दर्शनशास्त्रको ऐनामा सिनेमा : किन दर्शकहरु हाँस्छन्, चिच्याउँछन् र रुन्छन् ?

दर्शनशास्त्रको ऐनामा सिनेमा : किन दर्शकहरु हाँस्छन्, चिच्याउँछन् र रुन्छन् ?

पर्वत भट्टराई  |  दृष्टिकोण  |  माघ २५, २०८१

एउटा निश्चित गतिमा अनेकौं तस्बिर र दृष्यहरूलाई चलायमान गराएर विचार, साहित्य, कथा, धारणा, भावना, माया, प्रेम, घृणा, डर, संवेदना, वातावरण, सौन्दर्य र परिवेशहरूको सम्प्रेषण गर्ने वैज्ञानिक कामलाई सिनेमा भनिन्छ।

यसको निर्माण र प्रदर्शन गर्न दृष्य तथा आवाजलाई चलायमान गतिमा खिच्नको लागि भिडियो क्यामेराको सहायता लिइन्छ। यसमा सम्वाद, ध्वनी, गीत, सङ्गीत, सजावट, अभिनय र अनुकरण पनि समावेस गरिन्छ। यसलाई चलचित्र वा फिल्म पनि भनिन्छ।

यो जीवन र जगतको सौन्दर्य शास्त्रलाई बुझ्ने एउटा सशक्त माध्यम हो। यो आफैमा दर्शन होइन तर हेर्ने मानिसलाई यसले कुनै न कुनै दर्शन बुझाइ रहेको हुन्छ। यसको आफ्नै विज्ञान र प्रविधि हुन्छ। कुनै पनि दर्शकलाई जुनसुकै प्रकारको मनोरञ्जन, शन्देश र ज्ञान दिनु सिनेमाको उद्देश्य हो। विश्वकै प्राचीन महाकाव्य महाभारतका अनुसार हस्तिनापुरमा लडिएको महाभारत युद्धको सदृश्य विस्तार सञ्जयले राजा धृतराष्ट्रलाई सुनाएका थिए। धृतराष्ट्र दृष्टि बिहीन भएकोले सदृश्य हेर्न त सकेनन् तर सञ्जयले दरबारमै बसेर युद्धको दृष्य हेर्दै उनलाई सबै घटनाक्रमहरू सुनाएका थिए। महाभारतको यो किंवदन्ती सत्य पनि हुन सक्छ।

अहिलेको युगमा सिनेमा नहेर्ने मानिस कमै होलान्। जुनसुकै देशको कुनै पनि ठाउँमा सिनेमा हेर्न अनेक सुविधा उपलब्ध छन्। यो डिजिटल युगमा घरघरमै र हात हातमै चाहेको सिनेमा हेर्ने सुविधा उपलब्ध छ। यो सुविधा र अवसरलाई धेरै जसो मानिसहरुले उपयोग गरि रहेका छन्। सिनेमा हेर्नु केवल समय कटाउने मेलो मात्र होइन। हरेक दिन वा हप्तामा समय मिलाएर सिनेमा हेर्नु मानिसहरूको दैनिकी जस्तै भएको छ। सिनेमा हेर्नको लागि सहर सहरमा चलचित्र घर र घर घरमा दूर-दर्शन यन्त्र राखिएको हुन्छ। अपवाद स्वरूप साउदी अरबमा भने कुनै पनि चलचित्र घर निर्माण र सञ्चालन गरिएको छैन। हरेक सिनेमाले त्यसको शीर्षक अनुसार दर्शकलाई सौन्दर्यको चेतना दिन्छ।

