ज्ञानेन्द्र विवश | साहित्य | माघ २६, २०८१
साहित्य जीवनको प्रतिविम्ब हो, जसमा जन्म, मृत्यु, प्रेम, वेदना र मानव अस्तित्वका अनगिन्ती अनुभूतिहरू अभिव्यक्त हुन्छन् । जीवन र मृत्यु एकअर्काका परिपूरक हुन्, तर नेपाली साहित्यमा मृत्यु–चिन्तनलाई अनुसन्धानमूलक ढङ्गले प्रस्तुत गर्ने अभ्यास भने न्यून छ । यस्तै अभावको पूर्ति गर्ने प्रयासका रूपमा अनुसन्धानकर्ता बद्रीप्रसाद ढकालद्वारा लेखिएको ‘साहित्यमा मृत्यु–चिन्तन’ पुस्तक प्रकाशित भएको छ ।
मृत्युबारे चिन्तन कुनै नयाँ विषय होइन । प्राचीन दर्शनदेखि आधुनिक अस्तित्ववादसम्म यसबारे विभिन्न मत पाइन्छन् । पूर्वीय दर्शनमा मृत्यु पुनर्जन्मको बिन्दु हो । पश्चिमी दार्शनिकहरूले यसलाई अस्तित्वको परिधिमा राखेर व्याख्या गरेका छन् । ढकालको पुस्तकको पहिलो खण्डमा मृत्यु–चिन्तनको यस्तै दार्शनिक पृष्ठभूमिलाई केन्द्रमा राखेर मृत्युका विविध दृष्टिकोण खोज्ने प्रयत्न गरिएको छ । जैविक अन्त्य मात्र होइन मृत्यु यो चेतना, आस्था र समाजको सोचाइसँग पनि प्रत्यक्ष रूपमा सम्बन्धित छ । यस सैद्धान्तिक पाटोलाई नेपाली सन्दर्भमा परख गर्ने काम लेखकले गरेका छन्, जसले यस विषयलाई अझ प्रामाणिकता प्रदान गर्छ।
नेपाली साहित्यमा मृत्यु–चिन्तनको प्रयोग
ढकालको कृतिको दोस्रो खण्ड व्यावहारिक पक्षसँग सम्बन्धित छ । नेपाली साहित्यमा मृत्यु–चिन्तन कसरी व्यक्त भएको छ भन्ने विषयलाई लेखकले सूक्ष्म अध्ययन गरेका छन् । नेपाली कविता, कथा, उपन्यास, निबन्ध र संस्मरणहरूमा मृत्युको उपस्थिति कतै विषादपूर्ण छ भने कतै दार्शनिक रूपले स्वीकार गरिएको छ ।
विशेषतः आधुनिक नेपाली साहित्यमा मृत्यु विम्बात्मक रूपमा प्रस्तुत हुँदै आएको पाइन्छ । लक्ष्मीप्रसाद देवकोटाका कविताहरूमा मृत्यु सौन्दर्यशास्त्रसँग गाँसिएको देखिन्छ भने पारिजातका कथाहरूमा मृत्यु विद्रोहको प्रतीक बन्न आइपुग्छ । यस्तै, कृष्ण धरावासीको ‘राधा’ उपन्यासमा मृत्यु प्रेम र सामाजिक संरचनाको पुनर्व्याख्या गर्ने उपकरण बनेको छ । राष्ट्रकवि माधव घिमिरेको ‘गौरी’ मा मृत्यु पीडाको सुकोमल संवेदना अभिव्यक्त छ ।
कृतिको योगदान र महत्व
नेपाली साहित्यमा मृत्यु–चिन्तनको यो अध्ययन अत्यन्त सान्दर्भिक छ । मृत्यु जीवनको अनिवार्य सत्य भए तापनि यसबारे गहिरो अनुसन्धान भएको देखिँदैन । साहित्यमा मृत्युको चित्रणले समाजको मनोवैज्ञानिक अवस्था, आध्यात्मिक दृष्टिकोण र वैचारिक प्रवृत्तिहरू झल्काउँछ । ढकालको यो कृति नेपाली साहित्यमा मृत्यु–चिन्तनलाई गहन रूपमा बुझ्न चाहने पाठक, अनुसन्धानकर्ता र साहित्य प्रेमीहरूका लागि माइलस्टोन बन्न सक्छ ।
