ज्ञानेन्द्र विवश | अन्तर्मन्थन | फागुन १०, २०८१
‘म जन्मेको जनकपुरको सबेला बजारमा । मभन्दा माथि दुईजना सन्तान नबाँचेकाले हजुरआमाले गाउँमा थापना गर्ने दुर्गाजीको प्रतिमासँग भाकल गर्नुभएको रहेछ । त्यसैले मेरो नाउँ दुर्गाप्रसाद रह्यो । हजुरआमाले बडो जतन साथ मेरो स्याहार गर्नुभो । पाँच वर्षसम्म गाईको दूध र अनारको रस बाहेक केही खान दिनु भएन । पाँच वर्ष पुगेपछि बुबाले मलाई बनारस लिएर जानुभयो । मेरो शिक्षा–दीक्षा उतै भयो ।’ आफ्नो बाल्यकाललाई नेपाली र हिन्दी भाषँका सेतु दुर्गाप्रसाद श्रेष्ठले यसरी उल्लेख गर्नुभएको छ ।
उहाँ ती दिनको सम्झना गर्दै लेख्नुहुन्छ– ‘२०२८ सालमा नेपाल सरकार (श्री ५ को सरकार) को जागिर त्यागेर बनारस फर्किने क्रममा सबेला बजारमा ९० वर्षे हजुरआमालाई भेट्न पुगें । मलाई देखेर चिनी हाल्नुभयो ‘दुरगापरसाद’ भन्दै उहाँले अँगालो मार्नुभयो । आँखाबाट बरर आँसु चुहियो ।’
जीवनी र व्यक्तित्व विधाको ‘नेपाली–हिन्दी साहित्यका सेतु दुर्गाप्रसाद श्रेष्ठ’ नामक कृति गत फाल्गुण २ गते शुक्रबार सार्वजनिक भएको छ । ओरिएन्टल पब्लिकेसन हाउस प्रा.लि. ले प्रकाशन गरेको पुस्तकको डा. गोविन्दराज भट्टराई प्रधानसम्पादक र हरि गौतमको सम्पादन रहेको छ ।
साहित्यका अथक साधक, विचारका प्रखर हस्ताक्षर तथा प्रकाशन संसारका कर्म शील अभियन्ता दुर्गाप्रसाद श्रेष्ठ भारतको पावन भूमि बनारसबाट ‘उदय’ पत्रिकाका सम्पादक तथा प्रकाशकका रूपमा परिचित नाम हो । नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनमा उहाँले पुर्याएको योगदान गहन छ ।
साहित्यका अथक साधक, विचारका प्रखर हस्ताक्षर तथा प्रकाशन संसारका कर्मशील अभियन्ता दुर्गाप्रसाद श्रेष्ठ भारतको पावन भूमि बनारसबाट ‘उदय’ पत्रिकाका सम्पादक तथा प्रकाशकका रूपमा परिचित नाम हो । नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनमा उहाँले पुर्याएको योगदान गहन छ ।
लेखन, सम्पादन र प्रकाशनजस्ता विविध साहित्यिक आयाममा उहाँको संलग्नता कुनै साधारण कर्म होइन; यो त नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय फलकमा स्थापित गर्ने दूरदृष्टि बोकेको अथक यात्राको प्रतिफल हो । ‘उदय’ पत्रिका उहाँको पिता काशीबहादुर श्रेष्ठको सिर्जनशील मस्तिष्कको जीवन्त दस्तावेज हो, जसलाई नेपाली साहित्यिक परिवेशलाई समृद्ध तुल्याउँदै साहित्यकारहरूलाई अभिव्यक्तिको सशक्त मञ्च प्रदान गरेको थियो ।
