन यो दम्पति निकै खुसी मुद्रामा रेस्टुरेन्ट आइपुग्छन्। सधैँ झैँ रिकर्ड र मोरितोको चुस्कीमा मसँग घन्टौं गफिन्छन्।

आज उनीहरूको मुहारमा अर्कै चमक छ। यो चमकताको कारण मैले उनीहरूलाई सोधेँ। उनीहरूले हाँसेर जवाफ फर्काए। हामी क्लिनिक पाश्चर गएका थियौँ। डाक्टरले मेरो श्रीमतीको क्यान्सर निको भयो भन्ने खबर सुनाए। त्यसै त्यसैले हामी यति हर्षित छौँ। ठूलो तनावबाट मुक्ति पायौं। त्यसैले यो खुसी मनाउन मेरो बुढीको प्यारो रेस्टुरेन्ट आएको।

जीवनको यो भन्दा खुसीको क्षण के होला उनीहरूको लागि ? सधैँ झैँ खानपिन सौहार्दपूर्ण वातावरणमा सकियो। मैले खानाको अन्तिममा उनीहरूलाई एकएक ग्लास स्याम्पेन अफर गरे। उनीहरूको अगाडि स्याम्पेनको बोटल खोल्दा उनीहरु आश्चर्यचकित भए। मैले भने तिमीहरूको खुसी मेरो पनि खुसी यत्रो ठूलो रोगलाई जितेर आएको खुसीको उत्सव मनाउनु परेन। त्यो दिन मेरो व्यवहारले उनीहरू चकित थिए । व्यापार गर्न बसेको मान्छे दिल खोलेर स्याम्पेन बाँडिरहेको देखेर।खैर उनीहरूको खुसी मेरो पनि खुसी।

रेस्टुरेन्ट आवतजावत उनीहरूको निकै बाक्लियो। कहिलेकाहीँ हप्तामा तीनपटकसम्म आउन थाले। हरेकपटक रेस्टुरेन्ट आउँदा अरु रेष्टुरेन्टको नकारात्मक कुराको एउटा ठेलि नै बोकेर आउँथे। कसैले खान नमिठो दिए, कसैले नराम्रो व्यवहार गरे, कसैले मोरितोमा पानी मात्र हालेर दिए, कसैले  कुकुर लिएर आएको देखेर रेस्टुरेन्टमा ठाउँ नै दिएन। यस्तै यस्तै यी सबै कुराको परिपूर्ति गर्न, अनि दिलमा लागेको घाउ उपचारको लागि हामी तपाईँको मा खाना खान आएको।

म्याडमलाई प्याज मन पर्दैन। उहाँलाई बिना प्याजको खाना चाहिन्छ। हरेकपटक खानाको अर्डर गर्दा म आफैले बुझेर बिना प्याजको अर्डर बुकमा लेखिदिन्छु। श्रीमानले मेरी बुढी कतिको किच किचे छे है भनेर सुनाउँछन्। अनि म भन्छु आफूलाई मन नपर्ने वस्तुलाई नै पैसा तिरेर खान्छ। उहाँलाई प्याज मन पर्दैन म बिना प्याजको खाना बनाउँछु। म्याडम मलाई धन्यवाद भन्नुहुन्छ। उहाँको कुरा बुझेकोमा। उहाँहरूको खानपान पनि विशिष्ट छ। जो कोही युरोपियनले रेस्टुरेन्टमा गएर यति धेरै खर्च गर्न सक्दैन। त्यो पनि हप्ताको तीन चार पटक। 

श्रीमानको केही वर्षमा रिटायरमेन्ट लिने प्लान छ। त्यसपछि फ्रान्सको दक्षिणी भेगतिर बसाई सर्ने योजना मलाई सुनाउँदै हुनुहुन्छ। फ्रान्सको दक्षिण भेगतिर, समुद्रको किनारतिर सानो एउटा अपार्टमेन्ट लिने योजना छ उहाँहरूको। हामीलाई आनन्द छ। दुईजना बुढाबुढी मात्रै छौँ। बसाई सर्न सजिलो छ। अब केही वर्ष मात्र त हो। त्यसपछि आनन्दको जीवन बिताउने हो। फ्रान्सको दक्षिणी भेगतिर मौसम राम्रो हुन्छ। समरमा राम्ररी घाम लाग्छ। घाम फ्रेन्चहरूको लागि एकदमै महत्वपूर्ण कुरा हो।

