लोकसंवाद संवाददाता | समाचार | फागुन ०५, २०८१
काठमाडौँ। सौर्य जहाज दुर्घटनाका विषयमा छानवीन गर्न संसद्ले चासो देखाएको छ ।
संसदको राज्यव्यवस्था र सुशासन समितीले उक्त दुर्घटना परेको निवेदन उपर छानवीन गर्न सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरी विशेष चासो देखाएको हो ।
आइतबार गठित उपसमितिमा सांसदहरू सरिता प्रसाई, चन्दा कार्की, दुर्गा राई र मेनका कुमारी पोखरेल रहनुभएको सभापति रामहरि खतिवडाले बताउनुभयो । उपसमितिलाई घटनाका सम्बन्धमा परेको उजुरीको छानवीन गरी कारबाहीको सिफारिस गर्ने अधिकार प्रदान गरिएको सभापति खतिवडाले जानकारी गराउनुभयो ।
घटनाका सम्बन्धमा सौर्य जहाज दुर्घटनामा छोरी, ज्वाई र नाति गुमाएका पत्रकार प्रकाश खतिवडाले समितिमा दुई महिना पहिले उजुरी गरेका थिए । उजुरीमा खतिवडाले सौर्य जहाज घटना दुर्घटना नभई गम्भीर अपराध भएको आरोप लगाएका छन् । उजुरीमा सौर्य एयरलायन्सको व्यवस्थापन पक्षले १२ वर्षदेखि उर्जा मन्त्रालयमा कार्यरत छोरी प्रिजा खतिवडा र चारवर्षे नाति अधिराज शर्मालाई फर्र्जी कागजात तयार गरी एयरलाइन्सको कर्मचारी बनाएर गैरकानूनी हरकत गरेको दाबी गरेका छन् ।
दुर्घटना भएको जहाजको उडान नै गैर कानुनी रहेको, गैर व्यावसायिक पाँच जनामात्र बोक्न पाउने ‘फेरी’ उडानमा १८ जना बोकेर उनिहरुको ज्यान लिएको, सरकारी जाँच आयोग बिधि मिचेर बनाइएको, आयोगले एयरलाइन्सको आर्थिक चलखेलमा नियोजित प्रतिवेदन तयार पारी घटनाका दोषिलाई उन्मुक्ति दिने प्रपञ्च रचेको आरोप लगाएका छन् ।
घटनाका सम्बन्धमा पीडित परिवारको तर्फबाट न्यायका लागि सौर्य एयरलाइन्स, नेपाल नागरी उड्यन प्राधिकरण, प्रभु इन्सुरेन्स, नेपाल विमा प्राधिकरण, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री र प्रधानमन्त्री तथा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा समेत उजुरी दिदा पनि बेलैमा सम्बोधन नगरेर राज्यव्यवस्था र सुशासनको खिल्ली उडाएकाले नपाएकोले संसदको राज्यव्यवस्था र सुशासन समिति गुहार्न बाध्य भएको उजुरी पत्रमा उल्लेख गरेका छन् । खतिवडा भन्छन,‘एयरलाइन्स कम्पनी र सरकारी निकायले कानुनको पालना मात्र गरेको भए मैले मेरा तीन सन्तति गुमाउनु पर्ने थिएन ।
सौर्य एयरलाइन्सको जाहाज गत साउन ९ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा खतिवडाको छोरी ज्वाई र नातिसहित १८ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनामा पाइलट मनिस शाक्य भने बाँच्न सफल भएका थिए ।