एक संवेदनशील, विवेकी तथा विचारशील स्रष्टा हुनुहुन्छ । यसले साहित्यलाई अभिव्यक्तिको माध्यम होइन, समाजलाई रूपान्तरण गर्ने साधनका रूपमा हेरेका छन् । उहाँका सिर्जनाहरू कलात्मक गहनता, सौन्दर्यचेतना र विषयगत परिपक्वताले भरिपूर्ण छन् । नेपाली साहित्य र सम्पादन क्षेत्रमा उहाँको योगदान सदैव प्रेरणादायी रहिरहने छ ।
दुर्गाप्रसादले पिताजीको त्यही साहित्यिक कर्मलाई निरन्तरता दिँदै लामो समयसम्म ‘उदय’ को प्रकाशन गरिरहनुभयो । ‘उदय’ ले नेपालभित्र र नेपाल बाहिर रहेर लेखनमा लागिरहेका स्रष्टाहरूलाई समेटेर निःस्वार्थ सेवा गरिरह्यो । त्यो सेवा नेपाली भाषा साहित्यको श्रीवृद्धिमा धेरै ठूलो सत्कर्म थियो । तर गत वर्षदेखि उहाँले आफ्नो शारीरिक अवस्थाका कारण बाध्यताबश ‘उदय’ पत्रिकाको प्रकाशन स्थगित गर्नुभएको छ । यो कुरा साहित्यकर्मीका लागि अफसोसको कुरा हुँदै हो तथापि विगतमा पत्रिकाले प्रकाशनका माध्यमबाट दिएको योगदानका पानाहरू स्तुत्य रहिरहने छन् ।
८६ वर्ष उमेरमा हिँडि रहनुभएका दुर्गाप्रसाद श्रेष्ठको साहित्यिक योगदानमा विभिन्न व्यक्तिहरूले लेखेका अभिव्यक्तिहरू, पत्रकारहरूले लिएका अन्तर्वार्ताहरू र उहाँ आफैले लेख्नुभएका उहाँका अनुभूतिहरू नेपाली, अंग्रेजी र हिन्दी भाषामा रहेका छन् । जस्तै जीवनी खण्डमा उहाँको जीवनीलाई पूजा उजागर गरिएको छ भने जीवनी खण्डमा ३६ जना लेखकहरूले उहाँको व्यक्तित्व–कृतित्वलाई प्रकाश पार्नुभएको छ । यसैगरी उहाँ आफैले लेख्नुभएका २० वटा रचनाहरू पनि यसमा संलग्न छन् । जुन उहाँले विभिन्न व्यक्तिका बारेमा लेख्नुभएको छ । तिनमा संस्मरणहरू छन् पत्रहरू छन् र पुरस्कार पाउँदाका मननीय मन्तव्यहरू छन् ।
यस पुस्तकमा डा. तुलसी भट्टराई, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. कुमारप्रसाद कोइराला, मोहन कायस्थ बन्दीपुरे, देवेन्द्र भट्टराई, प्रमोद स्नेही, राजेन्द्र श्रेष्ठ, गणेश राई, जयदेव भट्टराई, व्याकुल पाठक, मोहन दुवाल, जय छाङ्छा, राजकुमार बानियाँ, नवीन अर्याल, प्रकाश गुरागाइँ, ज्ञानेन्द्र विवश, इन्द्रबहादुर राई, तुलसीहरि कोइराला, कमल सुवेदी, दुर्गा पौडेल, विश्व सिग्देल, वसन्त बस्नेत, ध्रुवसत्य परियारले दुर्गाप्रसादमाथि लेखेका लेखरचनाहरू रहेका छन् ।
त्यसपछि अन्तर्वार्ता खण्डमा विमल आचार्य र शितल गिरिले लिएका अन्तर्वार्ता समाविष्ट छ । त्यस्तै पुस्तकमा पुस्तकको अन्त्यमा उहाँसँग सम्बन्धित विभिन्न पुराना र नयाँ तस्बिर चित्रहरू संलग्न छन् ।
यस कृतिका प्रधानसम्पादक प्रा.डा. गोविन्दराज भट्टराईले उहाँको परिचय दिँदै लेख्नुभएको छ– ‘दुर्गाप्रसाद श्रेष्ठको आफ्नो कर्मको अभिलेखन र आफूलाई चिनाउने केही शब्दसँग जोड्छ– बनारस र नेपाल बीचका सेतु उदयका सुदृढ स्तम्भ, त्रैभाषिक क्षमता भएका व्यक्ति, नेपाली साहित्यको श्रीवृद्धिमा जीवन अर्पण गर्ने व्यक्ति, बनारसका नेपाली प्राचीन अघोषित राजदूत इत्यादि ।