यस समीक्षात्मक विश्लेषणबाट भन्न सकिन्छ कि साहित्यमा मृत्यु–चिन्तन नेपाली साहित्यिक अनुसन्धानका लागि महत्वपूर्ण कृति हो । यसले नेपाली समाजको मृत्यु सम्बन्धी धारणा, साहित्यमा यसको अभिव्यक्ति र यसको दार्शनिक पृष्ठभूमिलाई गहिराइमा गएर अध्ययन गर्न मद्दत पुर्याउँछ । मृत्यु–चिन्तनलाई मात्र नभई, नेपाली साहित्यको गहिराइ बुझ्नका लागि पनि यो पुस्तक एक महत्वपूर्ण स्रोत बन्न सक्छ ।
मृत्यु मानव सभ्यताको अनिवार्य सत्य हो, जसले अनादिकालदेखि नै चिन्तन, दर्शन र साहित्यलाई प्रभाव पारेको छ । बद्रीप्रसाद ढकालको मृत्यु–चिन्तन कृति नेपाली साहित्यमा मृत्यु सम्बन्धी चिन्तनलाई अनुसन्धानमूलक दृष्टिकोणले प्रस्तुत गर्ने पहिलो व्यापक प्रयास हो । डा. दुर्गाबहादुर घर्तीले यस कृतिलाई नेपाली साहित्यमा नौलो पाइलोका रूपमा व्याख्या गर्नुको पछाडि गहिरो अर्थ छ ।
मृत्यु–चिन्तनः ऐतिहासिक परिप्रेक्ष्य
मृत्यु–चिन्तन कुनै नयाँ अवधारणा होइन। ऋग्वेददेखि नै यसबारे गम्भीर विमर्शहरू पाइन्छन् । हिन्दू दर्शनमा यमराज, पुनर्जन्म, कर्मफल आदिको चर्चा छ भने पश्चिमी दर्शनमा प्लेटो, अरस्तु हुँदै आधुनिक अस्तित्ववादी चिन्तकहरूले मृत्युको परिभाषा र प्रभावलाई आफ्नो तरिकाले विश्लेषण गरेका छन् । साहित्यमा पनि मृत्यु प्रमुख विषयवस्तु रहिआएको छ । तर, नेपाली साहित्यमा मृत्यु–चिन्तनलाई पृथक रूपमा विस्तृत अध्ययन गर्ने परिपाटी थिएन ।
बद्रीप्रसाद ढकालले आफ्नो कृतिलाई दुई खण्डमा विभाजन गरी मृत्यु–चिन्तनको बहुआयामिक अध्ययन गर्नुभएको छ । पहिलो खण्ड सैद्धान्तिक पक्षमा केन्द्रित छ, जसमा मृत्यु–चिन्तनको दार्शनिक आधारको खोजी गरिएको छ । यहाँ धार्मिक, सांस्कृतिक, मनोवैज्ञानिक तथा समाज शास्त्रीय दृष्टिकोण समेटिएको छ । दोस्रो खण्ड प्रायोगिक पक्षमा समर्पित छ ।यसमा नेपाली साहित्यमा मृत्यु–चिन्तनको प्रयोगको स्वरूप र प्रवृत्तिमाथि लिखित कृतिको विवेचना गरिएको छ । यसले मृत्यु–चेतनालाई नेपाली साहित्यमा कसरी प्रस्तुत गरिएको छ भन्ने कुरामा गहिरो दृष्टि दिन्छ ।
नेपाली साहित्यमा मृत्यु–चिन्तनको स्थान
नेपाली साहित्यमा मृत्यु चित्रणका अनेक रूपहरू पाइन्छन् । पुराना लोककथादेखि आधुनिक आख्यान, कविता, निबन्ध, आत्मकथा तथा संस्मरणहरूमा मृत्यु महत्वपूर्ण पाटो बनेको छ । तीमध्ये अधिकांश सिर्जनाहरू साहित्यिक अभिव्यक्तिको रूपमा मात्र रहे । मृत्यु–चिन्तनलाई अनुसन्धानमूलक रूपमा केन्द्रीकृत गरी नेपाली साहित्यमा गहन अध्ययन गर्ने परिपाटी थिएन । अनुसन्धाता ढकालको कृति यस अभावलाई पूर्ति गर्ने दिशामा नौलो कोसिस हो ।
