‘८३’ मा रणवीर पत्नी दीपिका

‘८३’ मा रणवीर पत्नी दीपिका

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  जेठ २९, २०७६

काठमाडौं । कलाकार हुनुको फाइदा उनीहरू रियल मात्रै नभई रिल लाइफ पनि बाँच्न पाउँछन्  । विभिन्न चरित्र निर्वाहका साथै फरकफरक जोडीका रूपमा देखिन पाउनु गैरकलाकारका लागि रोचक कुरा हो  ।

गतवर्ष मात्रै धुमधामसँग विवाह गरेका रणवीर सिंह र दीपिका पादुकोण रिल लाइफमा पनि पति–पत्नीका रूपमा देखिने भएका छन् ।

कविर सिंहको निर्देशन रहने फिल्म ‘८३’ मा रणवीरले पूर्व क्रिकेटर कपिल देवको भूमिका निर्वाह गर्ने यसअघि नै सार्वजनिक भइसकेको थियो भने उनकी पत्नी रोमी भाटियाको चरित्रमा दीपिका हुने खबर स्वयं अभिनेत्रीले नै खुलासा गरेकी हुन् । त्यसो त यसअघि पनि रणवीर–दीपिका यस फिल्ममा एकसाथ देखिन लागेको हल्ला चलेको भने थियो ।

दीपिकाले भने आफू रणवीरको पत्नीको भूमिकाका लागि उक्त फिल्म खेल्न राजी नभएको जिकिर गर्दै भनेकी छन्, ‘हाम्रो निजी सम्बन्धले काममा प्रभावित गर्दैन । हो, यस फिल्ममा कपिल देवको चरित्र निर्वाह गर्न मैले रणवीरबाहेक अर्को कुनै योग्य अभिनेता नै देखेको छैन । तैपनि यदि कोही उक्त रोलका लागि खेल्दै हुन्थ्यो भने पनि म रोमी भाटियाको भूमिकामा खेल्न तयार हुन्थें । यो जे भइरहेछ, हाम्रो व्यक्तिगत इच्छा र सम्बन्धका कारणले नभई फिल्मप्रतिको मेरो उत्साह र लगावकै कारण हो ।’

अब भने यो जोडी विवाहपछि एकसाथ पहिलो पटक फिल्म ‘८३’ मा नै देखिने छन् । विवाहपछि प्रायः बलिउडमा अभिनेत्रीहरूले काम पाउन छोडेका प्रशस्त उदाहरण छन् । सायद यही कारण पनि दीपिका निजी कारणले करिअरमा असर नपार्ने पक्षमा वकालत गर्दै आएकी छन् ।

‘जब तपाईं फिल्म व्यवसायमा हुनुहुन्छ भने तपाईं त्यसमा एउटा भूमिका निर्वाह गरिरहनुभएको छ । त्यो समय कसैले पनि आफ्नो को स्टार पति हो कि भाइ हो कि अथवा नजिकको को हो भनेर सोच्दैन, सोध्दैन । बस्, आफ्नो भूमिकालाई कसरी न्याय दिने भन्ने कोसिसमा नै लागिपर्छ,’ दीपिकाले एक अन्तरवार्तामा भनेकी छन् ।

फिल्म भारतीय क्रिकेट टिमले सन् १९८३ को विश्वकप जित्दाको कहानीलाई दर्साइने बताइएको छ । जुन बेला टिमको कप्तान कपिल देव थिए । त्यसबाहेक फिल्ममा कपिल देव र रोमीबीचको प्रेम प्रसंगलाई पनि जोडिने उल्लेख गरिएको छ ।त्यसो त विवाहलगत्तै दीपिकाले मेघना गुलजारको फिल्म ‘छपाक’ खेल्न पाएकी थिइन् । जसमा उनी एसिड आक्रमणमा परेकी युवतीको भूमिका निर्वाह गरिरहेकी छन् । याे समाचार आजकाे कान्तिपुरमा छापिएकाे छ ।