सौन्दर्यशास्त्रलाई समग्र दर्शनशास्त्रको अभिन्न अङ्ग मानिन्छ। सौन्दर्य शास्त्रले कला, साहित्य, मनोरञ्जन, संस्कार र संस्कृतिको विश्लेषण गर्दछ। सिनेमा पनि युग अनुसारको एउटा प्रतिविम्ब जस्तै हो। यसमा समाज र मानिसको चित्रण यसरी गरिन्छ कि त्यो हेरेर मानिस आफै दुःखी, खुशी, क्रोधित, भयभित, शान्त र शिक्षित पनि हुन्छ। अनेक विषय र कथालाई नाटकीय मोडमा उभ्याएर सिनेमाले सामाग्री प्रवाह गर्दछ, जसले मानिसलाई सौन्दर्यको चेत खोलि दिन्छ।

सिनेमाको आविष्कार एकै पटकमा कुनै एक ब्यक्तिले मात्र गरेको पाइदैन। यसको लागि अनेक वैज्ञानिकहरूले लामो समयदेखि गर्दै आएको प्रयासबाट सम्भव भएको मानिन्छ। फ्रान्सका लुमिर दाजुभाइ मिलेर विश्वको पहिलो सिनेमा बनाएको मानिन्छ। तर पनि यसमा एल्वा एडिसन, माब्रिज र फ्रिज ग्रिनकको समेत ठूलो योगदान थियो।

भावना र समवेदनाहरूको भेल यसरी उर्लन्छ कि आँखाबाट कैयौं कुरा बगाएर लगे पनि मुटु र मष्तिष्कमा त्यसका अमिट छापहरू जिन्दगीभर रही रहन्छन्। सिनेमा आफ्नै कथा र व्यथाहरूको प्रकटिकरण र आत्मसात गर्न बाध्य पार्ने कलात्मक साधन हो। जीवन र जगतका धेरै विषयवस्तु यसमा समेटिन्छन्। यसले अनेक विषयको चिरफार गर्दै मानिसलाई कथाको सियोले घोचि घोचिमालाजस्तै उनेर काँचको पर्दामा झुन्ड्याइ दिन्छन्।

सन् १८३० देखि १८७० को समयमा सिनेमाको आविष्कारको लागि धेरै प्रयास भएको पाइन्छ। १८८८ मा फ्रेन्च आविष्कारक लुइस लेइ प्रिन्सले विश्वमै पहिलो पटक 'रोङ्घे गार्डेन सिन' नामक सिनेमाको निर्माण गरेको मानिन्छ। उक्त सिनेमा दुई दशमलव एघार सेकेण्डको थियो। आवाज बिनाको उक्त सिनेमाको निर्देशन र सम्पादन पनि लुइसले नै गरेका थिए। तर यस सिनेमाका निर्माता, कलाकार र यससँग सम्बन्धित सबै ब्यक्तिको रहस्यमय तरिकाले हत्या भयो। यती सम्म कि लुइसका छोरा एडल्फको पनि हत्या गरियो। त्यस पछि सिनेमाको पहिलो आविष्कारकको रूपमा प्रसिद्ध अमेरिकी वैज्ञानिक थोमस अल्बा एडिसनलाई स्वीकार गर्न थालियो। उनले सन् १८९० मा सिनेमाको यन्त्र आविश्कार गरेको मानिन्छ। फ्रान्सका ल्युमिर दाजुभाइले पनि यसको आविष्कारका लागि ठूलो योगदान गरेका थिए। उनीहरूले एडिसनले आविष्कार गरेको काइनेटोस्कोप यन्त्रको माध्यमबाट सन् १८९५ मा चलिरहेका चित्रहरूको प्रदर्शन गर्न सफल भएका थिए। भारतमा सन् १९१३ मा दादा साहेब फाल्केले राजा हरिश्चन्द्र नामको पहिलो सिनेमा बनाएर देखाएका थिए। त्यही सिनेमा नेपाली भाषामा रूपान्तरण गरी देखाइएको थियो। नेपालमै बनेको पहिलो सिनेमा आमा थियो, जुन हिरासिंह खत्रीको निर्देशनमा निर्माण भइ २०२२ सालमा प्रदर्शन गरिएको थियो।