प्रधानसम्पादक भट्टराईले उहाँको परिचय दिँदै अगाडि लेख्नुभएको छ– ‘भारतमा साहित्य एकादमीले ठूलो योगदान दिने श्रष्टाको नाममा मेकर्स अब इन्डियन लिट्रेचर नामक एउटा जीवनी र कर्मको पुस्तक प्रकाशन गर्दछ । हाम्रा काशीबहादुर श्रेष्ठ, लीलबहादुर क्षेत्री, हरिप्रसाद गोर्खा राई, पारसमणि प्रधान, इन्द्रबहादुर राई, कमला सांकृत्यायन र अगमसिंह गिरी आदि स्रष्टाका जीवनी अमूल्य मनोग्राफ छापिएका छन् । नेपालमा त्यो संस्कार छैन । यदि भएको भए दुर्गाप्रसाद श्रेष्ठको नाम नेपाली साहित्यका एक अमर निर्माता पुस्तकमा लेखिने थियो होला ।’
पुस्तकमा उल्लेख भएअनुसार उहाँका प्रकाशित सिर्जनाहरू– स्पन्दन, सम्झनाको बादल, सत्तारे मौसी, शीर्षकको कथा । त्यसैगरी उसका अन्तहीन कथाहरु, एउटा साथी मर्छ यहाँ, भाग्यरेखा, शेषान्तर, कोसेली, चण्डीघोष स्ट्रीट, बागमती साक्षी, ‘देश देशान्तर’ शीर्षकको कविता, कथा, उपन्यास र यात्रा विधाका किताब छन् । त्यसैगरी उहाँले अनुवादका क्षेत्रमा पनि योगदान दिनुभएको छ । जस्तो कि ‘योगीको आत्मकथा’ जीवनी र ‘प्रतिनिधि नेपाली कहानिया’ हिन्दी भाषाको किताब ‘वचन’ भन्ने अर्को किताब पनि प्रकाशित छ ।
त्यस्तै ‘काशीबहादुर श्रेष्ठः व्यक्तित्व र कृतित्व’ शीर्षकको उहाँले सम्पादन गर्नुभएको अर्को महत्वपूर्ण कृति हो । यस जीवनी सँगालोमा उहाँका पिताको व्यक्तित्व र उहाँको योगदानका बारेमा नेपाल र भारतका विभिन्न विद्वान–विदुषीहरूले लेखेका अभिव्यक्तिहरू यसमा रहेका छन् ।
उहाँको ‘माँ कथामृत’ शीर्षकको जीवनी र कमला सांकृत्यायनको जीवनी पनि उहाँले लेख्नुभएको छ । ‘फेरि उसैका लागि एक अध्ययन’ शीर्षकको समालोचना पनि प्रकाशित छ । यी कृति–किताबहरूले दुर्गाप्रसादको साहित्यिक योगदानको सविस्तार भाव अध्ययन गर्न सकिन्छ ।
वास्तवमा लेखन, सम्पादन र प्रकाशनजस्ता विविध साहित्यिक आयाममा उहाँको संलग्नता कुनै साधारण कर्म होइन; यो त नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय फलकमा स्थापित गर्ने दूरदृष्टि बोकेको अथक यात्राको प्रतिफल हो । ‘उदय’ पत्रिका नेपाली भाषी खासगरी साहित्यिक नेपाली मनहरूलाई सिर्जनामा समाविष्ट गराउने ध्येयले थालनी गरिएको पत्रिका हो । र, यसले लिएको लक्ष्य सम्भवतः पूरा गरेको हुनुपर्छ ।
‘उदय’ पत्रिक प्रकाशनमा उहाँका पिता काशीबहादुर र उहाँको सिर्जनशील मस्तिष्कको जीवन्त दस्तावेज हो, जसले नेपाली साहित्यिक परिवेशलाई समृद्ध तुल्याउँदै साहित्यकारहरूलाई अभिव्यक्तिको सशक्त मञ्च प्रदान गरेको कुरा कसैले बिर्सिन सक्दैनन् ।