मृत्यु–चिन्तन कृति नेपाली साहित्यमा अनुसन्धान र सैद्धान्तिक चिन्तनको अभावलाई पूर्ति गर्ने महत्वपूर्ण योगदान हो । यो कृति नेपाली साहित्यमा मृत्यु–चिन्तनको अध्ययनका लागि एउटा आधारशिला सावित हुन सक्छ । समीक्षक डा. दुर्गाबहादुर घर्तीको विश्लेषण पनि यही परिप्रेक्ष्यमा अर्थपूर्ण देखिन्छ । ढकालको यो प्रयासले भविष्यमा नेपाली साहित्यमा मृत्यु–चिन्तन सम्बन्धी थप अनुसन्धान र लेखनको बाटो खोल्ने विश्वास गर्न सकिने धारणा उहाँको छ ।
मृत्यु जीवनको अवश्यम्भावी सत्य हो । यो यथार्थलाई आत्मसात् गर्ने र यसलाई गहिराइसम्म अनुभूति गर्ने संवेदनशील चेतनाले नै साहित्यलाई अर्थपूर्ण बनाउँछ । नेपाली साहित्यमा मृत्यु–चिन्तन कुनै नयाँ विषय होइन । यसलाई विविध कोणबाट विश्लेषण गर्दै आएको पाइन्छ ।
मृत्युबोध र साहित्य
साहित्यको मूल उद्देश्यमध्ये एक जीवन र यसको सत्यहरूलाई कलात्मक रूपमा उजागर गर्नु हो । मृत्युबोधले लेखकलाई गम्भीर बनाउँछ ।लेखकको लेखनीलाई तिखार्छ र पाठकलाई गहिराइमा सोच्न बाध्य पार्छ । बद्रीप्रसाद ढकालले आफ्ना रचनाहरूमा मृत्युका विविध आयामहरूलाई प्रस्तुत गरेका छन्– व्यक्तिगत पीडा, दार्शनिक दृष्टिकोण, धार्मिक मान्यताहरू र सामाजिक संरचनाभित्र मृत्युको भूमिका ।
यस कृतिमा मृत्यु केवल एक घटनाका रूपमा नभई अस्तित्ववादी प्रश्नका रूपमा उठाइएको देखिन्छ । मृत्युको अर्थ के हो ? के मृत्यु नै अन्तिम सत्य हो, कि मृत्युपछिको अस्तित्व अझै रहन्छ ? यी प्रश्नहरू धार्मिक, दार्शनिक र वैज्ञानिक कोणबाट बारम्बार उठाइएका छन् । ढकालले यी प्रश्नहरूको उत्तर खोज्ने क्रममा नेपाली साहित्यिक कृतिहरूको विश्लेषण गर्दै मृत्यु–चिन्तनका विविध पक्षहरूलाई केलाएका छन् ।
बद्रीप्रसाद ढकालले नेपाली साहित्यमा मृत्यु–चिन्तन विषयक कृतिहरूको तुलनात्मक अध्ययन गर्दै मृत्यु विषयक नेपाली साहित्यको विशेषता केलाउनुभएको छ । मृत्युबारे लिखित साहित्यमा दुःख, वियोग, आत्मबोध, दार्शनिक खोज, पुनर्जन्मको अवधारणा, धार्मिक दृष्टिकोण र वैज्ञानिक सोंचको प्रभाव कत्तिको छ भन्ने विषयमा विवेचना गरिएको छ ।
नेपाली साहित्यमा मृत्यु–चिन्तनको साहित्यिक प्रभाव
मृत्युबोधले साहित्यलाई गहिरो बनाउने तत्वहरूमध्ये एक प्रमुख तत्व हो । जब लेखकले मृत्युको निकटता अनुभव गर्छ, तब उनको लेखन अझ गहन, प्रभावशाली र विचारप्रधान हुन्छ । यही कारणले मृत्यु–चिन्तनमा आधारित कृतिहरूले सशक्त प्रभाव पार्छन् । ढकालको कृतिले पनि प्रथमतः आफ्नै हजुरबुबा र बुबाको मृत्यपश्चात् मृत्यु–चिन्तनले सानैदेखि मन संवेदित भई लेखकीय मन निर्माण भएको पाइन्छ । यसमा पाठकलाई मृत्युको डरभन्दा पर गएर जीवनलाई बुझ्न प्रेरित गर्छ ।