सिनेमा मानव जीवनका विगत, वर्तमान र भविष्यका सत्य, यथार्थ, काल्पनिक विषयमा बन्छन्। मनोरञ्जन तथा ज्ञानको लागि सिनेमा महत्वपूर्ण मानिन्छ। विश्वभर सिनेमा निर्माण र प्रदर्शन दैनिक क्रियाकलाप मात्र नभइ एउटा सशक्त उद्योगको रूपमा विकसित भइ रहेको छ। सिनेमाको ब्यापारिक र प्राविधिक पक्ष दर्शनशास्त्रसँग त्यती धेरै साइनो नराख्ने विषय भए पनि सिनेमाको शीर्षक, कथावस्तु, अभिनय, सजावट, कलात्मकता, वास्तविकता र नाटकीयता जस्ता पक्षहरू दर्शनशास्त्रका अप्रत्यक्ष विषय हुन्छन्। किनकी हरेक सिनेमाले दर्शनशास्त्रको प्रमुख अङ्ग मानिएको सौन्दर्यशास्त्रको प्रतिनिधित्व गर्दछ र दर्शकलाई विषय अनुसारको सौन्दर्य चेतना सम्प्रेषण गर्दछ। 

विश्वको सृष्टि, मानव जीवन, इतिहास, धर्म, कला, संस्कृति, परम्परा, विज्ञान र प्रविधि जस्ता विषयलाई सिनेमाले कलात्मक मसला मिसाएर निर्माण गर्छ। जसलाई हेरेर मनोरञ्जन, ज्ञान, शन्देश, शिक्षा र उत्प्रेरणा एक साथ पाउन सकिन्छ।  सिनेमाको कथा, गीत, नृत्य र अभिनयले मानिसलाई उसकै यथार्थ जीवनमा पुर्याइ दिन्छ। जसलाई हेरेर मानिस त्यो सँग आफूलाई एकाकार गर्न सक्छ। सिनेमाको ऐना रूपी पर्दामा जीवनका दुःख, सुख, पीडा, व्यथा, आक्रोस, माया, प्रेम, घृणा लगायत अनेक कुरा हेर्न र अनुभुति गर्न पाइन्छ।

मुल रूपमा सिनेमाले कथा र अभिनयका माध्यमबाट दर्शकहरुलाई सौन्दर्यशास्त्रका विविध पक्षको जानकारी दिने काम गरिरहेको हुन्छ। यसमा प्रस्तुत गरिने भाषा, भेषभुषा, बोलीचाली, शैली र कथावस्तुले दर्शकलाई वास्तविक जीवनका संवेदना र भावनामा गहिरोसँग जोडि दिन्छन्। जीवन र जगतका अनेक पक्षको प्रस्तुतिले कथाको परिवेश अनुसार दर्शकहरु हाँस्छन्, चिच्याउँछन् र रुन्छन्। सिनेमाले दर्शकलाई धरधर रूवाउँछ र पेट मिचिमिचि हसाउँछ  । त्यती मात्र होइन कुनैकुनै सिनेमा हेरेर मानिसले आत्महत्या समेत गरेका घटनाहरू छन्। आफ्नै जीवनको वास्तविकतासँग मेल खाने सिनेमा पनि धेरै हुन्छन्। हरेक सिनेमाले दर्शकलाई मन्त्रमुग्ध पार्न कोशिस गरेका हुन्छन्। द मेट्रिक्स, स्पटलेस माइण्ड, गट्टका, सेल्टर, मजेदार खेल, सोलारिस, मेमेण्टो, ब्लेड रनर, सातवीं मोहर, स्पेस ओडिसी, द फाइट क्लब, ट्रुमेन शो, ओरिजिन, इकिरू, मेकानिकल अरेन्ज, जिस दिन नित्शे रोया, कार्टेसियस, जीवन कि गिन्ती, समुद्र के अन्दर जस्ता विश्व प्रशिद्ध सिनेमाहरूले दर्शनशास्त्रका विद्यार्थी  र त्यसमा रूचि राख्नेहरूलाई पूरा ज्ञान दिन्छन्। अनि जीवन र जगतका बारेमा सोच्न बाध्य पनि पार्छन्। 