उहाँको सम्पादन कला केवल भाषाको परिष्कार मात्र होइन, समकालीन सामाजिक, सांस्कृतिक, र ऐतिहासिक चेतनाको गहिराइमा पुगेर निस्कर्ष निकाल्ने एक विचारमूलक यात्रा हो । श्रेष्ठको साहित्यिक जीवन यात्राले एकातिर लेखनीको शक्ति देखाउँछ भने अर्कातिर समाजका चेतनशील पाठकहरूलाई नवीन दृष्टिकोण दिन्छ ।
लेखन, सम्पादन र साहित्यिक अभियन्ता रूपमा उहाँको योगदान नेपाली भाषा र साहित्यका लागि एक उज्ज्वल आलोक बनेर रहिरहने छ । ‘उदय’ पत्रिकामार्फत उहाँले सिर्जना गरेको साहित्यिक उन्नतिको मार्गदर्शन युगौंसम्म प्रेरणादायी रहने छ ।
यसरी हेर्दा र बुझ्दा दुर्गाप्रसाद श्रेष्ठ नेपाली साहित्यका एक समर्पित स्रष्टा हुनुहुन्छ । उहाँले पत्रकारिता, सम्पादन, तथा सिर्जनात्मक लेखनका माध्यमबाट नेपाली भाषा–साहित्यको श्रीवृद्धि गर्नुभएको छ । उहाँ सिर्जनात्मक अभिव्यक्तिका कुशल साधक मात्र होइन, विचारधारात्मक स्पष्टता र सम्पादकीय अनुशासनका प्रतीकसमेत हुनुहुन्छ । उमेरको उकालो यात्रामा पनि उहाँको लगनशील सिर्जना र समर्पण अनुकरणीय रहेको पाउन सकिन्छ ।
श्रेष्ठको साहित्यिक यात्रा केवल व्यक्तिगत सिर्जनामा सीमित छैन । उहाँले सम्पादनमार्फत् नेपाली साहित्यलाई समृद्ध तुल्याउने महत्वपूर्ण भूमिका खेल्नुभएको छ । कलात्मक अभिव्यक्तिका लागि उहाँको दृष्टि गहिरो, रसिला विम्बहरूले भरिपूर्ण र अनुभूतिको तहसम्म पुग्ने किसिमको छ । उहाँका लेखनीमा सामाजिक यथार्थको सशक्त प्रतिविम्ब पाइन्छ । यसले पाठकलाई केवल मनोरञ्जन मात्र दिँदैन, जीवन बुझ्न र अनुभूति गर्न प्रेरितसमेत गर्ने क्षमता राख्छ ।
सम्पादन क्षेत्रमा श्रेष्ठले प्रस्तुत गरेको प्रतिबद्धता अनुकरणीय छ । उहाँको सम्पादकीय दृष्टिकोण गहन अनुसन्धान, तथ्यपरक र भाषिक शुद्धतामा केन्द्रित देखिन्छ । उहाँले सम्पादन गरेका पत्रपत्रिका र पुस्तकहरू नेपाली साहित्यको दिशानिर्देशन गर्ने कोशेढुंगासरह छन् भन्नु अत्युक्ति हुँदैन ।
उहाँ एक संवेदनशील, विवेकी तथा विचारशील स्रष्टा हुनुहुन्छ । यसले साहित्यलाई अभिव्यक्तिको माध्यम होइन, समाजलाई रूपान्तरण गर्ने साधनका रूपमा हेरेका छन् । उहाँका सिर्जनाहरू कलात्मक गहनता, सौन्दर्यचेतना र विषयगत परिपक्वताले भरिपूर्ण छन् । नेपाली साहित्य र सम्पादन क्षेत्रमा उहाँको योगदान सदैव प्रेरणादायी रहिरहने छ । सधैं साहित्यको सेवामा उहाँको ध्येय र धोको लेखन, प्रकाशन र सम्पादन कर्महरूमा अविच्छिन्न कायम रहनु उहाँको गहन कर्म हो ।