नेपाली साहित्यमा मृत्यु शारीरिक अन्त्यको विषय होइन; यसलाई भावनात्मक, सांस्कृतिक र मनोवैज्ञानिक दृष्टिले समेत गहिराइसम्म विश्लेषण गरिएको पाइन्छ । त्यसैले ढकालको प्रस्तुत समीक्ष्य कृति ‘साहित्यमा मृत्यु–चिन्तन’ सम्बन्धी अध्ययन समीक्षा मात्र होइन, यो नेपाली साहित्यमा मृत्युबारे गरिएको गहिरो अनुसन्धानका रूपमा पनि उपयोगी ठहरिन्छ ।
वास्तवमा बद्रीप्रसाद ढकालको मृत्यु–चिन्तन कृतिले नेपाली साहित्यमा मृत्यु–चिन्तनको प्रवृत्ति केलाउने महत्वपूर्ण कार्य गरेको छ । कृतिमा समेटिएका २६ वटा अध्यायहरूले मृत्युका विविध आयामहरू प्रस्तुत गर्छन् भने ९ वटा समीक्षात्मक लेखहरूले नेपाली साहित्यमा मृत्युबोध कसरी विकसित हुँदै आएको छ भन्ने स्पष्ट पार्छन् । साहित्यमा मृत्यु–चिन्तन पीडादायी वा निराशाजनक विषय मात्र होइन । यो जीवनबोधको मार्गदर्शनसमेत बन्न सक्छ भन्ने तथ्य ढकालको कृतिले देखाएको छ । मृत्यु–चिन्तनलाई साहित्यमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिएमा, यसले पाठकलाई जीवनको वास्तविकता बुझ्न सघाउने मात्र होइन, जीवन जिउने कला सिकाउने पनि सक्छ ।
मृत्यु सधैँदेखि साहित्यिक सिर्जनाको केन्द्रबिन्दु रहिआएको छ । जीवनको अनिवार्य सत्य भएकाले मृत्युले लेखनीलाई गहिराइ दिन्छ, संवेदनशील बनाउँछ र विचारको गहिरो तहमा पुर्याउँछ । नेपाली साहित्यमा पनि मृत्यु–चिन्तनको विविध स्वरूप पाइन्छ । नेपाली निबन्ध, कविता, उपन्यास तथा कथा–संग्रहहरूले
मृत्युको सौन्दर्य, दर्शन, पीडा र रहस्यलाई अलग–अलग कोणबाट व्याख्या गरेका छन् ।
मृत्यु–चिन्तनको विविध आयाम
नेपाली साहित्यमा मृत्यु–चिन्तनलाई प्रमुखतः दुःख, वेदना, दर्शन र विम्बात्मक सौन्दर्यका रूपमा प्रस्तुत गरिएको पाइन्छ । यस्ता विषयवस्तुहरूमा मृत्यु केवल अन्त्य मात्र नभएर पुनर्जन्म, आत्मशुद्धि र चेतनाको वाहकका रूपमा पनि देखिन्छ ।
नेपाली साहित्यमा मृत्यु भौतिक शरीरको समाप्ति नभएर आत्माको यात्रा पनि हो भन्ने विश्वास पाइन्छ । त्यसैगरी मृत्युको पीडा र मानवीय संवेदनापछि सिर्जित सिर्जना वस्तुतः पठनीय हुनसँगै त्यसमा व्यक्त अनुभूति र विश्लेषणले मान्छेका मन छुने सामर्थ्य राख्छन् ।
‘साहित्यमा मृत्यु–चिन्तन’ शीर्षकको अनुसन्धानमूलक कृतिमा अनुसन्धाता ढकालले नेपाली साहित्यका अग्रज व्यक्तित्वहरूले मृत्यु–चिन्तनमाथि लेख्नुभएका विविध कृतिहरूको उल्लेख गर्दै तिनको समीक्षात्मक विवरण पनि पेश गर्नुभएको छ । ढकालका अनुसार नेपाली साहित्यमा मृत्यु–चिन्तनमाथि फुटकर रचनाको प्रारम्भ प्राथमिककालीन अर्थात् भानुभक्त आचार्यकै रचनाबाट प्रारम्भ भएको पाइने चर्चा गर्नुभएको छ । त्यसैगरी मोतीराम भट्ट, लेखनाथ पौड्याल, धारणीधर कोइराला, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ आदिका सिर्जनामा पनि मृत्यु–चिन्तनको गहिरो चिन्तन गरिएको उहाँले लेख्नुभएको छ .