बेला बेलामा रेस्टुरेन्ट आउँदा तपाईँको रेस्टुरेन्ट आएन भने त  के नपुगेको के नपुगेको जस्तो लाग्न थालेको छ।

त्यसैले हामी आइहाल्छौँ। तपाईंकोमा आउँदा आफ्नै घरमा आएको जस्तो अनुभव हुन थालेको छ। खोइ किन हो थाहा छैन। खै कसरी हो हामीबीच आत्मीयता बढेछ। उनीहरूले यसो भनिरहँदा मलाई पनि कताकता त्यस्तै अनुभव भइरहेको छ। उनीहरुका दुःख सुखका कुरा सुन्न म पनि लालायीत छु।म ग्राहकलाई बेलाबेला मा हँसाउने कोसिस गर्छु। जानी नजानी फ्रेन्च भाषामा चुट्किला सुनाउँछु। उनीहरूले मैले गरेको कोसिस को प्रशंसा गर्छन्। साँच्चै नै जिन्दगीमा कसैलाई हँसाउन गाह्रो छ। तर रुवाउन एक शब्द नै काफी छ। 

यो दुई चार वर्षको अवधिमा उनीहरू सयौं पटक रेस्टुरेन्ट आए। उनीहरूको जन्मदिन, वैवाहिक वर्ष गाँठ,नयाँ वर्ष, क्रिसमस सबै रेस्टुरेन्ट आएर मनाए। साँच्चै भन्ने हो भने उनीहरुले आफ्नो पर्व उनीहरूको घरमा भन्दा रेस्टुरेन्टमा मात्र  मनाए।

डिसेम्बर महिनाको तेस्रो हप्ता थियो। मैले नयाँ वर्ष कता मनाउने विचार गर्नुभएको छ भनेर प्रश्न सोधे। उनीहरुले हामी अर्को सहर जाँदैछौँ। टिकट किनिसक्यो। मेरो मनले यही बस भनेको छ। तर साथी भाइलाई नाई भन्न सकिन। त्यसैले हामी त्यतै जाँदै छु भने। मैले केही भएन अर्को वर्ष सँगै मनाउँला भने। ३१ जनवरीको दिन रेस्टुरेन्टमा डिजे बोलाएर कार्यक्रम राखेको थिए। उल्का रमाइलो भयो। साँझको ७ बजेबाट सुरु भएको कार्यक्रम भोलिपल्ट बिहान ५ बजेसम्म निरन्तर चल्यो। घडीको सुई घुमेको पत्तो भएन। नयाँ वर्षको स्वागतमा कति बोतल च्याम्पियन सकियो हिसाब नै छैन। खैर एकदमै रमाइलो भयो। हिन्दी, अंग्रेजी, फ्रेन्च, अरेबियन, नेपाली गीतहरू खुलेर बजाए। संगीतको कुनै सिमाना नहुँदो रहेछ। सबै गीतमा सबैजना खुलेर नाचे। त्यो साँझ निकै स्मरण लायक बन्यो।

नयाँ वर्षको आगमनसँगै जनवरी महिनाको पहिलो हप्ता श्रीमान एक्लै कुकुर लिएर रेस्टुरेन्ट आउनुभयो मलिन अनुहार लिएर। मैले म्याडमलाई नदेखेपछि सबै ठिक त छ भनेर सोधे ? उनले लामो सास फेरेर भने तपाईँले भनेको मान्नुपर्ने रहेछ ।

यहीँ बस्नुपर्ने रहेछ। बेकारमा यात्रा गरेर। मेरी श्रीमती ट्रेन स्टेसनमा  लडिन्  नि। कुमको हड्डी दुई ठाउँमा भाँचिएको छ।

