एनआरएनए अगुवाद्वय खड्क र के सी अगुवाइमा पर्वतका स्कुलमा स्मार्ट बोर्ड !

एनआरएनए अगुवाद्वय खड्क र के सी अगुवाइमा पर्वतका स्कुलमा स्मार्ट बोर्ड !

लोकसंवाद संवाददाता  |  शिक्षा  |  माघ २७, २०८१

बेल्जियम । बेल्जियमका निवर्तमान अध्यक्ष खड्क के सी साथै अन्तराष्ट्रिय पर्बते समाजका निवर्तमान अध्यक्ष झलक के सी दुई दाजुभाई को सकृयतामा पर्वतका स्कुलमा स्मार्ट बोर्ड राखिएको छ । 

जलजला गाउँपालिकाका विद्यालयहरुले स्मार्ट बोर्डबाट पठनपाठन गराउन थालेका छन् । सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउन जलजला गाउँपालिका वडा नम्वर ८ नाग्लिवाङमा अवस्थित जनकल्याण माध्यमिक विद्यालयले ४ वटा स्मार्ट बोर्ड जडान गरी पठनपाठन थालेको हो ।

नाग्लिवाङमा जन्मिएर हाल बेल्जियममा रहेका झलक केसी र खड्का वहादुर केसीको पहलमा बेल्जिक संस्था साल्भाडोर र विकास नेपाल नामक संस्थाको सहयोगमा ९ लाख ५० हजार लागतमा स्मार्ट बोर्ड उपलव्ध गराइएको थियो । यूरोपियन मुलुक विद्यालयहरुमा स्मार्ट बोर्ड मार्फत अध्यापन हुँदै आएको र आफुले कखरा सिकेको विद्या ललाई प्रविधिमैत्री बनाउने उद्देश्यले स्मार्ट बोर्ड जडान गरिएको केसीले बताउनु भयो । उहाँले आगामी दुई बर्षभित्र अन्य कक्षाकोठामा स्मार्ट बोर्ड जडान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘सामुदायिक विद्यालयहरु प्राविधि मैत्री हुन जरुरी छ, केसीले भन्नुभयो,‘यसका लागि सबैको पहल आवश्यक छ ।'

स्मार्ट बोर्डको प्रयोगबाट पढाउँदा सिकाई दिगो, समयको बचत र प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । शिक्षकलाई शिक्षण गर्न तथा विद्यार्थीलाई बुझ्न स्मार्ट बोर्ड निकै उपभोग रहेको रेग्मीले बताउनु भयो । स्मार्ट बोर्ड जडानपछि हामीलाई पढाउन र कुरा बुझाउन निकै सहज भएको छ । विद्यार्थीले पनि शिक्षण सिकाइ क्रियाकलापमा रुचि देखाएका छन्, उहाँले भन्नुभयो,'स्मार्टबोर्डले गर्दा कुनै कक्षामा शिक्षक नभएको अवस्थामा पनि विद्यार्थीले पढ्न र अभ्यास गर्न पाउने वातावरण बनेको छ ।' स्मार्ट बोर्डबाट लेखेका विषयवस्तु सेभ गर्न मिल्ने, भिडियो पनि देखाउन मिल्ने भएकाले निकै उपभोगी साबित हुने उहाँको भनाई छ ।

विद्यालयको शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत स्मार्ट बोर्ड जडान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम केसी ९सुर्य० ले बताउनु भयो । ‘विद्यालयहरु अब विद्यार्थीको माग र समयको आवश्यकता अनुकुल प्रविधिमैत्री बन्नुपर्छ,त्यस अनुरुप हामीले विद्यालयमा स्मार्ट बोर्ड प्रयोगमा ल्याएका हौँ ।,’ विद्यालयमा तत्काल ४ वटा स्मार्ट बोर्ड जडान गरिएको र उपलब्ध बोर्ड ७, ८, ९ र १० कक्षामा प्रयोग गरिने अध्यक्ष केसीले जानकारी दिनुभयो ।

जलजलामा ४० वटा सामुदायिक विद्यालयहरु छन् । जसमध्ये १० वटा माध्यमिक विद्यालय, ४ वटा आधारभूत विद्यालय र २६ वटा प्राथमिक विद्यालयहरु छन् । यसअघि जलजला गाउँपालिका वडा नम्वर ९ बनौमा अवस्थित बनौ माध्यमिक विद्यालयले ३ वटा, विद्याज्योती माध्यमिक विद्यालयले ५ वटा र कृष्ण भवन धर्म माध्यमिक विद्यालय १ वटा स्मार्ट बोर्ड जडान गरी अध्ययन/अध्यापन गराइरहेको पालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेले जानकारी दिनुभयो । उहाँले पालिकाका अन्य विद्यालयमा पनि क्रमैसँगै डिजिटल स्मार्ट बोर्ड जडान गरेर पठनपाठन गराउन थालिएको बताउनुभयो । स्मार्ट बोर्ड जडानले विद्यालयको पठनपाठन स्तरीय बनाउन र विद्यार्थीलाई प्रविधिको ज्ञान दिन थप सहयोग पुग्ने भएकाले शिक्षकलाई सूचना प्रविधिमैत्री तालिम सञ्चालन गरेर डिजिटल कक्षाको अभ्यास गराइएको उहाँको भनाई छ ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाका सबै सामुदायिक विद्यालय प्रविधिमैत्री बनाउन लागि परेको बताउनु भयो । ‘सामुदायिक विद्यालयको पठन पाठन सबल र प्रतिस्पर्धी बनाउन गाउँपालिकाले कक्षाकोठामा स्मार्ट बोर्डको माध्यमबाट शैक्षिक क्रियाकलाप गर्ने नीति लिएको छ, अध्यक्ष आचार्यले भन्ने भयो,‘हाम्रो विद्यालयमा प्राप्त दरवन्दीहरु छैनन्,शिक्षकहरुले कहिलेकाँही विदा लिन पाउने सुविधा छ, त्यस्तो अवस्थामा स्मार्टबोर्ड सहज हुनेछ ।,’ उहाँले शैक्षिक क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिलाई प्रयोगमा आत्मसात गदै डिजिटल कक्षा सुरु गरिएको बताउँदै स्मार्ट विद्यालय र विद्यालयका स्मार्ट सामग्रीलाई टिकाई राख्ने काममा शिक्षक, अभिभावक, स्थानीय निकाय सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा जलजला गाउँपालिका–८ नाग्लिवाङका वडा अध्यक्ष हरि विकास जिसी, नेपाल शिक्षक संघ जलजला गाउँपालिकाका अध्यक्ष हरीनारायण रेग्मी लगातले बोल्नु भएको थियो । वि।स। २०१९ सालमा स्थापना भएको विद्यालयमा हाल २ सय २० जना विद्यार्थी अध्ययनरत छन् । ग्रामिण क्षेत्रमा स्थापना भएको विद्यालय उक्त क्षेत्रको नमुना विद्यालय हो ।