ढकालका अनुसार माधव घिमिरेको ‘गौरी’ शोककाव्य, त्यस्तै सिद्धिचरण श्रेष्ठको ‘आँसु’ खण्डकाव्य, हृदयचन्द्रसिंह प्रधानको ‘एक चिहान’ उपन्यास, महाभारतको मृत्युलाई समेटिएको विश्वेश्वरप्रसाद कोइरालाको ‘मोदी आइन्’, द्वितीय विश्वयुद्धको चर्चा गरिएको ‘हिटलर र यहुदी’, शिवगोपाल रिसालको ‘मृत्यु–विज्ञान’, रामानन्द गिरीको ‘मृत्यु–दर्शन’, गोविन्दराज भट्टराईको ‘सुकरातको पाइला’ र ‘सुकरातको डायरी’, मञ्जुलको ‘मृत्यु कविता’, लक्ष्मी उप्रेतीको ‘मृत्यु स्पर्श’, जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा’, ज्ञानेन्द्र विवशको ‘मृत्यु–उत्सव’, रवीन्द्र समिरको ‘मृत्युको आयु’, तुलसी आचार्यको ‘मृत्यु डायरी’, मणि लोहनीको ‘मृत्युको अघिल्तिर’ मा मृत्यु–चिन्तनका बहुआयामिक पक्षलाई चर्चा गरिएको छ ।
मृत्यु अनन्त रहस्य हो । जीवन जत्तिकै सहज, तर गहिरो र जटिल। साहित्य भनेको अनुभूतिहरूको प्रतिविम्ब हो, जसमा मृत्युलाई पनि विविध कोणबाट चित्रित गरिएको हुन्छ । नेपाली साहित्यले मृत्यु–चिन्तनलाई कहिलेकाहीँ सौन्दर्यको रूपमा हेर्छ, कहिलेकाहीँ पीडाको रूपमा, कहिलेकाहीँ दार्शनिक दृष्टिकोणबाट विश्लेषण गर्छ ।
उल्लेख भइसक्यो नेपाली साहित्यमा मृत्यु–चिन्तनको इतिहास प्रारम्भिक युगमै फक्रिएको देखिन्छ । भानुभक्त आचार्यको रामायणमा जीवन–मृत्युको चक्रबारे बौद्धिक दृष्टिकोण पाइन्छ । मोतीराम भट्टको काव्यमा प्रेमसँगै मृत्युप्रतिको गहिरो संवेदनशीलता देखिन्छ । लेखनाथ पौड्यालका कृतिहरूमा मृत्यु केवल अन्त्य नभई पुनर्जन्म र कर्मफलको संकेत बनेर आउँछ ।
त्यसैगरी राष्ट्रकवि माधव घिमिरेको ‘गौरी’ शोककाव्यमा गौरीको शोक र आँसुको वेदना पोखिएको छ । मृत्युले प्रेमलाई कसरी अमर बनाउँछ भन्ने मन छुने भाव पढ्न पाइन्छ । घिमिरेको ‘गौरी’ मृत्युपछि बचेकाहरूको मनोदशाको उत्कृष्ट चित्रण हो । युगकवि सिद्धिचरण श्रेष्ठको ‘आँसु’ खण्डकाव्यमा मृत्युका कारण उत्पन्न हुने वेदना गहिरो रूपमा चित्रित छ। यी कृतिहरूले मृत्युलाई केवल दुःखको विषय बनाउँदैनन्, बरु त्यसलाई जीवनको अटुट चक्रको रूपमा प्रस्तुत गर्छन् ।
त्यस्तै रामानन्द गिरीको ‘मृत्यु–दर्शन’ र शिवगोपाल रिसालको ‘मृत्यु–विज्ञान’ मा मृत्युलाई गम्भीर दार्शनिक र वैज्ञानिक दृष्टिकोणबाट हेरिएको छ । मृत्युपछि के हुन्छ ? चेतना कतिञ्जेल रहन्छ ? यी प्रश्नहरू गहिराइका साथ विश्लेषण गरिएका छन् ।