अप्रेसन गरेको छ। हिँडडुल गर्न सक्दिनन्। घरमै कुर्चीमा बसेकी छिन्। त्यसैले म खाना लिन आएको। उनको अनुहारमा २० वर्षको उमेर थपिएको छ। उनी बुढी देखेकी छिन्।। के दशा लागेको रहेछ हामीलाई। 

यो कुराले हामीले धेरै दुःख पायौं। मैले उसलाई आश्वासन दिए। ठिक भइहाल्छ नि यस्तो राम्रो अस्पताल प्रविधि र डाक्टर भएको ठाउँमा। तपाईँ चिन्ता नगर्नुस्। फेरि पहिले जस्तै म्याडम लिएर तपाईँ खाना खान यही आउनुहुन्छ।

बस केही समयको मात्र कुरा हो। उनले सधैँ झैँ म्याडमलाई मनपर्ने खाना अर्डर गरे। हामी विविध कुरामा छलफल गर्‍यौँ ।उनले एक गिलास मोरितो मगाए। मोरितोको चुस्कीसँगै  आफ्नो पीडा पोखे। मेरी श्रीमतीले पनि कहिले सुख पाइनन्।

 कहिले क्यान्सर, कहिले के कहिले के ?  घरमा फिजियोथेरापिस्ट आउन मानेनन् रे !

फेरि साथी भाइहरूसँग सल्लाह गरेर एकजना फिजियोथेरापिस्ट घरमै आउने व्यवस्था गरियो। ऊ यो गरेको देखेर एकदमै खुसी भयो। उसले सोचेको पनि रहेनछ। मैले उनीहरूको बारेमा यति धेरै सोच्छु भनेर।  फेरि हप्ताको दोस्रो पटक खाना लिन आए। म्याडमलाई अलि सजिलो हुँदै गएको सुनाए। 

खबर सुनेर म खुसी भएँ। उनीले म खाना पकाउन जान्दिनँ। त्यसैले दुई चार पटकलाई पुग्ने लान्छु। भनेर ८/१० प्रकारका खाना एकैपटक अर्डर गरे। लिएर गए।

 एक हप्ता सम्म हाम्रो भेटघाट भएन। मनमा खुल्दुली लागि रह्यो । 

के भयो होला भनेर। पेशागत समस्या, पारिवारिक समस्या, थकानको भारीले नराम्रोसँग थिचेको थियो मलाई। वर्षको अन्तिममा क्रिसमसको समयमा रेस्टुरेन्टमा ठुलै भिडभाड थियो। 

लगभग १० दिनपछि श्रीमान एक्लै रेस्टुरेन्ट आउनुभयो। मैले सदा झै शिष्टाचार व्यक्त गरे। उहाँले धेरै बेर मेरो अनुहारमा हेर्नुभयो। केही बोल्नुभएन। उहाँको अनुहार रङ्ग उडेको थियो । उहाँले भन्नुभयो मेरी श्रीमती बितिन् आज बिहान।उनीलाई गाह्रो भयो। मैले पम्पिए (आकस्मिक चिकित्सक सेवा) बोलाए।  आउन निकै समय लगाए आएपछि पनि नजिकैको अस्पतालमा ठाउँ छैन भनेर टाढाको अस्पताल लिएर गए। जाँदा जाँदै मेरी श्रीमतीले प्राण त्यागिन्। म अब एक्लो भए। यो खबरले मलाई पनि पीडा भयो। पत्याउन गाह्रो भयो। तीन हप्ता अगाडि   हट्टाकट्टा देखेको मान्छे आज संसार छोडेर गइन् भनेर । 

उसलाई अङ्कमाल गरे। उ मेरो अँगालोमा बेसरी रोयो।  मैले सम्झाउने कोसिस गरे। संसारको नियम नै यस्तै हो। जन्मेपछि मर्नुपर्छ सबैले। अझै पनि ठूलो शोकमा थियो। कमजोर देखिएको थियो। मैले उसलाई बस्न आग्रह  गरे।

