लोकसंवाद संवाददाता | साहित्य | माघ ३०, २०८१
साहित्य सदन नेपाल नगद राशिसहितको हृदयचन्द्र स्मृति सम्मान यस वर्ष साहित्यकार शारदारमण नेपाललाई प्रदान गर्ने निर्णय भएको साहित्य सदन जनाएको छ
साहित्य सदन नेपालद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार प्रतिवर्ष यही दिन आफ्नो वार्षिक दिवस मनाउँदै हृदयचन्द्रसिह प्रधानका नाममा स्थापित सम्मान एकजना प्रतिष्ठित स्रष्टालाई अर्पण गर्दै आएको छ। यही सन्दर्भमा यही फागुन ४ गते दिनको १२ : ३० बजे सदनको स्थापना दिवस मनाउने र सोही दिन सदनद्वारा स्थापित नगद राशिसहितको हृदयचन्द्र स्मृति सम्मान यस वर्ष साहित्यकार शारदारमण नेपाललाई प्रदान गर्ने निर्णय भएको छ।
उक्त निर्णय यही २०८१ माघ २७ गते सदनका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।
साहित्य सदन नेपालका अनुसार सन् १९४७ मे १० का दिन बाबु तीर्थराज नेपाल र आमा सुमित्रा नेपालका सन्तानका रूपमा नुवाकोट जिल्लामा जन्मिएका नेपालले वि.स. २०२१ सालमा बनारसबाट प्रकाशित भएको 'नयाँ पाइलो साहित्यिक पत्रिकामा कविता प्रकाशन गरेर नेपाली साहित्यमा प्रवेश गरेका हुन्। उनको २०३२ सालमा प्रकाशित छोरीसित' खण्डकाव्य प्रथम पुस्तकाकार कृति हो । त्यसयता उनने कविता, निबन्ध, नाटक, समालोचना र बालसाहित्यका क्षेत्रमा कलम चलाउदै आएका छन् । उनका व्यङ्ग्य तथा सास्कृतिक निवन्धले नेपाली समाजको रुपान्तरणमा महत्त्वपूर्ण योगदान गरेका छन् । उनी स्तम्भ लेखक, सम्पादक एवं साहित्यिक पत्रकार व्यक्तित्व पनि हुन्। उनका विविध विधाका गरी करिब दुई दर्जन कृति प्रकाशित छन्। साहित्यकार नेपाल नेपाली साहित्यका एक जना विशिष्ट साधक हुन् । उनले गरेको वैचारिक साहित्यिक योगदानको कदर गर्दै साहित्य सदन नेपालले उनलाई रु पचास हजार राशिसहितको हृदयचन्द्र स्मृति सम्मान-२०८१ पेश गर्ने निर्णय गरिएको हो।