यसरी नै यी पंक्तिकारको निबन्ध संग्रह ‘मृत्यु उत्सव’ ले मृत्युलाई शोकको विषय बनाउँदैन । बरु त्यसलाई उत्सवका रूपमा हेर्न आग्रह गर्छ । मृत्यु अनिवार्य छ, तर यसले जीवनलाई झन् अर्थपूर्ण बनाउँछ भन्ने पंक्तिकारको विचार छ ।
तुलसी आचार्यको ‘मृत्यु–डायरी’ र रवीन्द्र समिरको ‘मृत्युको आयु’ मा मृत्युप्रतिको गहिरो अन्वेषण पाइन्छ । यी कृतिहरूले मृत्युको काल्पनिक भय मात्र नभई, यससँग जुध्ने मनोवैज्ञानिक संघर्षलाई पनि चित्रण गर्छन् ।
वास्तवमा मृत्यु–चिन्तन नेपाली साहित्यको मूल प्रवृत्तिहरूमध्ये एक हो । जीवनको अस्थायित्वबारेको यो गम्भीर विमर्श नेपाली साहित्यमै मात्र सीमित छैन ।सारा विश्व साहित्यको अभिन्न पक्ष हो । नेपाली स्रष्टाहरूले मृत्युलाई पीडाका रूपमा नभई, जीवनको परिपूर्णता दिने तत्वका रूपमा चित्रण गरेका छन् । यसरीमृत्यु–चिन्तन साहित्यको एउटा गहिरो अनुभूतिजन्य आयाम हो, जसले जीवनलाई अझ अर्थपूर्ण बनाउने कार्य गर्छ ।
शारीरिक मृत्यु मात्र होइन, नेपाली साहित्यले सांस्कृतिक, राजनीतिक र सामाजिक मृत्युलाई पनि चित्रण गरेको छ । साहित्यमा समाजको मृतप्रायः अवस्था, असमानता, शोषण आदिको सशक्त चित्रण पाइन्छ ।
यसैबीच केही कविहरूले मृत्युको भयावहतालाई सौन्दर्यात्मक ढंगले प्रस्तुत गरेका छन् । भूपी शेरचनका कविताहरूमा मृत्यु केवल एक पीडा नभएर जीवनको यथार्थबोधको सूचक बनेर आउँछ ।
अन्ततः मृत्यु–चिन्तन नेपाली साहित्यको गहिरो विषय हो । यसले जीवनको अन्त्य मात्र होइन, पुनर्जन्म, बोध, चेतना र समाजको यथार्थलाई समेत चित्रण गर्छ । नेपाली साहित्यमा मृत्यु–चिन्तन भावनात्मक, दार्शनिक, सामाजिक, राजनीतिक तथा सौन्दर्यात्मक रूपमा विकसित हुँदै आएको छ ।
मृत्युको व्याख्या गर्ने तरिका जति विविध छन्, त्यति नै यसले पाठकमा जागृत गर्ने अनुभूतिहरू पनि गहिरा छन् । नेपाली साहित्यले मृत्युलाई मात्र होइन, मृत्युपछिको जीवनलाई पनि गम्भीर रूपमा प्रश्न गर्न खोजेको छ, जसले यसलाई अझ गहिराइ प्रदान गर्छ ।
यसरी अनुसन्धाता लेखक बद्रीप्रसाद ढकालको दुई दर्जन हाराहारीका प्रकाशित लेखकीय सिर्जनामध्ये प्रस्तुत कृति ‘साहित्यमा मृत्यु–चिन्तन’ पछिल्लो कृति हो । नवीनतम् र पृथक अनुभूति–आलेखको यौटा अनुसन्धानको महत्वपूर्ण दस्तावेज बनेर यो कृति नेपाली साहित्यमा सार्वजनिक भएको छ ।