एक गिलास पानी पिउन लगाए। जनवरी महिनाको जाडोमा पनि एउटा सर्टमा घर बाहिर निस्केको रहेछ। लगाउन पनि कसरी लुगा ?  पहिले पहिले रेस्टुरेन्ट आउँदा शिरदेखि पाउसम्म मेरी बुढीले छान्छिन्। अनि बल्ल म लुगा लगाउँछु भनेर जो सुनाउँथे। मैले केही खानेकुरा खान आग्रह गर्दा अस्वीकार गरे अनि भने म पनि मर्न चाहन्छु। मेरी श्रीमती जस्तै।

मैले उसलाई सम्झाउने कोसिस गरे। एउटा तातो दाल सुप बनाएर जबरजस्ती खुवाए। म ड्युटीमा भएपनि मैले त्यो दिन काम गरिन। एक साँझ पुरै उनीसँग बिताए। मैले अरु काम गर्ने मेसो नै पाइन। म आफैले मेरो आफ्नै परिवारको सदस्य गुमाएको भान भयो। पेशागत जिम्मेवारी बिर्से छु। तर हामी एउटा टिममा काम गर्ने भएकोले मेरो जिम्मेवारी  अरु कसैले  बहन गरेछन् त्यो साँझ।

'सुपेत' लाई पनि लिएर आएको छ उसले उ सँगै। ऊ भन्दा पनि बढी बेचैन त्यो कुकुर छ। उसले म्याडमलाई खोजिरहेको छ। पहिले पहिले रेस्टुरेन्ट आउँदा म्याडम काउन्टरमा पैसा तिर्न जाँदा चार पाँच मिनेटको समय नदेख्दा अतालिने 'सुपेत' । 

आज घन्टौं देखि म्याडमलाई खोजिरहेको छ। उसले आफ्नो बेचैनी शब्दबाट प्रकट गर्न नसके पनि व्यवहारले देखाइरहेको छ। उसको त्यो बेचैनीले उसलाई धेरै पीडा दिइरहेको छ। उसलाई यो बिछोड स्थायी हो भन्ने थाहा छ कि छैन होला ? सुपेतको म्याडम माथिको प्रेमले मलाई जनावर र मान्छे बीचको भिन्नता हुन्छ भनेर  मान्न असहज भइरहेको छ।

पेशागत स्थलमा भेट भएको यो सम्बन्ध यति निकै गाढा हुन्छ भनेर कल्पनासम्म गरेको थिएन। त्यो मेरो श्रम बेच्ने ठाउँ मात्र रहेन। मेरो जीवनको स्वर्ण समय बितेको ठाउँ बन्न गयो। हजारौं मान्छेहरुसँग भेट भयो। दुःख सुखका ढोकाहरु बाँडे ।कयौं मनहरु यही ठाउँमा जोडिए। कयौं जोडीहरूको विवाह भयो। कयौँ जोडीहरूले सन्तान प्राप्त गरे। कयौँ जोडीहरूको सम्बन्ध विच्छेद भयो। यी सबै कुराहरू भोग्दै जाँदा एउटा छुट्टै सम्बन्धको विकास भयो। जसको जोलन्त उदाहरण 'कुकुर ल्याउने बुढी'  हुन्। प्रबाशमा जीवन चलाउन श्रम बेच्ने लाखौं  श्रमा, श्रमिक नेपालीहरूमध्ये म पनि एक हुँ।।

उनको असामयिक मृत्युले मलाई पनि पीडा भइरहेको छ। 

हामी दुई फरक महादेशका मान्छे। न धर्म मिल्छ, न जात ,न रहन सहन ? तर पेशाले यति नजिक बनायो। अनि हाम्रो सम्बन्धलाई यति धेरै हार्दिक बनायो।कयौँ सम्बन्ध हरु आफै बन्ने रहेछ जो जीवनभर स्मरणीय बनेर रहनेछ ।

पेसा पेसा मात्र नहुँदो रहेछ ।अलविदा 'कुकुर ल्याउने म्याडम'

तपाईको आत्माले चिर शान्ति प्राप्त गरोस् 

पेरिस,फ्रान्स (लेखक फ्रान्सको राजधानी पेरिस सहरमा एक रेस्टुरेन्टमा श्रम बेच्नु हुन्छ र यो उहाँको सत्य भोगाइमा आधारित छ)