हरेक सिनेमामा दर्शनशास्त्रको प्रभाव परेकै हुन्छ। दर्शनले सिनेमाको कथादेखि  निर्माण सम्मलाई अगाडि बढाइ रहेको हुन्छ। यस बारेमा ह्युगो मुन्स्टरबर्ग, रूडोल्फ अर्नेम, केन्डल वाल्टन र एन्ड्रे बेजिनले खोज, अनुसन्धान र ब्याख्या गरेका छन्। अमेरिकी दार्शनिक नोल क्यारोलले सिनेमाको दर्शन बारेमा अनेकौं अध्ययन अनुसन्धान गरेका छन्। सिनेमामा दृष्य, रङ्गमञ्च, चित्रकला, ध्वनी शास्त्र, साहित्य र भाषा सम्वादको प्रयोग मार्फत् दर्शनशास्त्रलाई मुखरित गरिन्छ। दर्शकले सिनेमा हेर्दा दर्शनशास्त्र हेर्ने पढ्ने त भनिँदैन। तर उसले एउटा सिनेमा हेर्दा अनेक प्रकारको दर्शनलाई एकैसाथ हेर्न, बुझ्न र अनुभव समेत गर्न पाउँछ। यो नै सिनेमाको मुलभूत विशेषता हो। यसलाई केवल सिनेमाको रूपमा मात्र बुझ्नु अज्ञानता वा भ्रम हो। काँचको पर्दामा यसलाई ऐना सरह हेर्न मिल्छ, जहाँ आफ्नो जीवन र जगतलाई  प्रष्टसँग देख्न, बुझ्न र अनुभव गर्न सकिन्छ। यसको कथा, पात्र र घटनाक्रमहरूमा आफ्नै अनुहार मात्र होइन कि समग्र जीवनको यथार्थता पाउन सकिन्छ। यसमा बोलिने सम्वाद, गीत, लडाइँ, झगडा, अभिनय र परिवेशहरूले उसकै दैनिक जीवनका घटनासँग दर्शकलाई यसरी भुलाउँछ कि ऊ त्यसमा बग्दै जान्छ।

भावना र समवेदनाहरूको भेल यसरी उर्लन्छ कि आँखाबाट कैयौं कुरा बगाएर लगे पनि मुटु र मष्तिष्कमा त्यसका अमिट छापहरू जिन्दगीभर रही रहन्छन्। सिनेमा आफ्नै कथा र व्यथाहरूको प्रकटिकरण र आत्मसात गर्न बाध्य पार्ने कलात्मक साधन हो। जीवन र जगतका धेरै विषयवस्तु यसमा समेटिन्छन्। यसले अनेक विषयको चिरफार गर्दै मानिसलाई कथाको सियोले घोचि घोचिमालाजस्तै उनेर काँचको पर्दामा झुन्ड्याइ दिन्छन्। हरेक सिनेमाले वास्तविकता बढी र काल्पनिकता कम भएको फूलमाला उनि दिन्छ। त्यही माला आफै भिरेर हिड्न दर्शकहरु बाध्य हुन्छन्। असल सिनेमा त्यही हो जसमा जीवनका सबै रङका फूलहरू फुलेको देख्न पाइन्छ। सफल सिनेमा पनि त्यही हो जसमा इन्द्रेणीका सातै रङहरू देख्न पाइन्छ। 

हरेक सिनेमा आफैमा कुनै न कुनै दर्शनशास्त्रको पुस्तक हो। जसलाई दर्शकले घर वा पुस्तकालयमा पाना पल्टाएर अक्षर अक्षर हेरिरहनु पर्दैन। केवल काँचको कुनै पर्दामा अभिनय कला सहित सदृष्य हेर्न र बुझ्न सक्छन्। सिनेमाले विभिन्न प्रकारको सौन्दर्यशास्त्र दर्शकलाई  सिकाइ रहेको हुन्छ। यो नै सिनेमाको दर्शनशास्त्र हो।